किसानलाई चैते धानको पिरलो


विष्णुप्रसाद पोखरेल

दमक, जेठ २५ गते । चैते धान बिक्री नभएपछि झापाको दक्षिण सीमावर्ती क्षेत्रका किसान समस्यामा परेका छन् । स्थानीय व्यापारीले धान किन्न नमानेपछि किसानले काटेको धान कुहिन थालेको छ भने नकाटेको धान खुरिएर झर्न थालेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाइ झापाले धान विस्तारमा किसानलाई ८५ प्रतिशतसम्म कृषि उपकरण, बीउबिजन र मलखादमा अनुदान प्रदान गर्नेदेखि लिएर शतप्रतिशतसम्म निःशुल्क रूपमा प्राविधिक सेवा उपलब्ध गराएपछि धान उत्पादनमा वृद्धि भए पनि बजार नपाएपछि किसान निराश बनेका छन् । यस पटक यस क्षेत्रमा कम्तीमा सात सय बिघा जमिनमा किसानले चैते धान खेती लगाएका छन् ।
एक साताअघिसम्म प्रतिमन खेतबाट नै ८२० रुपियाँमा बिक्दै आएको धान अहिले सात सय रुपियाँमा समेत नबिक्ने अवस्था आएको झापा बनियानीका अगुवा किसान तथा धान सुपरजोन सञ्चालक समितिका सहसचिव कन्हैयालाल गणेशले बताउनुभयो । दुई बिघाभन्दा बढी खेतमा चैते धान लगाउनुभएका उहाँले भन्नुभयो, मैले केही दिन अगाडि आफैँ प्रतिमन ८२० ले धान बेचेँ, अहिले बजारमा धान लिन नै मान्दैनन् ।
यस्तै पीडा अर्का किसान एवं जनप्रतिनिधि मेखबहादुर भट्टराईको पनि छ । केचनाकवल गाउँपालिका २ का वडाध्यक्ष भट्टराईले करिब डेढ बिघा जमिनमा चैते धान लगाउनुभएको थियो । १८० मनभन्दा बढी धान फले पनि बजारको समस्या रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, धान त फलाएका छौँ, अब बिक्री गर्न समस्या भएको छ ।
धान सुपरजोन कार्यान्वयन एकाइका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले किसानले धान नबिकेको गुनासो सुनाएको बताउनुभयो । सरकारले धानको न्यूनतम मूल्य नतोक्दा र यहाँ उत्पादन भएको धान स्थानीय व्यापारीले किन्न नसक्दा किसानको धान खेतमा नै कुहिने अवस्थामा पुगेको उहाँको विचार छ । riper
उहाँका अनुसार चैते धान काटेर नसुकाई राख्दा त्यो कालो भएर बिग्रन्छ । तत्कालै धान झारेर बेच्न नपाए किसानको लगानी डुब्ने खतरा हुन्छ । उहाँले भन्नुभयो, किसानलाई धान उत्पादन तथा उत्पादकत्व बढाउन हामीले काम ग¥यौँ तर अब अहिले बजार नहुँदा किसानले गाली गर्न थाल्नुभएको छ । धान सुपरजोन क्षेत्रमा मात्र किसानले करिब ८४ हजार मन धान उत्पादन गरेको बताइएको छ ।
केचनाकवल–६ का स्थानीय धान व्यवसायी (काँटावाल) वीरसिंह माझीले आफूहरू प्रतिमन आठ सयभन्दा धेरैमा समेत धान लिएको बताउँदै अब धेरै लिन नसक्ने बताउनुभयो । आफूहरूले पनि भद्रपुर, बिर्तामोडका मिललाई बेच्नुपर्ने तर उनीहरूले नलिएका कारण आफूहरूले यहाँ धान लिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामी जतिसुकै सस्तोमा किसानले धान दिए पनि अहिले लिन सक्ने अवस्थामा छैनौँ ।
धान विशेषज्ञ डा. कैलाशप्रसाद भुडेरका अनुसार यहाँ अधिक मात्रामा हर्दिनाथ १ धान लगाइएको छ । यो जातको धानको चैते सिजनमा सबैभन्दा बढी खेती हुने गर्दछ । यो १२० देखि १२५ दिनमा पाक्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना