पर्यटनमा गुणस्तर

prakash sharma dhakalप्रकाश शर्मा ढकाल

 

पर्यटन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने दीर्घकालीन सोचसहित पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने तथा सन् २०२० सम्म कम्तीमा १५ लाख पर्यटक भिœयाउने लक्ष्य राखी सुधारका कार्य केन्द्रित हुने बताउनुभएको छ । यो लक्ष्य सार्वजनिक गरिएसँगै पर्यटन क्षेत्रमा पर्यटक सङ्ख्या केन्द्रित कि गुणस्तरीय पर्यटक भिœयाउने भन्ने विषय बहसको केन्द्रमा छ । अर्थतन्त्रमा एउटै क्षेत्रको यति ठूलो योगदान भयो भने त राम्रो तर पर्यटन क्षेत्रमा असामान्य परिस्थिति आइदियो भने समग्र अर्थतन्त्र चौपट हुन सक्ने भएकोले त्यसतर्फ सतर्क हुन आवश्यक छ भन्ने आवाज पनि आइरहेको छ ।
पर्यटन मन्त्रालयका अनुसार सन् १९६४ मा नेपालमा जम्मा नौ हजार ६२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जुन सङ्ख्यामा क्रमिक वृद्धि हुँदै सन् २०१७ मा आइपुग्दा नौ लाख ४० हजारभन्दा बढी पुगेको छ । पर्यटकको बसाइँ अवधिको तथ्याङ्क राख्न थालिएको वर्ष सन् १९७४ मा औसत बसाइँ अवधि १३ दशमलव २० दिन रहेकामा हाल १२ दशमलव ६ दिन रहेको छ । नेपाल आउने पर्यटकमध्ये करिब ७० प्रतिशत बिदा तथा मनोरञ्जनका लागि आउने गर्छन् भने तीर्थयात्राका लागि आउने पर्यटकको सङ्ख्या आठ प्रतिशत छ । सन् २०१७ मा नेपालमा नौ लाख ४० हजार २१८ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । सोही अवधिमा नेपालले पर्यटन क्षेत्रबाट ६५ करोड ८० लाख अमेरिकी डलर आम्दानी गरेको छ । यो गत वर्षभन्दा करिब १९ प्रतिशत बढी हो । यो रकम नेपालले कुल प्राप्त गरेको विदेशी मुद्राको करिब पाँच प्रतिशत हो । पर्यटकको प्रतिदिन औसत खर्च अघिल्लो वर्षको ५३ डलरबाट सामान्य रूपमा बढेर ५४ डलर पुगेको छ ।
पर्यटक सङ्ख्या र नेपालले प्राप्त गरेको विदेशी मुद्राको तथ्याङ्क हेर्दा प्रतिपर्यटकले नेपालमा गरेको खर्च भने घटेको छ । अधिल्लो वर्ष एक जना पर्यटकले आफ्नो बसाइँ अवधिमा ७३६ दशमलव ४२ अमेरिकी डलर खर्च गरेकोमा सन् २०१७ मा यस्तो रकम घटेर ६९९ दशमलव ९३ डलर पुगेको छ । विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०१७ मा अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या विश्व भरिमा १३२२ मिलियन रह्यो । जुन अघिल्लो वर्षको तुलनामा सात प्रतिशत बढी हो । विश्व निर्यातमा तेस्रो स्थान ओगट्न सफल पर्यटन क्षेत्रलाई आर्थिक समृद्धि र रोजगारी अवसर सिर्जनाको आधारभूत क्षेत्रको रूपमा व्याख्या गर्न थालिएको छ । सङ्गठनको पछिल्लो वर्ष पुस्तकको तथ्याङ्कअनुसार नेपालमा पर्यटकबाट गरिएको आम्दानी (४९८ मिलियन डलर) भन्दा पर्यटकको रूपमा नेपालीले बाहिर गरेको खर्च (६३४ मिलियन डलर) करिब १४ अर्ब रुपियाँ बढी रहेको छ । यसले नेपालको पर्यटन घाटाको अवस्थालाई उदाङ्गो गरिदिएको छ ।
२०१७ मा विश्वको कुल ग्रार्हस्थ उत्पादनमा यस क्षेत्रको औसत योगदान १० दशमलव ४ प्रतिशत रहेकोमा नेपालमा ७ दशमलव ५ (प्रत्यक्ष योगदान ३ दशमलव ३ प्रतिशत मात्र) प्रतिशत मात्र छ । वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलका अनुसार नेपालको वरियताक्रम विश्वका १८५ देशमा १२४ औँ स्थानमा छ । त्यसैगरी प्रत्येक १० रोजगारीमा एक रोजगारी विश्व औसत रहँदा नेपालमा चाहिँ प्रतिएक सयमा केवल तीन मात्र रहेको छ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा यस क्षेत्रले नौ लाख ४५ हजार रोजगारी सिर्जना गरेको उल्लेख गरिएको छ । यस्तो सङ्ख्या सन् २०२७ सम्म १३ लाख २५ हजार पुग्ने अनुमानसमेत गरिएको छ ।
विश्व पर्यटनको तथ्याङ्क केलाउने हो भने पर्यटकको रूपमा विश्वमा सबैभन्दा बढी खर्च गर्ने देश चीन रहेको छ । हाम्रो अर्को छिमेकी मुलुक भारत बीसौँ स्थानमा छ । पर्यटकको रूपमा गरेको खर्च तथा सङ्ख्याका आधारमा प्रतिचिनियाँ पर्यटकले औसतमा दुई हजार पाँच सय डलर बढी खर्च गर्ने गर्दा भारतीय पर्यटकले ८६७ डलर खर्च गर्ने गरेको देखिन्छ । नेपाल आएका पर्यटक सबैभन्दा बढी (१७ दशमलव १ प्रतिशत) भारतीय पर्यटक रहेका छन् भने दोस्रोमा चिनियाँ पर्यटक जसको अनुपात प्रत्येक सयमा ११ दशमलव १ रहेको छ । तेस्रो स्थानमा संयुक्त राज्य अमेरिकाबाट आउने पर्यटक छन्, जुन ८ दशमलव ४ प्रतिशत छ । चौथो र पाचौँ स्थानमा क्रमशः बेलायत र श्रीलङ्का छन् । अमेरिकीहरूले एकपटकमा औसत दुई हजार १९ डलर, श्रीलङ्काका पर्यटकले एक हजार ५८७ डलर र बेलायतीले एक हजार २११ डलर खर्च गरेको देखिन्छ ।
पछिल्लो समय पर्यटन क्षेत्रमा अग्रस्थान बनाउँदै गएको थाइल्यान्डमा एउटा चिनियाँ पर्यटकले प्रतिदिन १८० डलर खर्च गर्छन् भने सार्क मुलुकबाट जाने पर्यटकले १६० डलर । विश्व पर्यटन सङ्गठनको पछिल्लो वर्ष पुस्तकका तथ्याङ्कका आधारमा अमेरिकामा एक पर्यटकले औसतमा तीन हजार १७६ डलर, चीनमा दुई हजार पाँच डलर, थाइल्यान्डमा एक हजार ४८९ डलर, भारतमा एक हजार ६१६ डलर, श्रीलङ्कामा एक हजार ९३९ डलर खर्च गर्दा नेपाल आउने पर्यटकले उसको बसाइँ अवधिमा औसत खर्च केवल ९४४ डलर मात्र गर्छ । नेपालमा औसत बसाइँ अवधि तुलनात्मक रूपमा राम्रो नै देखिन्छ, जुन २०१७ मा १२ दशमलव ६ दिन छ । यो पनि पर्वतारोहणका लागि नेपाल आएका पर्वतारोहीको बसाइँ अवधि निकै लामो हुने कारण औसतमा बढी देखिन पुगेको हो ।
उही पर्यटक अन्य देशमा जाँदा खर्चालु हुने अनि नेपालमा आउँदा किन खर्च गर्दैन वा नेपालमा कम आय भएका वा बढी खर्च नगर्ने पर्यटक मात्र आउने हुन् ? यसको अध्ययन हुन आवश्यक छ । खर्चालु र कम खर्च गर्ने पर्यटकका लागि उपलब्ध सेवा सुविधा केही सीमित पर्यटकीय क्षेत्रमा बाहेक एउटै छन् हामीसँग । ट्रेकिङ, पर्वतारोहणका लागि जाने पर्यटकले चाहेर पनि खर्च गर्न सक्ने उपजहरूको विकास गर्न सकिएको छैन । उही सामान्य स्तरका होटल तथा अन्य सुविधामात्र उपलब्ध छन् । खर्च खाना र बस्नमा मात्र गर्ने होइन, अन्य वस्तु तथा सेवाको खरिद, उपभोगमा ठूलो रकम खर्च हुन्छ । तर हामीकहाँ न मनोरञ्जनका लागि पर्यटकीय सेवा उपलब्ध छ न किनमेलका लागि सपिङ मलहरू नै ।
गुणस्तरीय पर्यटकहरू आकर्षित गर्न सुरक्षित, भरपर्दो हवाई सेवाको सुनिश्चिता गर्ने, पूर्वाधारमा लगानी वृद्धि गर्ने, पर्यटन विविधीकरण तथा गुणस्तरमा वृद्धि, परम्परागत मौलिक संस्कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्ने, व्यावसायिक, दक्ष जनशक्ति विकास गर्ने, गन्तव्यहरूको पहिचान, प्रवद्र्धन तथा बजारीकरणमा जोड दिँदै जानुपर्ने देखिन्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना