पत्रकार आचारसंहिता सिद्धान्त र व्यवहार

Shreeram khanalडा. श्रीराम खनाल


पत्रकारिता पेसालाई मर्यादित व्यवस्थित र जवाफदेही बनाउन पत्रकार आचारसंहिता जारी गरिएको हुन्छ । पत्रकार आचारसंहिताको पालना गर्नु हरेक पत्रकार तथा सञ्चारकर्मीको नैतिक दायित्व हो । विश्वमा प्रेस अम्बुड्सम्यानको अवधारणाबाट आचारसंहिता निर्माणको सवाल उठ्न थालेको हो ।
सन् १९२३ मा अमेरिकी अखबार सम्पादक समाजको आचारसंहिता (आस्ने) को आचारसंहिताको सार्वजनीकरणसँगै विश्वमा पत्रकारका लागि आचारसंहिता निर्माण बहसले मूर्त रूप पाउन थालेको हो । पश्चिमा मुलुकको तुलनामा दक्षिण एसियाली राष्ट्रमा ढिलो गरी आचारसंहिता निर्माण र जारी भएको पाइन्छ । नेपालमा वि.सं.२०२३ नेपाल पत्रकार सङ्घको पहिलो भेलाले औपचारिक रूपमा पत्रकारिताको २२ बुँदे आचारसंहिता जारी गरेको थियो । यसपछि विभिन्न समयक्रममा पत्रकारका सङ्घसंस्था, प्रेस काउन्सिल हँुदै आचारसंहिता जारी हँुदै आएको छ । अहिले नेपाल पत्रकार महासङ्घसँग समन्वय गर्दै प्रेस काउन्सिल नेपालकातर्फबाट जारी पत्रकार आचारसंहिता,२०७३ सञ्चारजगत्का लागि क्रियाशील छ ।
अभाव, दबाव र प्रभावमा गुज्रिएको नेपाली पत्रकारितामा आचारसंहिता पालनाभन्दा उल्लङ्घनका घटना व्यापक छन् । मिडियामा ज्यादा व्यापारीकरण, नाफा कमाउने परिपाटी, व्याबसायिक दक्षताको कमी एवं राजनीतिक प्रभावले गर्दा मिडियाप्रति भरोसा र विश्वासको कमी देखिन्छ । पार्टी पत्रकारिता प्रमुख समस्या हो । प्रेस काउन्सिल नेपालमा एक दुईवटा मुद्दा बाहेक प्रायः गालीबेइज्जती, मानहानी र चरित्र हत्याका उजुरी पर्ने गरेका छन् । त्यसो त सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचारलगायतका सामग्रीले पु¥याएको नकारात्मक असर वा चरित्रहत्या, मानहानि र गालीबेइज्जतीका घटनाबाट आफूलाई नकारात्मक असर परेको भनी न्यायका लागि अदालत जानेको संख्या पनि कम छैन ।
दक्षिण एसियाका अधिकांश मुलुकमा प्रेस काउन्सिलको मार्गदर्शनबाट पत्रपत्रिकामाथि नियन्त्रण एवं निगरानी भएको छ । ती देशमा आ–आफ्ना सामाजिक मूल्यमान्यता, सांस्कृतिक परम्परा छन् । जस्तै, नेपाल बहुजातीय, बहुभाषीय र धर्म निरपेक्ष मुलक हो । त्यसैले, यहाँ पत्रकारिताको अभ्यास गर्दा आफ्नो राज्य, लगानीकर्ता, समाचार स्रोत, जनता, ब्यावसायिक धर्म र व्यावसायिक एकताप्रति उत्तरदायी भई काम गर्नुपर्ने हुन्छ ।
नेपालमा पत्रकार आचारसंहिताको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुमा राजनीतिक झुकाव, दक्ष पत्रकारको कमी, आर्थिक दुरवस्था, पत्रकारिता स्वार्थसमूहबाट अलग हुन नसक्नु, आचारसंहितासम्बन्धी प्रशिक्षणको कमी, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नहुनु, पत्रकारबीच विश्वास र परस्पर सहयोगको अभाव लगायतका कारणहरू छन् । हामीकहाँ एकथरि पत्रकार जो व्यावसायिक पत्रकारिता गर्छन् उनीहरू आचारसंहितालाई मान्नुपर्दछ भन्ने पक्षमा छन् । अर्काथरि पत्रकारहरू आचारसंहिता वाइयात, नियन्त्रणात्मक कसी र बोझ मान्छन् । जबसम्म पत्रकारवर्गले आचारसंहिता पत्रकारिता पेसालाई अराजक हुनबाट बचाउने अस्त्र हो भन्ने मान्दैनन् तबसम्म जनउत्तरदायी पत्रकारिताको विकास हुन सक्दैन । स्वतन्त्र पत्रकारिताको अभ्यासलाई सुनिश्चित गर्न पत्रकार आचारसंहिता पालनाको अर्को विकल्प छैन ।
पत्रकार आचारसंहिता, २०७३ ले मुलुकको बदलिंदो राजनीतिक परिवेश अनुसार सञ्चारकर्मीलाई जवाफदेही बनाउँदै जनहितमा समर्पित गर्न खोजेको देखिन्छ । यसमा पत्रकार र सञ्चारमाध्यमको कर्तब्य अन्तर्गत १५ बुँदाहरू र पत्रकार एवं सञ्चार माध्यमले गर्न नहुने कार्यलाई पनि १५ वटै बँुदाहरूमा प्रस्तुत गरिएको छ । पत्रकार एवं सञ्चारकर्मीले अनुचित आर्थिक लाभ लिन नहुने, उपहार आदि ग्रहण गर्न नहुने उल्लेख छ । त्यसो त हामीकहाँ समाचार, विचार र विज्ञापन नछुटिने गरी समाचार प्रवाह गर्ने, नयाँ वस्तु वा उत्पादनलाई समाचारको रूपमा प्रस्तुत गर्ने प्रचलन हटेको छैन । प्रायोजित भ्रमण र लेखनवृत्ति कत्तिको प्रायोजित हो बिचारै नगरी प्रकाशन प्रसारण गर्ने क्रम चलिरहेकै छ । मूल कुरा पत्रकार र सञ्चारकर्मी कति इमान्दार, स्वच्छ र कर्तब्यनिष्ठ छन् भन्ने कुरा महत्वपूर्ण हो । सञ्चार प्रतिष्ठानले पत्रकार एवं सञ्चारकर्मीलाई पर्याप्त तलब भत्ता र सुविधा दिने हो भने पत्रकारले पनि आम्दानीका अन्य बाटोमा लागिरहनुपर्ने थिएन ।
आदर्श समाज निर्माणमा पत्रकार एवं सञ्चारकर्मीको अहं भूमिका हुन्छ । प्राकृतिक बिपद् र राष्ट्रिय विपदका घटनामा सञ्चार माध्यमले संयम अपनाउनुपर्ने आचार संहिताको प्रावधानलाई राम्रो मान्न सकिन्छ । यसैगरी, पत्रकार र सञ्चार माध्यमले अन्तर्वार्ता दिने व्यक्तिलाई कुन सन्दर्भ, माध्यम र कुन प्रयोजनका हिसाबले अन्तर्वार्ता लिन लागेको हो ? उक्त कुराको जानकारी गरेर वा पूर्व सूचना दिएर मात्र गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । सूचना सम्प्रेषणका क्रममा कुनैै गल्ती वा भूल भएमा त्यसलाई तुरुन्त सच्याउनुपर्ने ब्यवस्था गर्नु पनि पत्रकार आचारसंहिताको अर्को राम्रो व्यवस्था हो । अनलाइन माध्यमबाट प्रस्तुत गरिने समाचारको विश्वासनीयता परीक्षण गर्नुपर्ने र सम्प्रेिषत सामग्री अनलाइनमै राखिरहनुपर्ने व्यवस्था गरेर अनलाइन माध्यमकोे सञ्चालन र नियमलाई राम्र्रो बनाइनु राम्रो पक्ष मान्न सकिन्छ । जनस्वास्थ्य जस्तो गम्भीर विषयमा अतिरञ्जना गर्नु हुँदैन । पीडित व्यक्तिलाई थप पीडा दिने खालका सूचना सामग्री दिनु कदापि ठीक होइन । घटनासँग सम्बन्ध नभएका व्यक्तिको नाम उल्लेख गर्न हुँदैन । यी विषयलाई समेत आचारसंहिताले प्रष्ट पारेकोे छ ।
कतिपय मुलुकमा बालबालिकाको मनोबिज्ञानलाई असर पर्ने उनीहरूको स्वास्थ्यमा मानसिक, शारीरिक र नोक्सानी हुने सामग्री उत्पादन वा उनीहरूलाई कुलततर्फ प्रेरित गर्ने सामग्री पनि प्रस्तुत गर्न रोक लगाइएको हुन्छ । त्यसैले, बालबालिकाको संवेग र अनुभूतिलाई विशेष ख्याल गर्न आवश्यक छ । जनस्वास्थ्यसम्बन्धी सूचनामा चिकित्सकको भनाइ र स्पष्ट बैज्ञानिक आधार चाहिन्छ । नेपालमा पनि १६ वर्ष उमेर प२रा नभएका बालबालिकाको अन्तर्वार्ता, तस्वीर अभिभावक, संरक्षक वा परिवारको अनुमति बिना लिनुहँुदैन भन्ने प्रावधान पत्रकार आचारसंहिता, २०७३ गरेको छ ।
सङघीयताको अभ्यासतर्फ अघि बढेको नेपालले प्रेस काउन्सिललाई पनि सातवटै प्रदेशमा रहेका आमसञ्चार माध्यमको बढ्दो आकार र चापलाई ख्याल गरेर जनशक्ति र स्रोतसाधनको समुचित प्रयोग गरेर सके दैनिक र नसके हप्ताभरिका साम्रगीलाई ‘मनिटरिङ’ गरेमा पनि अहिलेको अवस्थामा सुधार ल्याउन सकिन्छ । छापा माध्यमलाई मात्र नभई विद्युतीय माध्यम र अनलाइनलाई समेटी ती माध्यमको समाचार लगायतका सामग्री अध्ययन गर्नु पर्दछ । प्रेस काउन्सिल, पत्रकार महासङ्घ लगायतका संस्थाबाट सञ्चारकर्मी पत्रकारलाई व्यापक मात्रामा अभिमुखीकरण तालिम प्रदान गर्ने एवं जनचेतना जगाउनु ढिला भइसकेको छ । मुलुकमा बढिरहेको सञ्चारमाध्यमको चाप र प्रेस काउन्सिलको क्षेत्राधिकार एवं जिम्मेवारी बढिरहेको वर्तमान सन्दर्भमा प्रेस काउन्सिलको संरचना र कार्यक्षेत्रलाई विस्तार नगरी यो सम्भव पनि छैन ।
हामीकहाँ अधिकांश पत्रकार राजनीतिक दल र विभिन्न स्वार्थ समूहबाट बाहिरिन सकेका छैनन् । पत्रकारले राजनीतिलाई बुझ्ने मात्र हो तर जब पत्रकार राजनीतिमा सङ्लग्नता देखाउँछन् तब व्यवसायिक पत्रकारिता आझेलमा पर्दछ । वस्तुनिष्ठता पत्रकारिताको एउटा आदर्श हो । पत्रकार आत्मपरक नभई प्रस्तुत हुनसके, विवादास्पद मुद्दामा स्वतन्त्र हुनसके उसको नैतिक धरातल र व्यक्तित्व सुन्दर बन्दछ । पत्रकार तथा सञ्चारकर्मीले पत्रकार आचारसंहिता पालना गर्दै दैनिक अभ्यास गर्नसके नेपाली पत्रकारिताको भविष्य अझै आशलाग्दो हुनेछ । जवाफदेहिता विनाको पत्रकारिता अराजक हुन्छ । प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन आचारसंहिता पालना गर्नु नै पत्रकारितामा नैतिकता हो जुन पत्रकारको विवेकमा आधारित हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना