के राजपा पनि सरकारमा जाला ?

सुरेशकुमार यादव

काठमाडौँ, जेठ २० गते । संघीय समाजवादी फोरम सरकारमा सहभागी भैसके पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको विषयमा भने अझै टुङ्गो लागेको छैन । सरकारलाई विश्वासको मत दिएको राजपा नेपालले सरकारमा सहभागी हुने विषयमा समेत प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेको थियो । तर सहमति हुन नसकेपछि राजपाले सरकार बाहिरै बसेर समर्थन दिइरहेको छ ।
फोरम नेपालले सरकारलाई विश्वासको मत दिएसँगै तीन महिना अघि नै सरकारमा जाने निर्णय गरेको थियो । दुवै पक्षबीच पटक पटक छलफल भएपछि दुई बुँदे सम्झौता गरेर फोरम शुक्रवार मात्रै सरकारमा सहभागी भएको हो ।
तर, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले मधेश आन्दोलनको क्रममा राजपा नेपालले उठाएका माग सम्बोधनको सुनिश्चितता नभएसम्म सरकारमा सहभागी नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोरम नेपाल सरकारमा गयो, यसमा राजपा नेपालको कुनै टिप्पणी छैन ।’ Rajapa
राजपा नेपालबाट चुनाव जित्नु भएका रेशम चौधरी शपथग्रहण समेत नलिई थुनामा हुनुहुन्छ, यस अवस्थामामा राजपा नेपाल सरकारमा सहभागी हुने कुरै हुँदैन, उहाँले भन्नुभयो । राजपा नेपालले सत्तारुढ दलसँग कुरा गर्दा चौधरीको विषयलाई मुख्य कार्यसूची बनाएको छ । सदस्य भण्डारीले चौधरीको मुद्दालाई राजपाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
त्यसबाहेक आन्दोलनका क्रममा घाइते भएकाको उपचार, अङ्गभङ्ग भएकालाई भरपोषण, झुठा मुद्दा फिर्ता र सविधान संशोधन पनि आफूहरूको माग रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले सरकारले राजपा नेपालसँग गरेका प्रतिवद्धता पूरा भएको प्रतिक्रिया दिनुभयो । राजपा नेपालले सरकारलाई विश्वासको मत दिँदा केही आश्वासन थिए, तर अब ती आश्वासनका विषयमा समेत चर्चा हुन छाडेको छ, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाका लागि सरकारमा सहभागी हुन बाटो खुल्ला रहेको बताउनुभयो । राजपा सरकारमा आउन चाह्यो भने त्यसको व्यवस्थापन सरकारले गर्ने समेत उहाँले जानकारी दिनुभयो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पनि राजपा नेपालका लागि सरकारको बाटो खुल्ला रहेको बताउनुभयो । राजपालाई सरकारमा ल्याउन आफ्नो पनि पहल रहने भन्दैै उहाँले मधेश आन्दोलनको क्रममा उठाइएका मुद्दालाई फोरम नेपालले नछाडेको प्रतिक्रिया दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना