सहअस्तित्वकारी भूमिका अपेक्षित

Hari prashad bhattraiहरिप्रसाद भट्टराई

 


गणतन्त्रात्मक सङ्घीय लोकतान्त्रिक संविधानले आमनेपालीलाई नयाँ आशा तथा उमङ्गको किरण छर्ने विश्वास पैदा हुँदैछ । सैद्धान्तिक रूपले एसियाकै उत्कृष्ट मानिने यो संविधानबमोजिम तीनै तहका निर्वाचन सम्पन्न गरिएपछि अब संविधान प्रभावकारी र पूर्ण कार्यान्वयनको चरणबाट पार गरेको अवस्था छ । यद्यपि, संविधान कार्यान्वयनका यी मुख्य चरणबाहेक दैनन्दीय कार्यान्वयनका चरण जारी छन्, जुन पछिसम्म भई नै रहन्छन् । अब हुने भनिएको मधेशवादी दलहरूको माग सम्बोधन यसै क्रमको निरन्तरता हो । सङ्घीय समाजवादी फोरम उसका माग सम्बन्धमा सरकारसँग कुरा मिलेपछि उसले पहिला सरकारलाई दिएको समर्थनलाई निरन्तरतामा बल पु¥याउँदै सरकारमा सहभागिता जनाइसकेको छ र यस सरकारले दुईतिहाइ बहुमतको बलियो आकार लिइसकेको छ । यो सकारात्मक र सुखद क्षणसमेत हो ।
संविधान कार्यान्वयनको अग्रगमनकारी बहुआयामपछि अब नेपालीजनको एकमात्र मुख्य लक्ष्य, उद्देश्य र चाहना भनेकै विकास निर्माण तथा समग्र रूपको समृद्धि हो, जुन सरकार मात्र नभएर सबै पार्टी र आमनेपालीकै मुख्य कार्यदिशाको नारा बन्न पुगेको छ । यसलाई सबै पक्ष वा तप्काबाट सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भने मुलुकले आर्थिक समृद्धि चुम्न धेरै समय खर्चिनु पर्दैन । सत्तामा वा बाहिर रहने सबै पार्टी तथा नेताहरूले लोभ, लालच, विभेदको परिपाटीबाट टाढा रहनु भने आवश्यक छ । विगतका कमी, कमजोरीबाट पाठ सिक्दै अहङ्कारसमेतलाई त्यागेर आआफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्न चुक्नुहुँदैन । सकारात्मक भूमिका सम्बद्ध सबैबाट हुन सक्यो भने हाम्रो गन्तव्य सुखद रहनेमा कुनै सन्देह छैन । अब सबै दलका नेता, कार्यकर्तासँगै विशेषगरी सत्तापक्ष र प्रमुख प्रतिपक्षको सहअस्तिवसँगैको सकारात्मक भूमिका अपेक्षित छ ।
पार्टीहरू अनेक भए पनि सबैको चाहना आमनेपालीजनको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेसँगै आर्थिक समृद्धि नै हो । जनकल्याणका लागि छिट्टै र प्रभावकारी प्रक्रियागत बाटो वा गन्तव्य यो हुन्छ भनेर बनाइएका आआफ्ना घोषणापत्र, सिद्धान्त पार्टीगत हिसाबले फरक रहे पनि सबैको उद्देश्य मुलुक र मुलुकवासीकै हित कसरी हुन्छ भन्ने हो । जसले जे जसरी आफ्ना सिद्धान्त तथा चिन्तन जनतालाई बुझाउन र आकर्षित गर्न सक्यो, उसले चुनावमा बहुमत ल्याउँछ, सरकार पनि बनाउँछ । यसमा कसैलै पनि अहङ्कार गर्नु उचित हुँदैन । सरकारको बागडोर सम्हालेकै आडमा अहङ्कार पाल्नु र सरकार बाहिर रहनेले पनि चित्तदुखाइ गर्नु कुनै आवश्यक छैन । लोकतान्त्रिक संसदीय व्यवस्थामा कहिले को सत्तामा जान्छ, कहिले को, त्यसको ठेगान हँुदैन । यस्तो प्रणालीमा राम्रो चिन्तनसँगै व्यवहारमै राम्रो काम गर्ने सबैले आलोपालो मौका पाउँछन् । मात्र, त्यस्ता मौकाको उचित र प्रभावकारी हुने गरी सदुपयोग गर्नेतर्फ नेताहरूले जुट्न, जुटाउन सक्नुपर्छ । नत्र मौका अर्कैले आफ्नो पोल्टामा पार्छ । प्राविधिक पक्षको अनुकूलतासँगैको माहोल चुनाव जित्ने तथा बहुमत ल्याउने एउटा कारण हुन सक्छ, बन्न सक्छ । त्यस बाहेक राम्रो काम गर्नेहरूले नै चुनाव जित्ने तथा बहुमत ल्याउने स्वाभाविक प्रक्रिया हो । यतिखेर कम्युनिस्ट पार्टीको सरकार बन्नु दुई पार्टी गठबन्धन र एकीकरणको प्राविधिक पक्षसँगै उसका आकर्षक आर्थिक एजेन्डा नै हुन् तर यहाँ भन्नै पर्ने हुन्छ कि सत्ता प्राप्तिमा मात लाग्न सक्छ । यसको हेक्का सत्तामा रहनेले राख्नैपर्छ । अहिले सत्तापक्षले प्रतिपक्षलाई साथमा लिन नसकेको आरोप पनि सुनिन्छ । यदि त्यसो हो भने त्यो भूल हुन सक्छ तर प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिपक्षलाई साथमा लिएर अगााडि बढ्ने र आर्थिक समृद्धिमा जुट्ने बताइरहनुभएको कुराबाट प्रतिपक्षलाई वास्ता नगर्ने आरोप खण्डित हुने ठाउँ छ ।
सबै पार्टीका नेताले भुल्नै नहुने कुरो के हो भने सत्तामा रहे पनि र नरहे पनि नेता भएकै कारण अहङ्कारले पछ्याइरहेको हुन्छ । यदि अहङ्कारमा जेलियो भने ऊ जतिबेला पनि गिर्न सक्छ । त्यसको असर अन्ततः पार्टी, मुलुक तथा जनतामा नै पर्न सक्छ । त्यसैले अहङ्कार कसैले पनि राख्न हुँदैन । सहअस्तित्वको खोजी सम्बद्ध सबै नेताले गर्ने प्रयास गर्नुपर्छ । सत्तापक्षबाट त यसमा झन् बढी पहलकदमी हुनैपर्छ ।
यसअघि बहुमत नभएकै कारण संविधान संशोधनलगायतका अन्य व्यावहारिक अल्झनका विषयमा बाधाअड्काउ फुकाउन वा संशोधन गर्न कठिन थियो । त्यसैले कतिपय अड्चनका विषय अहिले पनि थाँती रहेको अवस्था छ । यतिखेर दुईतिहाइ बहुमतको बलियो सरकार छ, जसले आवश्यकताअनुसार अहिले ती सबै कुरा फुकाउने अनुकूल समय पनि छ । त्यसैले सत्तापक्षले यतिखेर दुईतिहाइ बहुमतको अहङ्कार त्यागी प्रतिपक्षलाई साथमा लिएर आवश्यक ठाउँमा संविधान संशोधनसँगै बाधाअड्काउ फुकाउने र आर्थिक समृद्धिको दिशामा मुलुक अगाडि बढाउनेतिर लाग्दा नै मुलुकवासीको भलो हुन्छ । त्यसैले सत्तापक्षबाट सहअस्तित्वको खोजी गर्ने प्रयास यहाँनेर अपेक्षित छ ।
सत्तापक्ष र प्रतिपक्षका बीचमा पनि सहअस्तित्व, सहयोग र सम्मान गर्ने व्यवहार नेताहरूले प्रभावकारी रूपमा गर्न गराउन सक्नुपर्छ । यतिखेर संसदीय लोकतान्त्रिक प्रणालीको पक्षपोषण गर्ने नेपाली काँगे्रस प्रतिपक्षको रूपमा रहेको छ । यसको उपयुक्त र अनुकूल सहयोग सत्तापक्षले लिन सक्नुपर्छ । त्यसैगरी प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि मुलुकका निम्ति उपयुक्त निर्णयमा सत्तापक्षलाई साथ सहयोग गर्न पछि पर्नुहुँदैन । विगतका आन्दोलन, सत्ता सञ्चालनका अनुभव तथा अन्य कमी–कमजोरीबाट पाठ सिकेर काम गर्ने हो भने जनताको आर्थिक समृद्धिको चाहना पूरा गर्नेसँगै जीवनस्तर परिवर्तन गर्ने त्यो अभीष्ट पूरा गर्ने समय यतिखेर आएको छ । संविधान कार्यान्वयनको सुखद गन्तव्यको निरन्तरतामा साँच्चिकै आर्थिक समृद्धि चुम्ने हो भने सत्तापक्ष र प्रतिपक्षको सहअस्तित्वकारी भूमिका अपरिहार्य छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना