प्रमको आसन्न चीन भ्रमण सम्झौता कार्यान्वयनमा लैजाने

kpoliकाठमाडौंँ, जेठ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार ५ गतेदेखि गर्नुहुने पाँच दिने चीन भ्रमणमा नयाँ सम्झौता गर्ने भन्दा पनि अघिल्लो भ्रमणमा गरिएका सम्झौताहरुलाई कार्यान्वयनमा लैजाने बताइएको छ ।
यसअघि प्रधानमन्त्री हुँदा मार्च २०१६ मा चीनको भ्रमणबा बेला नेपाल चीनबीच विभिन्न १० बुँदामा सम्झौता भएको थियो । यस पटकको भ्रमणमा पुराना सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा नै विस्तृत छलफल हुनेछ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का परराष्ट्र मामिला विज्ञ डा.राजन भट्टराईले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको अघिल्लो पटकको भ्रमणमा अन्तरदेशीय विद्युत प्रशारण लाइनको विस्तार गर्ने, नुवाकोटको बट्टारमा पेट्रोलियम पदार्थको भण्डारण केन्द्र निर्माण, केरुङदेखि काठमाडौंँ तथा पोखरा हुँदै लुम्बिनीसम्मको रेलवे विकास, किमाथाङ्कादेखि धनकुटाको हिलेसम्मको राजमार्ग निर्माण, पाँचखालमा सुख्खाबन्दरगाह निर्माण, सातै प्रदेशमा आपत्कालिन उद्धार केन्द्रको निर्माण र ठूला जलविद्युत आयोजनाका बारेमा छलफल गर्न तयारी भइरहेको डा. भट्टराइले बताउनुभयो ।
भ्रमणका क्रममा कुन कुन विषयमा छलफल हुने भन्ने विषयमा परराष्ट्र मन्त्रालय र नेपाल स्थित चिनियाँ दूतावासबीच निरन्तर छलफल चलिरहेको पनि उहाँले बताउनुभयो । अहिले नै के के कुरामा सम्झौता हुन्छ भन्ने टुङ्गो लागिनसकेको र निरन्तर छलफल चलिरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
भारतले नेपाललाई नाकाबन्दी लगाएको समयमा उहाँले गर्नुभएको भ्रमणमा प्रधानमन्त्री ओलीले चीनको बाटो हुँदै समुन्द्रसम्मको पहुँच विस्तार गर्ने विषयमा पनि छलफल गर्नुभएको थियो । साथै नेपालमा पेट्रोलियम पदार्थको आयातको लागि भारतसँग मात्र भर नपरी चीनबाट समेत आयात गर्न सकिने मार्ग प्रशस्त गर्नुभएको थियो ।
नेपालमा रेलवे विकासको चिनियाँ टोलीले केही समयअघि सम्भाब्यता अध्ययन गरेर फर्किएका छन् । कोटेश्वरदेखि कलङ्कीसम्मको चक्रपथ निर्माणमा सहयोग गरिरहेको चीन सरकारले कलङ्की चाबहिलसम्मको सडक विस्तारका लागि पनि प्रक्रिया सुरु गरिसकेको छ भने बाहिरी चक्रपथ निर्माणको लागि पनि प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्रीको पदभार सम्हालिसकेपछि ओलीको यो दोस्रो विदेश भ्रमण हुन लागेको हो । यसअघि उहाँले मित्रराष्ट्र भारतको भ्रमण गरिसक्नुभएको छ । उहाँका निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेर विगतमा चिसिएको सम्बन्ध सुधार गर्नुभएको छ ।
चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनीयाँ राष्ट्रप्रमुखलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना