समाज मनोविज्ञानका जटिलता

 

 kamala regmiकमला रेग्मी भट्टराई


परिवारसँगको सद्भावमा मानव समुदाय रमाउन चाहन्छ । आज विकासका कुरा, समृद्धिका नारा घन्किएका सुखद् विचारसँग एउटा समाज मनोविज्ञान र कुसंस्कारको जटिलता छ । उत्तरआधुनिक युगको विकास र भौतिक विकासको चरमोत्कर्षले मानवीय संवेदनालाई कालकोठरीमा हाल्दै गर्दा आत्मघाती हमला भइरहेका छन् । विकसित र समृद्ध मुलुकका मानिसमै मानसिक तनाव अर्थात् डिप्रेसन बढ्दो छ । त्यहीँ आतङ्ककारी कुविचारले नरसंहार मच्चाएका छन् । आज घरमा सँगै बस्ने मूलतः तीन पुस्ते सदस्य (हुन सक्ला यसभन्दा बढी पनि)– नाति नातिनी, छोरो छोरी र हजुरबाबा हजुरआमाका बीचमा सोच, विचार र व्यवहारको जुन अन्तर छ, त्यसले कताकता मनोवैज्ञानिक झापड मार्दोरहेछ । यी समस्यालाई आजको आधुनिक सोचसँग दाँजेर संस्कृतिलाई बिर्सेका विचारले प्रहार गरेको छ ।
आधुनिकताका नाममा र परिवर्तनकारी सोचको दोसाँधसँग बाँच्ने युवा पुस्ताको संस्कार बन्दैछ । आफ्नो परिवारको सामाजिक संस्कारलाई बोझिलो मान्दै गर्दा समाजमा तनावग्रस्तता, असामाजिकता, अमर्यादित व्यवहार हाबी बन्न गएको प्रतीत हुन्छ । आफ्नो भाषा, जाति, पहिचान, परम्परागत कलालाई केवल प्राचीनताको खोल ओढाउने, नवीनता भनेको विदेशी परम्परा नै हो भन्ने सङ्कुचन मौलाउँदा तिनले हाम्रा राम्रा चालचलनलाई नै बिर्सन पुग्दा रहेछन् । आफ्नै आफन्तसँग परिचय गर्न हिच्किचाउने आदतको विकास भइरहँदा सम्पत्ति र सोचले प्रहार गर्दोरहेछ । घरमा छोराछोरीका या त नातिनातिनीका आफन्त आउँदा बूढाबूढी अर्घेला बन्दारहेछन् । त्यो पुस्तामा नमिल्नेभैmँ गरी व्यवहार गर्ने सोच र गाली बर्सिंदा वृद्धवृद्धा मनोविज्ञान केवल अन्तर जलनमा सीमित बन्दो रहेछ । नाति–नातिनाको लवाइ खवाइ, सङ्गत र सोच, छोरोछोरीले आफ्ना बाबा–आमालाई गर्ने व्यवहारले परिवारमा एक किसिमको जटिलता उत्पन्न हुँदोरहेछ । वृद्धवृद्धालाई कमाउन छोडेपछि अपहेलनाको सिकार बनाउने छोराछोरी र पुरातनवादीको आरोप लगाउने नाति नातिनीको छेडछाडको पीडाले मनोवैज्ञानिक दर्द जागृत हुँदोरहेछ ।
समाजको मनोविज्ञानले समाज विकासलाई अप्ठ्यारो पर्ने विषय केवल सम्पत्तिमा गएर ठोक्किँदो रहेछ । यसर्थ सरकारले दिने वृद्धभत्ताले कमसेकम ती बेसहारा, अपमानित बन्ने अभिभावकले अलिकति सम्मान पाउने आशा जगाउँछ । जसले बोझिलो ठानेर भ्रामक व्यवहार गर्छन् तब त्यहाँ ती दुःख र वेदना सहन विवस मन पिरोलिन्छ । हाम्रा सनातन संस्कृतिले बाबाआमालाई भगवान् मानेर श्रद्धा गर्दै पूजा गर्न सिकाएको छ । यता आजको समाजले पैसा र भौतिक वस्तुलाई सबैथोक ठान्छ । पैसा कमाउनमै अन्धो बनेर दौडेको छ । प्रेम भरिएका सोचबाहेकका कतिपय परिवारले वृद्धवृद्धालाई नाति नातिना हेर्ने गोठाला सम्झिएका छन् । यस प्रकृतिका वेदना र पीडा सभ्य र बुझक्की परिवारका लागि सान्दर्भिक बन्दैन तर, शिक्षित परिवारमै पनि वृद्धवृद्धाले बोझिलो र अपहेलित बन्नु नपरेको भन्ने छैन । अझ एकल बनेका र आपूm केही गर्न नसक्ने बनेर दुई मुठी प्राणको भरमा स्वासको सहारा लिएर जीवनलाई घिसारिरहेकाको वेदना कम हृदयविदारक लाग्दैन । श्रीमान् या त श्रीमती बितेकाले आफ्नै कोखका सन्तानबाट, बुहारीबाट अपहेलनालाई भोगिरहँदा यसो रातको समयमा मनको बह पोख्ने अवसर पाउँदा रहेनछन् । छोरा बुहारीबाटै त्यहाँ कुण्ठा र जलनको घात बढ्दो रहेछ । भएका जति सन्तान लाखापाखा लागेपछि बिरामी हुँदा पानी तताएर दिने मान्छे नहुने परिवारलाई गरिबीको जहरले हुँडल्छ । यस्तो अवस्थामा अन्याय र अमानवीय घटना हुने रहेछन् ।
भनिन्छ, वृृद्ध र बालक उस्तै स्वभावका हुन्छन् । कतिपय अवस्थामा आफ्ना स्वभावलाई सुधार गर्ने सोच वृद्ध–वृद्धामा हुनुपर्ने रहेछ । कतिपय अवस्थामा दिसा–पिसाबको ठेगान नहुने परिस्थिति कति पीडादायक
होला ? तर छोराबुहारीलाई घरको काम या त अफिस जे छ त्यो गर्नैप¥यो । जति राम्रो गरे पनि अपजस र दोषारोपण गर्ने, शङ्कालु प्रवृत्तिले झोसपोलको आदत बसाइरहँदा काम गर्नेले पनि जाँगर मार्दा रहेछन् । यद्यपि यी विषयमा सबैभन्दा ठूलो पक्ष प्रेम नै हो । आमाले बच्चासँग प्रेम भएकै कारण उसको सबैखाले कार्यलाई स्वीकार्छिन् । काखमै दिसा–पिसाब गर्छ । रातभरि रुन्छ या सुत्न दिँदैन । यी सबै कुरा आमाका लागि सामान्य हुन् किनकि त्यहाँ प्रेमको नातो कसिलो हुन्छ ।
घरकै आदरणीय वर्गले अपमानित हुनुपर्दा विगतका दुःख र वेदनालाई सम्झेर आँसु बहाउनु कम हृदयविदारक पक्ष होइन । बाँचुञ्जेल घरका सन्तानले तिनको अमूल्य योगदानलाई कुल्चिने तर मृत्युपश्चात् पितृ तर्पण दिनुको के अर्थ रहला र !
एउटा सफल परिवारमा पारिवारिक सद्भाव र एकता हुनुसँग समाज र परिवर्तित सोचको तालमेल आवश्यक हुन्छ । देशमा नवीन परिवर्तनका लहर आइरहँदा यस्ता समस्यालाई नजिकैबाट चियाएर सम्बोधन गर्ने, न्याय दिने सद्व्यवहारको नैतिक पाठको आवश्यकता छ । मान्छेहरू जेनेरेसन ग्याभ (पुस्तान्तर) भन्छन् । सोचले समाज मनोविज्ञानमा पुस्तागत भिन्नताले सोच र व्यवहारगत मनोविज्ञानको असन्तुलन बढ्न पुगेको भेटिन्छ । आपैmँलाई जन्माई, तातेताते गरेर प्रेमपूर्वक हुर्काउनेलाई निर्मम व्यवहार गर्ने सोचसँग मानवता मरेको अनुभूत हुन्छ । मानिसले आफ्नो अवस्था र परिस्थितिसँग जुध्नु बाध्यता हो । यद्यपि जानाजान अपहेलना गर्दा तिनको मनमा पर्ने असर र पीडालाई मनन गर्न सक्नुपर्छ । आजको समाजमा नैतिक आदर्शको ज्ञान, हिजो भनिने पापको डर हट्दै जाँदा तनावले जकडिएको यान्त्रिक र एकलकाँटे सोच बढ्दो छ । जिउँदाको जन्ती र मर्दाको मलामी बनेर बाँच्ने हाम्रो नेपाली मौलिकता यान्त्रिकीकरणसँगै लोप हुनु दुःखद् पक्ष हो । मानिसमा जीवनको मूल्य भनेकै सम्पत्ति आर्जन मात्रै हो भन्ने सङ्कुचन मौलाउन थालेको छ । मानिस व्यस्त त बन्छ तर आरिसे र अभावै अभाव बोकेर खुसी र सुखी हुनै सक्दैन । जति जे भएर पनि नपुग्ने, विदेश जानु र शहरमा बस्नुलाई ठूलो मान्ने मनोभाव जागृत गराएको हुन्छ ।
तर अबको परिवेशमा बाटो, बिजुली, अस्पताल, स्कुल, इन्टरनेटको विकास बढ्दै गर्दा मानिसले ग्रामीण सहचर्यात्मक जीवनतिर आकर्षण बढाउनु आवश्यक छ । स्वच्छ वातावरण र पारिवारिक सद्भावमय जीवनमा रमाउँदा सुखी परिवारको कल्पना सम्भव बन्छ । युगको परिवर्तन र विश्व समुदायको विकाससँग मानिसले अब ग्रामीण स्थानमै रहेर तालमेल मिलाउने अवस्था सिर्जना र विकास गर्नु स्वास्थ्य, व्यवस्थित शहरीकरण, तनावरहित संस्कारयुक्त जीवन, पारिवारिक सद्भावको विकासजस्ता बहुआयामिक रूपमा लाभप्रद बन्छ । हरेक व्यक्ति र परिवारमा सुखको बहार ल्याउन हाम्रै संस्कृति र परम्परा दर्बिला छन् । हरेक पर्व र सम्पदाले हामीलाई सुखी र सामाजिक संस्कारको जीवन जिउन सिकाएका हुन्छन् । अन्धविश्वासलाई बदलेर बाँच्नु आजको आवश्यकता हो । आफ्ना सकारात्मक र वैज्ञानिक आदर्शलाई गलहत्याउनु हुँदैन । नवपुस्तालाई ठूलो बन्न मात्रै होइन मान्छे बन्न सिकाउनुपर्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना