धूमपानको लतबाट छुटकारा

trichandra pratiksyaत्रिचन्द्र प्रतीक्षा

 

 

नेपालको इतिहासमा मुगल सम्राटको जीवनशैलीको अनुशरण गर्दै मल्लकालीन समयमा दरबारमा हुक्काको प्रचलन रहेको थियो, जसलाई राणाकालीन समयमा चुरोटले विस्थापित गर्दै गएको थियो । यही चुरोट सेवन बन्द गर्न तत्कालीन प्रधानमन्त्री श्री ३ पद्मशम्सेरबाट वि.सं. २००४ असोज १० गतेको गोरखापत्रमा सन्देश प्रकाशित भएको थियो । देशवासीको नाममा जारी यस सन्देशमा चुरोटको प्रयोग बढ्दै गई देशको ठूलो रकम चुरोटमा खर्च हुन जाँदा चुरोटको सट्टा तमाखु सेवन गर्न जनतालाई आग्रह गरिएको थियो । सन्देशमा भनिएको छः–
मेरा देशवासी दाजु–भाइ दिदी–बहिनी हो !
चुरोट झिकाउनका निम्ति हाम्रो मुलुकबाट प्रतिवर्ष ५०–६० लाख रुपियाँ विदेशमा जान्छ । यसबाट पनि हाम्रो मुलुकमा एउटा ठूलै आर्थिक धक्का परेको छ । पहिले म पनि प्रतिदिन ५०–६० ओटा चुरोट खान्थेँ । मैले चुरोट खान एकदम छोडी नै दिएको तीन वर्ष भो । त्यसपछि मैले बराबर तमाखु मात्र खाने गरेको छु । चुरोट छोडेर तमाखु मात्र खानाले मलाई कुनै किसिमको हानी भएको छैन । स्वास्थ्यलाई समते हानी गर्ने यो चुरोट खानु एउटा बहुतै खराब अम्बल हो । यो अम्बललाई सकेसम्म एकै दिनमा छोडनु बेस हो, नसके अलि अलि घटाउँदै लगेर छोडे पनि हुन्छ । जसरी हुन्छ यो खराब लतलाई सबैले छोड्नमा नै बेस छ । यो मेरो प्रार्थतालाई विचार गरेर तिमी सबैले पनि चुरोट छोड्ने चेष्टा गर्नेछौँ भन्ने आशा गर्दछु ।
श्री ३ पद्मशम्सेर
चुरोट अर्थात् धूमपानले स्वास्थ्यमा मात्र नभई देशको आर्थिक अवस्थामा समेत कतिको असर पार्दोरहेछ भन्ने बुझेर प्रधानमन्त्रीबाट सन्देश नै जारी गरेको स्पष्ट देखिन्छ । नेपालमा सरदर वार्षिक ६ हजार मेट्रिक टनभन्दा बढी सुर्ती तथा करिब ६ अर्ब साठी करोड खिल्ली चुरोट उत्पादन हुन्छ । विगत दुई दशक यता नेपालमा सुर्तीजन्य पदार्थको उत्पादनमा १३ गुणाले वृद्धि भएको छ भने धूमपान र अन्य मध्यपानजन्य पदार्थको आयात पनि ह्वात्तै बढेको छ । सबैभन्दा बढी ४० प्रतिशत चुरोटको प्रयोग हुन्छ भने ३० प्रतिशत सुर्तीजन्य पदार्थ, पाँच प्रतिशत तमाखुले स्थान ओगटेको छ । बाँकी २५ प्रतिशत पान, गुट्खा, बिंडी आदिले ठाउँ ओगटेको पाइन्छ ।
विभिन्न सङ्घसंस्थाले निकालेको तथ्याङ्कअनुसार धूमपान गर्ने विश्वभरका एक अर्ब नागरिकमध्ये २० प्रतिशत महिला छन् । नेपालमा सुर्तीजन्य पदार्थका सेवनबाट बर्सेनि २५ हजारभन्दा बढी जनाले अकालमै ज्यान गुमाइरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । धूमपानबाट मृत्यु हुनेमध्ये ४० प्रतिशत पुरुष, २१ प्रतिशत महिला तथा १२ प्रतिशत युवा रहेको बताइएको छ । तथ्याङ्कअनुसार नेपालमा धूमपान प्रयोगकर्तामध्ये ५५ प्रतिशत निरक्षर छन् भने सुर्तीजन्य पदार्थको प्रयोगकर्ता सबैभन्दा बढी हिमाली क्षेत्रमा ६८ प्रतिशत रहेको देखाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले २०१६ मा प्रकाशित गरेको आँकडाअनुसार मध्यपूर्वी र दक्षिण युरोपमा पछिल्ला वर्षमा धूमपान गर्ने पुरुषको अनुपात महिलाको तुलनामा घटेको छ भने महिलाको बढेको छ । दक्षिण पूर्वी एसियामा पनि वयस्क युवकको धूमपान दर वयस्क महिलाकोभन्दा दश गुणा बढी छ । तर धूमपान गर्ने महिलाको सङ्ख्या दिनहुँ बढ्दै जान थालेकाले पुरुष र महिलाबीचको अनुपात साँघुरिदै छ । विश्व स्वास्थ्य सङ्गठनका १४० सदस्य राष्ट्र तथा विश्वका केही अन्य प्रान्तमा गरिएको ग्लोबल युथ टोबाको सर्वे जिवाइटिएस–२०१६ को प्रतिवेदनमा पनि धूमपान गर्ने महिलाको सङ्ख्या उल्लेख्य बढेकोमा चिन्ता व्यक्त गरेका छ । वयस्क महिलाभन्दा नवयुवतीमा धूमपान आकर्षण अधिक बढ्दै छ । विश्वमा धूमपानका कारणले ज्यान गुमाउन सक्नेको सङ्ख्या २०२० बाट वार्षिक एक करोडभन्दा बढी हुने सम्भावना छ’ जिवाइटिएसको ठम्याइ छ । विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको प्रतिवेदनमा धूमपान गर्ने सङ्ख्या यही क्रमले बढ्दै जाने हो भने आगामी सन् २०३० सम्ममा वार्षिक ८० लाखले ज्यान गुमाउने रिपोर्ट सार्वजनिक गरेको छ । संयुक्त राज्यमा गरिएको एउटा अध्ययनअनुसार धूमपानको रहर गर्ने चारमध्ये एक जना जवानलाई यसको लत नै लाग्छ । यो दर कोकेन र हेरोइनको चस्का लिन खोज्नेको जत्तिकै छ । धूमपान गर्न थालेकोमा चुकचुकाउने किशोरकिशोरी ७० प्रतिशत भए तापनि कमैले मात्र छोड्न सक्छन् ।
अतः धूमपान छोड्नुपर्ने एउटा कारण स्वास्थ्य अनि जीवनमा पार्ने खतरा हो । धूमपानको २५ भन्दा बढी ज्यानमारा रोगहरूसँग सम्बन्ध रहेको पाइन्छ । उदाहरणका लागि यो हृदयघात, मस्तिष्कघात, दीर्घकालीन ब्रोन्काइटिस, फोक्सो सुन्निने रोग र विभिन्न क्यान्सर र विशेषगरी फोक्सो क्यान्सरको कारक तìव हो । यसका अतिरिक्त चुरोटको धुँवामा चार हजारभन्दा धेरै किसिमका रासायनिक तìवहरू हुन्छन् । चुरोटमा पाइने प्रमुख तìव भनेकै निकोटिन हो, यसले असाध्यै लत लगाउँछ ।
धूमपान तथा सुर्तीजन्य पदार्थ नसर्ने रोगको पनि कारण मानिन्छ । धूमपान सेवन गर्नेलाई मात्र नभई वरिपरि बस्नेलाई झन् बढी असर गर्छ । यसलाई ‘सेकेण्ड ह्यान्ड स्मोकिङ’ भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सेकेण्ड ह्यान्ड स्मोकिङबाट विश्वभर बर्सेनि ६० लाखभन्दा बढी मानिसको अल्पायुमा मृत्यु हुने तथ्याङ्क सार्वजनिक गरेको छ । चुरोटको सेवन नगर्नेलाई भन्दा गर्नेलाई ११ गुणा बढी हृदयघात हुने सम्भावना हुने तथ्याङ्कमा उल्लेख गरिएको पाइन्छ ।
निकोटिनको लत लाग्नुको अतिरिक्त धूमपान गर्नेलाई चुरोट सल्काउने र सर्को तान्ने बानी बसिसकेको हुन्छ । तपाईंले धूमपान छोड्ने अठोट गरिसक्नुभएको छ भने, सफलता हात नलागेसम्म निरन्तर कोसिस गरिरहन तपाईं तयार हुनुपर्छ ।
सर्वप्रथम, चुरोट छोड्ने प्रयास गर्नु सार्थक छ भनेर तपाईं विश्वस्त हुनैपर्छ । चुरोट छोड्ने कारणका साथै फाइदाको सूची तयार पार्नुहोस् । छोड्नु भइसकेपछि यो सूचीलाई पुनरावलोकन गर्दा तपाईंको सङ्कल्प अझ दृढ हुनेछ । चुरोट छोड्ने मिति तोक्नुहोस् र भित्ते पात्रोमा त्यो दिनको चिह्न लगाउनुहोस् । तोकिएको मिति आइपुग्नु अघि नै एस्ट्रे, सलाई अनि लाइटर आदि हटाउनुहोस् । यस समयमा तपाईं धूमपान निषेधित ठाउँमा जस्तैः सङ्ग्रहालय, रङ्गमञ्चजस्ता धूमपान निषेधित ठाउँमा जान सक्नु हुन्छ ।
चुरोट छोड्दा अन्तिम सर्को तानेको घण्टाभरमा तपाईंमा केही लक्षण देखापर्न सक्छ, जस्तैः रिस उठ्ने, चिन्ता लाग्ने, निरास हुने, निन्द्रा नलाग्ने, छट्पटी हुने, भोक लाग्ने र चुरोटको तलतल लाग्ने आदि हुन्छ । यी लक्षणलाई नियन्त्रणमा लिनका लागि कुनै काममा व्यस्त हुनुहोस् । क्यालोरी कम भएका खाना खानुहोस्, प्रशस्तमात्रामा पानी पिउनुहोस् । चुरोट पिउन तलतल लगाउने ठाउँहरू वा परिस्थितिबाट टाढै बस्नुहोस् । चुरोट छाडेको वर्षदिन वा बढी भइसकेको छ भने पनि कहिलेकाहीँ पिएर फेरि छोडन सकिहाल्छु नि भन्ठान्दै आफैँलाई छल्ने प्रयास नगर्नुहोस् । चुरोट पिउने लाखौँ व्यक्तिलाई सफलतासाथ चुरोट छोड्न सकेका छन् ।
चुरोट छोड्दा तपाईंलाई के फाइदा हुन्छ ? अन्तिम सर्को तानेको ३० मिनेटमै तपाईंको रक्तचाप सामान्य हुन्छ । हप्तादिन पछि तपाईंको शरीर निकोटिनरहित हुन्छ । एक महिनापछि तपाईंको खोकी, पिनास, थकावट र सास फेर्न गाह्रो हुनु आदि जम्मै कम हुन थाल्छ । पाँच वर्षपछि फोक्सोको क्यान्सरले मृत्यु हुनसक्ने खतरा ५० प्रतिशत घट्छ । १५ वर्षपछि तपाईंलाई हृदयघात हुनसक्ने सम्भावना चुरोट कहिल्यै पिउँदै नपिएको व्यक्तिको जत्ति नै हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना