मदन भण्डारी माले स्कुल स्थापना हुने

काठमाडौँ, जेठ ३० गते । नेपालमा एसियालीस्तरको मदन भण्डारी माक्र्सवाद–लेनिनवाद स्कूल स्थापना हुने भएको छ ।  ब्राजिलमा सम्पन्न ‘इन्टरनेशनल एसेम्बली अन पिपुल्स अर्गनाइजेशन’को पूर्व तयारी बैठकले अहिले विश्वमा रक्षात्मकरूपमा रहेको कम्युनिष्ट आन्दोलनलाई प्रतिरोधात्मक बनाउन विश्वका कम्युनिष्टहरूलाई राजनीतिक, सामाजिक र आर्थिकरूपले प्रशिक्षित गर्ने उद्देश्यसहित नेपालमा माक्र्सवाद–लेनिनवादबारे नियमित कक्षा सञ्चालन गर्न मदन भण्डारी एसियन स्कूल स्थापना गर्ने निर्णय गरेको छ ।
त्यस पूर्व तयारी बैठकमा सहभागी भएर मङ्गलबार स्वदेश फर्किनुभएका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र बलराम बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई सो जानकारी दिनुभएको हो । उहाँहरू सो बैठकमा भाग लिन गत साता ब्राजिल पुग्नुभएको थियो ।
त्यसैगरी, उक्त तयारी बैठकले विश्व कम्युनिष्ट आन्दोलनमा उत्कृष्ट योगदान पु¥याए वापत मदन भण्डारीलाई विश्वका २० जना उत्कृष्ट कम्युनिष्ट नेताका रूपमा समेत छनोट गरेको जानकारी समेत उहाँहरूले दिनुभयो । उहाँहरूले कम्युनिष्ट स्कूल स्थापनाबारे ब्राजिलमा आफूहरुले अध्ययन तथा छलफल गर्नुका साथै शिक्षण सिकाइको अनुभव समेत ग्रहण गरेको जानकारी दिनुभयो ।
ब्राजिलको साओपाउलोमा जून ४ देखि ६ सम्म बसेको उक्त बैठकले सन् २०१९ को फेब्रुअरी महिनाको अन्तिम साता भेनुजुआलाको राजधानी करासकसमा ‘इन्टरनेशनल एसेम्बली अन पिपुल्स अर्गानाइजेशन’को सम्मेलन गर्ने निर्णय गरेको जानकारी उहाँहरुले दिनुभयो । उक्त सम्मेलनमा विश्वका कम्युनिष्ट पार्टी, माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने समाजवादी पार्टीहरू तथा श्रमिक पार्टीहरूको सहभागिता रहने उहाँहरूले बताउनुभयो ।
सोभियत क्रान्ति सम्पन्न भएको एकसय वर्षको अवसरमा सन् २०१७ मा नै सो सम्मेलन भेनुजुएलाको राजधानी कराकसमा गर्ने निर्णय गरिए पनि भेनुजुआलामा उत्पन्न राजनीतिक अस्थिरताका कारण सो सम्मेलन हुन सकेनन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिस्ट पार्टीबीचको एकताले अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी कम्युनिष्टहरू खुशी तथा उत्साहित भएको आफूले पाएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा समेत अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको जानकारी दिंदै नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds