विश्वकपको प्रतीक्षा

prajit shakyaप्रजित शाक्य

 

विश्वका उत्कृष्ट र नामी फुटबलर यस हप्तादेखि एउटै फुटबल प्रतियोगितामा भेला हुँदैछन् । बहुप्रतीक्षित विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र रुसले एक महिना लामो प्रतियोगिता भव्य पार्न कुनै कसर नछोड्ने उसको तयारीले देखाएको छ । तर विश्वकप २०१८ रङ्गभेद, हुलदङ्गा र कूटनीतिक चिसोपनाको भयमा पनि हुँदैछ भन्दा फरक पर्दैन । पश्चिमका केही मुलुक र प्रायोजकको रुसलाई साथ छैन ।
हुन त सन् १९८० मा मस्को ओलम्पिक्स गर्ने समयमा पनि रुसमाथि यस्तै संशय गरिएको थियो तर मस्को ओलम्पिक्सलाई भव्य बनाएर रुसले आफूमाथिको अविश्वासलाई गलत साबित ग¥यो । यसपालि पनि स्थिति फरक छैन । रुस पुनः विश्वकप फुटबलबाट विश्वलाई लोभ्याउन चाहन्छ, भव्य र सफल आयोजना गरेर ।
आठ वर्षअघि विश्वकपको दाबेदारी जित्दा धाँधली भएको आरोप अहिले पनि बेलायत लगायत अन्य पश्चिमी राष्ट्रले लगाइरहेका छन् । यसैगरी, युक्रेनबाट क्रिमिया कब्जामा लिएको र सिरियाको विषयलाई लिएर रुस र पश्चिमी मुलुकबीच मतभेद कम भएको छैन । त्यसैले उद्घाटन समारोहमा यसपटक प्रमुख पाहुनाहरूको कमी हुनसक्छ । इङ्गल्यान्ड, स्वीडेन र आइसल्यान्डजस्ता राष्ट्रले उद्घाटन समारोहमा आफ्ना राष्ट्र प्रमुख नपठाउने भएका छन् ।
यसबीच ओलम्पिक्समा डोपिङ काण्डमा नराम्ररी मुछियो रुस । यसले गर्दा रुस गत वर्ष शीतकालीन ओलम्पिक्सबाट पनि प्रतिबन्धित भयो । उसका केही खेलाडीले ओलम्पिक्सको झन्डामुनि प्रतिस्पर्धा गर्न बाध्य भए । जसले गर्दा रुसको विश्वकप फुटबलको अयोजना नै खोसिने सम्भावना थियो ।
रुसको समस्या अन्तर्राष्ट्रिय सम्बधमा मात्र सकिँदैन । युरो २०१६ मा इङ्गल्यान्ड र रुसका समर्थकबीचको झगडा र हुलदंगाले प्रतियोगिता विथोलेको थियो । नियो–नाजी हुल्याहाहरूले रुसी रङ्गशालामा वर्षैंदेखि खेलाडीहरूमाथि रङ्गभेदी, जातिभेदी नारा लगाउँदै आएका छन् । यो क्रम विश्वकपमा दोहोरिएमा आयोजक पक्षको सबभन्दा ठूलो हार हुनेछ । हुन त रुसले यस्ता रङ्गभेदी व्यवहार गर्नेलाई कडाभन्दा कडा सजाय दिने भनेको छ । फुटबल हुल्याहाहरूलाई रोक लगाउन सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । फुटबल समर्थकका केही समूहले विश्वकपमा सहभागी नहुने खुलासा गरेबाट रुसको यो धम्कीपूर्ण रणनीतिले असर देखाइसक्यो भन्दा फरक पर्दैन । रुस आगामी एक महिना कुनै पनि बाधा व्यवधानको सामना गर्ने पक्षमा छैन जसले उसको छविमा धक्का पुगोस् र विश्वकप असफल साबित होस् । त्यसैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि कसले विश्वकप जित्छ भन्ने प्रश्नको सहज उत्तर दिनुभयो– आयोजकले ।
चार वर्षअघि विश्वका हरेक दुईमध्ये एक जनाले विश्वकप फुटबल हेरेका थिए । यसपालि यो तथ्याङ्क अझ बढ्ने अपेक्षा गरिएको छ । त्यसैले विश्वको नजर एक महिना रुसका ११ शहरका १२ भव्य रङ्गशालामा रहनेछ । त्यहाँ ब्राजिलका नेमारदेखि अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी आफ्नो जीवनकै उत्कृष्ट फुटबल खेलेर एक महिनापछि जुलेस रिमेट ट्रफी चुम्ने पर्खाइमा हुनुहुनेछ ।
विश्वकप हरेक फुटबल खेलाडीले आफ्नो फुटबल जीवनमा एकपटक भए पनि खेल्ने चाहना राख्ने प्रतियोगिता हो । यस प्रतियोगिताले पनि विश्वमा नै चर्चा पाउने, आफूलाई उत्कृष्ट साबित गर्नेलाई विश्वले पछिसम्म पनि सम्झना गर्ने हुनाले फुटबलको यस महासंग्राममा हरेक खेलाडीको प्रतिस्पर्धा गर्ने सपना हुन्छ । किनभने प्रसिद्धि कमाउने र आपूmलाई महान् बनाउने यो ठूलो मञ्च हो । नेमार, मेसी र रोनाल्डोजस्ता ‘सुपरस्टार’ को लक्ष्य यस विश्वकपमा सहभागिता जनाउने मात्र होइन, आ–आप्mनो देशलाई विश्व विजेता नै बनाउने हुनेछ ।
यसपालि पनि जर्मनी र ब्राजिल नै विश्वकपका दावेदार रहेका छन् । यिनीहरूलाई पूर्व विजेताहरू स्पेन, अर्जेन्टिना र फ्रान्सले बाधा पु¥याउन सक्छन् । यी पाँच राष्ट्रलाई विश्वकप उपाधिका दावेदारको रूपमा लिइएको छ । अझ यस सूचीमा ब्राजिल सबभन्दा माथि आउँछ । यसपालि खेल पण्डितहरूले सबभन्दा बढी विश्वकप उपाधि जित्ने ब्राजिललाई जर्मनीभन्दा पनि माथि राखेका छन् । चार वर्षअघि आफ्नै घरमा जर्मनीसँग सेमिफाइनलमा ७–१ ले हार्दा पूरै ब्राजिल स्तब्ध भएको थियो । ब्राजिलियालीहरू अहिलेसम्म सो हारको शोकमा छन् । जर्मनीसँगको पछिल्लो अपमानले ब्राजिल अहिले घाइते बाघ बनेको छ । यस विश्वकपको उपाधि जितेर सो अपमानलाई बिर्साउने प्रयासमा ब्राजिल हुनेछ । अझ चोटले शंकाको घेरामा रहेका नेमार तन्दुरुस्त बनेपछि ब्राजिलको मनोबल उच्च छ ।
दक्षिण अमेरिकी छनोट चरणमा दोस्रो स्थानमा रहेको उरुग्वेलाई दश अङ्कले पछाडि पारेर विश्वकपमा पुग्न सकेबाट यसपालि ब्राजिलको ‘फर्म’ थाहा पाउन सकिन्छ । यद्यपि ब्राजिलले समूह चरण त्यत्ति सहज छैन । सर्विया, स्विट्जरल्यान्ड र कोस्टारिका मिहिनेती र स्तब्धकारी नतिजा निकाल्न सक्ने टिम हुन् । तर पनि यिनीहरूले ब्राजिललाई समूह चरणबाट विदा गर्छन् भन्ने कल्पना गर्न सकिँदैन ।
विश्वकप च्याम्पियन जर्मनी समूह एफमा छ । मेक्सिको, स्वीडेन र दक्षिण कोरिया यस समूहमा छन् । जर्मनी विश्वकपको सदाबहार टिम हो । विश्वकपमा जर्मनी सँधै राम्रो खेल्ने गर्दछ । मेक्सिको ‘केन्केकाफ’को ‘हेभिवेट’ टोली हो । चारपटक विश्वकप जितिसकेको इटालीलाई प्लेअफमा विदा गरी छनोट भएको स्वीडेनलाई कुनै हालतमा कमजोर मान्न सकिँदैन । दक्षिण कोरिया लगातार नवौँ पटक विश्वकप खेल्दैछ तर जर्मनीलाई यो समूहबाट कुनै समस्या हुने छैन । मिहिनेती भए पनि स्वीडेनको टिममा कमजोरी पनि छन् । मेक्सिको र दक्षिण कोरियामा जर्मनीलाई रोक्ने क्षमता देखिँदैन । यसैले जर्मनीलाई यसपटक पनि पहिलो चरण पार गर्न कठिनाई हुनेछैन ।
सन् २००८ देखि २०१२ सम्म विश्व फुटबलमा अधिपत्य बनाएको स्पेनी टिममा अहिले यो स्वाद छैन । यद्यपि सन् २०१० को च्याम्पियन स्पेनलाई पनि उपाधि दावेदारमध्ये एकको रूपमा लिइएको छ । सन् २०१४ मा स्पेन समूह चरणबाट बिदा भएको थिो । त्यसैले स्पेनका लागि यो विश्वकप सो अपमानलाई बिर्सने माध्यम बन्न सक्छ । यद्यपि युरो विजेता पोर्चुगल पनि स्पेनको समूहमा छ ।
यसपालि फ्रान्सले दश वर्षपछि विश्वकप जित्ने दाबी गर्दैछ । सन् २००८ मा फ्रान्स च्याम्पियन बनेको थियो जुन अहिलेसम्मको उसको सबभन्दा ठूलो उपाधि हो । यसपालि फ्रान्सको टिममा विश्वस्तरीय खेलाडी भरिभराउ छ ।
लियोनेल मेसीको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई यी मािथका टिमभन्दा अलि कमै भाउ दिइएको छ । तर मेसीले हालै अर्जेन्टिनाका लागि उपविजेता पनि चाहेको नतिजा नहुने भनेर विश्वकप ट्रफीमा आँखा लगाइसक्नुभएको छ । मेसी एक्लैले विश्वकप जिताउन सक्ने खेलाडी पनि हुनुहुन्छ । अझ विश्वको सर्वकालीन महान् खेलाडीको सूचीमा पर्न मेसीलाई विश्वकप जितको खाँचो छ । पछिल्लो पटक अर्जेन्टिनाले फाइनल खेलेको थियो । तर यसपालि टिम त्यत्ति बलियो देखिँदैन । अर्जेन्टिनाले बल्लतल्ल छनोट चरण पार गरेको थियो । अन्तिम समयसम्म पनि अर्जेन्टिनाको विश्वकप चयनमा संशय थियो । हालै स्पेनबाट मिलेको ६–१ गेलको पराजयले गर्दा पनि अर्जेन्टिनाले उपाधि जित्नुछ भने मेसीको चमत्कारको कामना गर्नुपर्नेछ ।
युरोपेली च्याम्पियन पोर्चुगललाई बुकमेकरहरूले त्यत्ति धेरै भाउ दिएको छैन । तर क्रिस्टियानो रोनाल्डो सामेल टिमलाई कमजोर ठानेमा त्यो मुख्र्याइँ मात्र हुनेछ । यस्तै परिस्थितिमा रोनाल्डोको जादुकै कारण पोर्चुगलले युरोपेली च्याम्पियन्सीप जितेको दुई वर्ष पनि भएको छैन । रोनाल्डोले छनोट चरणमा १५ गोल गरेर विश्वकपका लागि आफू तम्तयार भएको संकेत दिइसक्नुभएको छ ।
विश्वकप उपाधि दाबेदारमा छुटाउन नहुने अर्को टिम हो बेल्जियम । बेल्जियमको टिमलाई सुनौलो पुस्ता पनि भनिन्छ जसमा केभिन डि ब्रुयन, इडेन हजार्ड र रोमलु लुकाकुजस्ता खेलाडी हुनुहुन्छ । कागजमा बेल्जियमको टिम निकै सशक्त छ । यसैगरी, इङ्गल्यान्ड र दुई पटकको विजेता उरुग्वे पनि दावेदारको सूचीबाट झिक्न मिल्दैन ।
आयोजक रुसले फुटबल मैदानमा विशेष प्रदर्शन गर्छ भन्दा बढी बोलेको ठहर्ला । प्रतियागितामा घरेलु टिम सहभागी ३२ मध्ये दोस्रो सर्वाधिक कम वरियताको टिम हो । आगामी विश्वकपको आयोजक रुसलाई ड्रबाट सबभन्दा डर थियो ।  विश्वकप फुटबल प्रतियोगितामा आयोजक पहिलो चरणबाटै बाहिरिनुपरेको इतिहास अहिलेसम्म एकपटक मात्र छ । रुस सो इतिहासलाई दोहो¥याउन चाहँदैन ।  विश्वकप २०१८ को ड्र रुसले चाहेजस्तै भएको छ । उसको समूह एमा साउदी अरब, इजिप्ट र पूर्व विजेता उरुग्वे पनि छ ।  जसले रुसले घरेलु मैदानमा समूह चरण पार गर्ने सम्भावना धेरै भएको छ । तर त्यसपछि रुस अगाडि बढेमा त्यो चमत्कार नै हुनेछ । उसले उद्घाटन खेलमा विश्वकपको अर्को कमजोर टिम सउदी अरबविरुद्ध खेल्नेछ । जुन फिफा वरियतामा ६३ औँ स्थानमा छ । अझ आन्तरिक विवाद र चोटले रुसको फुटबल टिम राम्रो आकारमा देखिँदैन । रुसका लागि जित भनेकै सफल आयोजना गरेर विश्वको मन जित्नु नै हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना