समाजवादी सपनाका आभूषण


atindra dahal_1डा. अतीन्द्र दाहाल

अहिले राजनीतिक परिवृत्तमा समाजवाद शब्द लोकप्रिय छ । वाम एकतासँगै सरकारले समाजवाद उन्मुख ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानमा होमिने बताएपछि यो शब्दमाथि आम सरोकार चुलिँदैछ । सरकारको नीति तथा कार्यक्रम अनि बजेटले पनि समाजवादको लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय जगत्मा चाहिँ चीन वर्तमान राष्ट्रपति सी चीन फिङ्गको नेतृत्वमा शान्तिपूर्वक उदाएसँगै कम्युनिस्ट पार्टीकोे उन्नाइसौँ बैठकले उच्चतम समाजवादी आभूषणको लक्ष्य किटान गरेपछि समाजवाद शब्दले विश्वव्यापी तरंग ल्याउँदैछ । यद्यपि सकारात्मक परिवर्तन र देशको समृद्धि समाजवाद बुझ्ने वा नबुझ्ने सबैका साझा सपना हुन् ।
सपना सबैका उस्तै
स्थायित्वको आभाससँगै देशमा सकारात्मक संकेतहरू शुरु भए । देशभर लोडसेडिङ अन्त्य भयो, यातायात क्षेत्रको सिण्डिकेट तोडियो । तत्काललाई वैदेशिक रोजगारीको व्यवस्थापन र छिट्टैै प्रतिस्थापनको सोच स्वागतयोग्य छ । सुन तस्करी प्रकरणमा सरकारले अभय कटिबद्धता देखायो । भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नगरिने कुरा प्रशंसनीय छ । योजनामा ढिलाइ र कमजोरी गर्ने ठेकेदारहरूप्रति कारबाहीको प्रयत्नले सरकारलाई नागरिकमुखी बनाउँदैछ । छिट्टै लोकप्रियता कमाउने खालका केही विषय बजेटमा नसमेटिए पनि दह्रो जग भएको सन्तुलित समाज निर्माण सरकारी प्राथमिकतामा देखिँदैछ ।
समाजवाद उन्मुख समृद्धि, सामाजिक सभ्यता, आधुनिकता र विकास अनि कानुनी राज्य जस्ता अवधारणाहरूमा प्रत्येक देशको मौलिक आभूषण र अभ्यास हुनुपर्छ । प्रा. डा. युवराज संग्रौलाको पुस्तक ‘निसंकोच अभिव्यक्ति’ले यसमाथि विहंगम शास्त्रार्थ गर्दछ । तसर्थ हाम्रो समाजवादी गन्तव्य अरु कसैको नक्कल नभई हाम्रै आवश्यकता र मौलिकताले निर्मित हुनुपर्छ ।
मौलिकताको आवश्यकता
समान लक्ष्यबीच विकास र समृद्धिमा सबैका मौलिक प्रयास र पहिचान हुन्छन् । सामरिक शक्तिमा गनिने केही देशले अवलम्बन गरेको वा सुझाएको व्यवस्था नै बाँकीलाई उपयोगी र सिद्धहस्त हुन्छ भन्ने छैन । अफगानिस्तान, सिरिया, इराक, नाइजेरिया यसका ज्वलन्त उदाहरण हुन् ।
प्रजातान्त्रिक स्वतन्त्रता निम्ति सबैका लागि लड्ने दुहाई दिने अमेरिकासमेत पछिल्लो समय आपैmँ नाफाखोरी पँुजीवादको दास हुँदैछ । कानुन निर्माणदेखि शासन व्यवस्थासम्म सीमित उच्च व्यावसायिक घरानाहरूको नियन्त्रणमा देखिन्छ । यसलाई प्राचीन दार्शनिक प्लेटोको पुस्तक ‘रिपब्लिक’ले ‘प्लुटोक्रेसी’ अनि समसामयिक राजनीतिक सिद्धान्तहरूले ‘क्रोनी क्यापिटलिजम’ भन्छन् । यसमा केही उच्च नाफाखोर व्यक्तिहरूलाई अथाह फाइदा पुग्छ तर समाजका तल्लो तहका मानिसहरू झन् निरपेक्ष असहजतामा धकेलिन्छन् । आय र सम्पत्तिको असमान वितरण मौलाउँछ ।
अहिले पनि अमेरिकामा उच्च एक प्रतिशतसँग झन्डै ४६ अनि तल्लो ५० प्रतिशतसँग एक प्रतिशतभन्दा कम सम्पत्ति छ । सन् २०१६ पछि उक्त खाडल झन् गहिरिँदै छ । शहर केन्द्रित विकास गरेको भारतमा उच्च एक प्रतिशतसँग ७३ प्रतिशत सम्पत्ति छ । हरेक दिन दुई जना अर्बपति र हजाराँै नयाँ गरिबहरू जन्मिने सर्वेक्षण बाहिरिएका छन् । युरोप आपैंmमा विशाल समस्यामा छ र उसका असफल सिद्धान्तको विश्वव्यापी पैठारीबाट अरुलाई पनि सङ्क्रमित गर्दैछ । नेपालमा पनि मुठिभर धनाढ्यको नियन्त्रणमा अधिक सम्पत्ति छ । शिक्षा तथा स्वास्थ्य महंगिएर झन् धेरै मानिसहरू अशिक्षित र रोगी हुँदैछन् । आय र सम्पत्तिको असमान वितरणले गम्भीर सामाजिक असन्तुलन ल्याउँदैछ । त्यसैले आर्थिक विकासलाई समग्र पूर्णाङ्कमा मात्र हेरिनु हुँदैन । सय जना बराबरको भोजन एउटैले खाएपछि औसतमा सय जना अघाएको निष्कर्ष निकाल्न सकिँदैन । सबैको समुचित र समतामूलक विकास भएपछि देशको विकास हुन्छ, समाजवादको मुख्य अभिलाषा यही हुनुपर्छ ।
विश्व बंैक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता निकायहरूले बढ्दो औसत आयले देशको विकास देखाउने भ्रमात्मक तथ्यहरू निकाल्छन् । त्यो अर्थशास्त्रीय छलकपट र गणितीय जादु मात्र हो । आम मानिसको वास्तविक स्थिति फेरिएको छैन । गरिबी बढ्दैछ, भ्रष्टाचार झन् मौलाउँदैछ, मानिसमा देशप्रतिको लगाव नकारात्मक छ, आपसी सहयोग अनि सामाजिक उत्तरदायित्व ह्रासोन्मुख हँुदैछ । भौतिक सम्पत्तिको आयतन अलिकति बढेको होला तर मानवीय मूल्य–मान्यता, आचरण, सकारात्मक सक्रियता स्खलित छ । खुसी, समृद्ध र सदाचारी हैन धनी, आडम्बरी र व्याभिचारी बन्ने दौड छ । घरमा शौचालय बनाउने भन्दा मोबाइल प्रयोग गर्नेको संख्या बढी छ । विषाक्त र स्वार्थी मानसिकताले समाजलाई गाँज्दैछ । समाजवादले यसलाई भत्काउन सक्नुपर्छ ।
दाता निर्मित भ्रामक अर्थशास्त्रीय सूचांकले हैन, आम मानवका स्वतःस्फूर्त अन्तस्करणले देश र समाज समृद्ध भइरहेको महसुस गर्न सक्नुपर्छ । पछिल्लो सर्वेक्षणले चीनमा सबैभन्दा बढी ९७ प्रतिशत नागरिकलाई सरकारले देश र नागरिकका लागि राम्रो गरिरहेको विश्वास भएको देखाउँछ । आयको समान वितरण र आम मानिसको भलाइका काम गर्नमा चीन अगाडि छ । हाम्रो समाजवादले यस्तै अवस्था सिर्जना गर्नुपर्छ ।
सुशासन समाजवाद उन्मुखताको अर्को महìवपूर्ण पक्ष हो । सुशासनबाट समृद्धिका अन्य पक्षहरूको सार्थकता र सहजता झल्कन्छ । नागरिक सहभागिता, कानुनी राज्य, पारदर्शिता, दायित्वबोध, जवाफदेहिता, हितकारिता, समता, प्रभावकारिता जस्ता पक्षहरूले सुशासनलाई प्रत्याभूत गर्छन् । उपयोगितावादी चिन्तक माइकल बेन्थामको सिद्धान्तमा धेरै मानिसको अधिकतम हित र भलाइमार्पmत कल्याणकारी राज्यको खोजीमा समाजवाद केन्द्रित हुनुपर्छ ।
समाजवाद उन्मुख समृद्धि आर्थिक विकासले मात्र आउँदैन । लुडविग भोन मिसेजको पुस्तक ‘सोसलिजम’ले समाजवादमा आर्थिकसँगै थुप्रै सामाजिक पक्ष पर्ने निष्कर्ष दिन्छ । एलान मासको पुस्तक ‘द केश फर सोसजिलम’ले समाजवादले प्राप्त गर्नुपर्ने दर्जनाँै कुराहरूको सूची पस्कन्छ । ‘सम–वृद्धि’ अर्थात् सबैको समान हैसियतको वृद्धि नै समृद्धिको भाषिक अर्थ अनि व्यावहारिक मापनसमेत हो । आर्थिकसँगै समाजका अन्य आयामहरूमा समग्रमा मात्र नभई सबै नागरिकको सबै सवालमा बराबरी वृद्धिको प्रत्याभूति समाजवादको विशिष्ट सक्षमता हो ।
पुँजीवादले हरेक हिसाबमा एकलकाँटे आक्रामक अभिव्यक्ति दिँदै हिंसात्मक कदममार्पmत शान्तिको खोजीको अहंकारी अभिनय गर्छ । समाजवादले समन्वयकारी भूमिका र शान्तिपूर्वक उदयलाई आत्मसात् गर्छ । मानिसप्रति सामीप्य, सहयोग र सद्भाव बढाउँछ । भेदभाव र हिंसाको अन्त्य खोज्छ, राष्ट्रप्रेम रोज्छ । व्यक्तिभन्दा समूहलाई प्रधान ठान्छ, सामूहिक हित र भलाइलाई महìवपूर्ण मान्छ । यसैले समाजवादी भिन्नतालाई प्रस्ट्याउँछ । हाम्रो समाजवादको आगामी लक्ष्य यसैगरी किटान हुनुपर्छ ।
समतामूलक आर्थिक विकासको आत्मनिर्भर उपाय खोज्नुपर्छ । विप्रेषण र वैदेशिक सहयोगमा आधारित अर्थतन्त्रले समृद्धि र समाजवाद सम्भव हँुदैन । ऋणमा आधारित सम्पन्नता क्षणिक भ्रम मात्र हुन्छ । समाजवादी समृद्धि स्वनिर्मित हुनुपर्छ, स्वयंको वृद्धिबाट मात्रै समृद्धि सम्भव हुन्छ ।
इतिहासमा नेपाल तिब्बत र तत्कालीन मगध (अहिलेको भारत) भन्दा निकै शक्तिशाली, सम्मानित र समुन्नत थियो । उनीहरू लगायत बेलायतलाई समेत आर्थिक अनुदान दिन सक्थ्यो । आन्तरिक विचलनसँगै अन्तर्राष्ट्रिय हस्तक्षेपको कारण आजको निराश स्थिति आयो । त्यसैले आन्तरिक रूपले सुदृढ हुँदै अन्तर्राष्ट्रिय रूपले सम्मानित हुने अभ्यासको उन्नयन समाजवादको अर्को आयम हो ।
देशमा नै कलकारखानाको सघन स्थापना, उत्पादनमूलक सोचको वृद्धि, बहुआयामिक आर्थिक क्रियाकलापको विस्तार, आक्रामक निर्यात केन्द्रित व्यापार, अधिक रोजगारी सृजनामा विशाल ध्यान दिनुपर्छ । सम्पत्ति र आयको समतामूलक वितरण अनि नागरिक पहुँचको सशक्तीकरणबाट मात्र समाजवादको जग बस्छ । पूर्वाधारको व्यापक विस्तार हुनुपर्छ । स्वःनिर्मित समृद्धिमा क्युवाको हरित क्रान्तिदेखि एसिया महादेशको नजिरहरू उपयोगी सन्दर्भ हुनेछन् । भ्रष्टाचार नियन्त्रणमा केही सेनेगन देशहरू मननयोग्य छन् । सरकारले विपुल प्रतिभा र कुशाग्र बुद्धि लगाउँदै अलौकिक र मौलिक उपाय खोज्नुपर्छ । कम्तीमा पाँच वर्षमा समाजवादको आभास हुनुपर्छ । नागरिकदेखि नेतृत्वसम्म सबैले मानसिकता बदल्नुपर्छ । औसत गरेर निकालिने तथ्यांक सट्टा आम नागरिकका दैनिकीको सर्वेक्षणबाट आउने नतिजाका आधारमा समाजवादको सार्थकता रोज्नुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना