विश्वकपले चम्कायो टीभी व्यापार

लक्ष्मण दर्नाल

काठमाडौँ, जेठ २९ गते । विश्वकप सुरु हुन लाग्दा नेपालमा टेलिभिजन सेटको बिक्री दोब्बरले बढेको छ । विश्वकप हेर्नकै लागि सबैको रोजाइमा ठूला आकारका टीभी सेट पर्ने गरेका छन् । दरबारमार्गस्थित सामसुङको सो रुममा सामान्य अवस्थामा भन्दा हाल ग्राहकको भीड बढेको छ ।
विश्वकपलाई लक्षित गरी विभिन्न ब्रान्डका टेलिभिजनका बिक्रेताले विभिन्न योजना ल्याएका छन् । झण्डै ८० प्रतिशत व्यापार वृद्धि भएको सामसुङकी मार्केटिङ एक्जुकेटिभ सुनिता सिग्देलले जानकारी दिनुभयो । विश्वकपकै अवसर पारेरमा विभिन्न अफर राखिएकाले पनि टीभीको व्यापार बढेको छ । सामसुङले २७ प्रतिशतसम्म छुट र विभिन्न उपहार भौचर राखेको छ । लक्की ड्र, टर्किस एयरमा विदेश भ्रमण लगायतका अफर सामसुङले राखेको छ ।
त्यस्तै सोनी टेलिभिजनको व्यापार पनि दोब्बरले बढेकोे छ । सोनीका मार्केटिङ म्यानेजर सौरभ पन्तले पनि व्यापार बढेको बताउनुभयो । उहाँले भन्नुभयो, त्यस्तै ६०÷७० प्रतिशतले व्यापार बढेको छ । सोनीले पनि विश्वकप अवसरका विभिन्न अफरका साथै विषेश छुटको व्यवस्था गरेको उहाँले बताउनुभयो । tv
एलजी तथासीजी टीभीको व्यापार पनि निकै बढेको छ । दैनिक दुईदेखि चारवटा सेट बिक्री हुने एलजीको रविभवन सो रुममा हाल दैनिक १० वटासम्म बिक्री भएको लेखा अधिकृत ईश्वरी नेपालीले जानकारी दिनुभयो । एलजी टीभीमा ४१ प्रतिशतसम्म छुट दिइएको छ भने सीजीमा ३५ प्रतिशत छुट दिइएको छ । त्यस्तै सीजीमा तीन वर्षे वारेन्टी र एलजीमा पाँच वर्षको वारेन्टीको व्यवस्था गरिएको छ ।
टीभीसँगै प्रोजेक्टरको व्यापार पनि बढेको छ । प्रोजेक्टर चाहे अनुसारका साइज र स्थानमा हेर्न सकिने भएकाले पछिल्लो समय यसको बिक्री बढेको छ । न्यूरोडको तोसिबाको सो रुममा प्रोजेक्टरको व्यापार बढेको छ । दैनिक रूपमा प्रोजेक्टर खोज्न आउने र किन्नेको सङ्ख्या दोब्बर भएको छ ।
विश्व बजारमा उत्कृष्ट १० वटा एलईडी टीभी नेपाली बजारमा बढी बिक्री हुने गरेका छन् । सामसुङ, सोनी, एलजी, तोसिबा, एओसी, माइक्रोम्याक्स, हाइसेन्स, फिलिप्स, भिडियोकन, र पानासोनिक कम्पनीका टीभी बढी बिक्री भइरहेका छन् । नेपाली बजारमा छ लाख रुपियाँसम्मका टीभी छन् ।
परिवारमा मात्र नभई विश्वकप छिमेकीसँग पनि समूहमा हेर्ने प्रचलन बढेकाले ठूला आकारका टीभीको बिक्री वितरण बढेको छ । साथीमाभाईसँग रमाइलो गरी खुला स्थान वा होटल रेस्टुरेन्टमा पनि विश्वकप हेरिने भएकाले टीभीको व्यापार दोब्बरले वृद्धि भएको छ ।
झापामा पनि बिक्री उच्च
यसैगरी बिर्तामोडबाट लीला झापालीका अनुसार झापामा पनि टेलिभिजनको बिक्री बढेको छ । अरु बेला मुस्किलले एउटा टीभी बिक्री गर्दै आइरहेकोमा हाल दैनिक एक दर्जनभन्दा बढी टीभीको बिक्री गरिरहेको कनकाई नगरपालिका सुरुङ्गाको माता मनकामना टेड्रर्सका सञ्चालक प्रवीण तिम्सिनाले बताउनुभयो । फुटबल हेर्नका लागि २९ इन्चभन्दा बढीको एलईडी टीभीको बिक्री बढी हुने गरेको तिम्सिनाले बताउनुभयो । बिहीबारदेखि सुरु हुने विश्वकपको मिति नजिकिँदै गएपछि फुटबल पारखीले टीभी र प्रोजेक्टर सहितको पर्दाको समेत बिक्री बढेको छ ।
विश्वकप फुटबलको अवसर पारेर विभिन्न कम्पनीले आकर्षक छुटको समेत प्याकेज ल्याएकाले समेत ग्राहक यस सिजनमा बढी टीभी, एलईडीको खरिद गर्ने गरेको सङ्ग्रौला ब्रदर्शका सञ्चालक युवराज सङ्ग्रौलाले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना