​प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन भोलि

 kpoliहेटौँडा, जेठ २० गते । प्रदेश ३ को प्रदेशसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेगरी तयारी थालिएको जानकारी दिनुभयो । प्रदेश सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेकोले प्रदेशको विकास र समसामयिक विषयमा सम्बोधन गर्ने अनुमान गरिएको छ । 

प्रधानमन्त्री ओलीले सबै प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत प्रदेश ३ को प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको जनाइएको छ । तर, संविधान र प्रदेश ३ को प्रदेशसभा नियमावलीमा प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने व्यवस्था नरहेको भन्दै केही प्रदेशसभा सदस्यहरूले प्रश्न उठाएका छन् ।
प्रदेशसभा सञ्चालन नियमावलीको नियम २०८ को उपनियम १ मा कुनै विदेशी राष्ट्रको राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख वा संयुक्त राष्ट्रसङ्घको महासचिवले प्रदेश सभालाई सम्बोधन गर्नसक्ने व्यवस्था छ । यसका लागि नेपाल सरकारको सहमति लिई प्रदेश सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिन सक्ने उल्लेख छ ।
सम्बोधनका लागि अपनाइने प्रक्रिया कार्य व्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुनेछ, नियमावलीमा भनिएको छ । यो व्यवस्था विदेशी सरकार प्रमुखको हकमा भए पनि नेपालका सरकार प्रमुखको हकमा भनेर नियमावलीमा कुनै स्पष्ट छैन ।
उता शनिबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका कतिपय प्रदेशसभा सदस्यहरूले औपचारिक रूपमा प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्ने भनेर जानकारी नआएको बताएका थिए । प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले भन्नुभयो, प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे औपचारिक जानकारी आएको छैन । अनौपचारिक रूपमा सुनेका मात्र हौ । प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुभएपछि जेठ २२ गतेबाट तीन दिनसम्म नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना