छापापछि दूधको बिक्री घट्यो

सुरेशकुमार यादव

काठमाडौँ, असार १ गते । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दूध उद्योगमा छापा मारी नमुना सङ्कलन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेपछि उपभोक्ताले दूध खरिद गर्न छाडेका छन् ।
सङ्कलन गरिएको दूधको ल्याब जाँच गर्दा स्वास्थ्यलाई असर गर्ने खालका अखाद्य वस्तु फेला परेको प्रतिवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले सार्वजनिक गरेपछि दूध बिक्रीमा २० प्रतिशतले कमी आएको दूध उद्योगीले बताएका छन् ।
मन्त्री चन्द्रपाणि खनालको नेतृत्वमा गएको टोलीले छापा मारेको सरकारी स्वामित्वमा रहेको दूध विकास संस्थान (डीडीसी) को दूधमा पनि स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु पाइएको छ । डीडीसीले उत्पादन गर्ने दूधमा सोडा पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चन्द्रपाणि खनालको नेतृत्वमा जेठ २८ गते छापा मारी सङ्कलन गरिएको नमुना जाँच गर्दा सोडा भेटिएको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मन्त्रालयका प्रतिनिधिले डीडीसीलगायत विभिन्न ब्रान्डका दूधको नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागमा जाँचका लागि पठाइएको थियो । डीडीसीको गाईको दूध, पूर्ण क्रिम भएको दूध, स्टाण्डर्ड दूध, एसटडी दूध, चियाको दूध गरी छ प्रकारको दूध जाँच गरेको थियो । दूधमा अरु सबै ठीक भए पनि छवटै प्रकारको दूधमा सोडा भेटिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी गराउनुभयो ।
डीडीसीका साथै आधुनिक डेरी, गल्फ विनायक डेरी, आकृति दूध तथा कृषि, जय श्री कृष्ण डेरी, भक्तपुर डेरी, एचडी मिल्क एन्ड बेभरेज, हिमालय डेरी प्रोडक्ट, जगदम्बा डेरी फुड एन्ड बेभरेज, खरीपाटी डेरी, कालिका डेरी, सन्जु डेरी, नवप्रभाव डेरी, नेपाल डेरी, कन्ट्री फुड प्राइभेट, राजधानी डेरी, सुजल डेरी, सन्जिवनी डेरी उद्योग, शिवम् डेरी, सीताराम डेरी, सामूहिक कृषक डेरी, हिमालयन डेरी, तुल्सा डेरी प्रोडक्ट, संयुक्त डेरीबाट प्राप्त गरेको दूधमा पनि सोडा भेटिएको विभागले जनाएको छ । milk
२५ वटा उद्योगका ४२ वटा ब्रान्डका दूधमध्ये ४० वटा ब्रान्डको दूधमा सोडा भेटिएको छ । आधुनिक डेरी बलाजु र सीताराम दूधको एउटा ब्रान्डमा सोडाको मात्रा नदेखिएको विभागले जनाएको छ । १७ वटामा नमुनामा चिल्लो (फ्याट), नौवटा नमुनामा चिल्लो बाहेकको ठोसवस्तु भेटिएको छ ।
दूधमा सोडाको मात्रा भने खुलाइएको छैन । प्रवक्ता वस्तीले भन्नुभयो, सोडा स्वास्थ्यका लागि हानिकारक हुन्छ तर त्यसको मात्रा कति हुनुपर्छ त्यसमा भर पर्छ । ग्यास्ट्रिक भएका व्यक्तिका लागि सोडा ठीक हुन्छ तर जसलाई ग्यास्ट्रिक छैन, त्यसका लागि हुँदैन ।
विभागका पूर्व महानिर्देशक उत्तमकुमार भट्टराईले दूधमा सोडा मिसाउन नहुने बताउनुभयो । कृषि मन्त्रालयका पूर्वसचिव समेत रहनुभएका उहाँले दूधमा अखाद्य वस्तु भेट्नु राम्रो होइन तर सबैतिरबाट यसमा सतर्कता अपनाउनु पर्ने बताउनुभयो । सरकारको तर्फबाट दूधको क्षेत्रमा अलि बढी नै बढाइचढाई भएकोले उद्योगीलाई सुधारको मौका भने दिनुपर्ने उहाँको भनाइ छ । दूधमा अनावश्यक हल्ला फैलाउँदा नेपालमा उत्पादित दूध उपयोग छाड्नेतर्फ पनि उहाँले सचेत गराउनुभयो । खाने सोडाले स्वास्थ्यले खासै असर गर्दैनन् । असर गर्दैन भनेर दूधमा मिसाउनु पर्छ भन्ने होइन, उहाँले भन्नुभयो ।
मन्त्रालयले छापा मारेर सङ्कलन गरेको दूधमा मिसावट भएको प्रतिवेदन सार्वजनिक भएपछि दूध बिक्रीमा कमी आएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिनुभयो । सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि देशैभरि दूध बिक्रीमा २० प्रतिशतको कमी आएको उहाँको भनाइ छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना