लोपोन्मुख सिलङ्गा र लौटसल्लाले वन हराभरा

lothsallaबैतडी, असार २ गते । लोपोन्मुख तथा अति सङ्कटापन्न बिरुवाका प्रजाति नेपालको सिगास र ग्वाल्लेक क्षेत्रमा हराभरा अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । सिगास गाउँपालिकाको सिगासधुरा र दशरथ चन्द नगरपालिका–९ मा रहेको ग्वाल्लेकधुराको वन क्षेत्र सिलङ्गा, लौठसल्ला र हिमालयन सेतो चन्दन र जडीबुटीको भण्डारका रूपमा रहेको तथ्य जिल्ला वन कार्यालय बैतडीले सार्वजनिक गरेको हो । 

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहको पवित्र ग्वाल्लेक वन क्षेत्रमा लोपोन्मुख सिलङ्गा र समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहको सिगास धुरामा प्राकृतिक लौठसल्ला र हिमालयन सेतो चन्दनसहित बहुमूल्य जडीबुटी रहेको तथ्य सार्वजनिक भएको हो । यसै आधारमा जिल्ला वन कार्यालय बैतडीले यी दुवै वनलाई संरक्षित वन घोषणा गर्न परिषद् गठन गरेर कार्ययोजना अघि बढाएको छ ।
सिलङ्गा र प्राकृतिक लौठसल्ला लोपोन्मुख छ तर त्यसको बिरुवा बैतडीको सिगास र ग्वाल्लेकमा भेटिएको छ । यी बिरुवा नजोगाउने हो भने भोलि कतैबाट ल्याउन पनि सकिँदैन । त्यसैले संरक्षित वन घोषणा गरेका हौँ, जिल्ला वन कार्यालय बैतडीका प्रमुख वन अधिकृत प्रभात सापकोटाले भन्नुभयो ।  सिलङ्गाको रूखको पात कहिल्यै नरित्तिने र फुल्ने समयमा यसको बास्ना करिब पाँच किलोमिटरभन्दा टाढासम्म पुग्ने गरेको जिल्ला वन कार्यालय बैतडीका प्रमुख सापकोटाले बताउनुभयो । ग्वाल्लेक वनमा प्रशस्त मात्रामा सिलङ्गा पाइएको उहाँले बताउनुभयो ।
सिगासधुरामा मात्रै पाइने प्राकृतिक लौठसल्ला र हिमालयन सेतो चन्दनलगायत ४२ भन्दा बढी जडीबुटीको भण्डार नेपालमा अन्त कतै नरहेकाले सिगास संरक्षित वन घोषणा गरिएको सापकोटाले बताउनुभयो ।
प्रदेश सातकै पहिलो संरक्षित वनका रूपमा ग्वाल्लेक र सिगासधुरालाई विस्तृत खोज अनुसन्धान गरेर संरक्षित वन घोषणा गर्ने कार्ययोजना बनेको जिल्ला वन कार्यालय बैतडीले जनाएको छ । संरक्षित वन घोषणा गर्ने प्रस्ताव गर्दै जिल्ला वन कार्यालय बैतडीले सिगास गाउँपालिकाको सिगास र दशरथ चन्द नगरपालिका–९ ग्वाल्लेकमा संरक्षित वन मूल परिषद् गठन गरेको छ । दुवै संरक्षित वन क्षेत्र जङ्गल, जडीबुटी, पानीको स्रोत र धार्मिक आस्थाका हिसाबले प्रसिद्ध मानिँदै आएका छन् । सिगासमा लक्ष्मी चन्दको अध्यक्षतामा १५ सदस्यीय संरक्षित वन मूल परिषद् गठन गरेको छ भने ग्वाल्लेक केदारमा बहादुरसिंह बोहराको अध्यक्षतामा १५ सदस्यीय संरक्षित वन मूल परिषद् गठन गरेको जिल्ला वन कार्यालय बैतडीले जानकारी दिएको छ ।  मूल परिषद् गठन गरेर वन क्षेत्र जोगाउन जिल्ला वन कार्यालयबाट अधिकृतस्तरको कर्मचारी सदस्यसचिव रहने गरी कार्यालय स्थापना भएको जिल्ला वन कार्यालय बैतडीका प्रमुख सापकोटाले बताउनुभयो ।
सडक निर्माण चुनौती
संसारमै नपाइने अति सङ्कटापन्न प्रजातिका रूख बिरुवा र बहुमूल्य जडीबुटीको भण्डारका रूपमा सिगास र ग्वाल्लेक वन क्षेत्रलाई जिल्ला वन कार्यालय बैतडीले संरक्षित वन घोषणा गर्न मूल परिषद् गठन गरेर पनि संरक्षित वन क्षेत्रमै सडक निर्माण चुनौतीका रूपमा देखा परेको छ ।
जर्मन सरकारको सहयोगमा ग्वाल्लेक वन क्षेत्रबाट सडक निर्माण हुँदा भू–क्षय, चोरी सिकारी र जैविक विविधतामा असर पर्न सक्ने खतरा रहेको जिल्ला वन कार्यालय बैतडीले जनाएको छ । त्यसैगरी, घाँसका लागि स्थानीयबाट खरफागलाका नाममा हुने अतिक्रमण चुनौतीका रूपमा रहेको छ ।
सिगास गाउँपालिकाले संरक्षित वन क्षेत्रभित्र पर्ने गर्जेमा गाउँपालिका केन्द्र बनाउने गाउँसभाबाट सर्वसम्मत निर्णय गरेको छ । संरक्षित वन क्षेत्रमा सडक खन्ने कुरा उपयुक्त नहुने जिल्ला वन कार्यालय बैतडीमा प्रमुख प्रभात सापकोटा बताउनुहुन्छ ।
संरक्षित वन भनेको नै गाउँपालिकाको सम्पत्ति हो । यसबाट त्यहीका जनतालाई फाइदा पुग्छ । विस्तृत पर्यावरणीय अध्ययन नगरी जथाभावी सडक खन्दा त्यसले निम्त्याउने नकारात्मक प्रभाव अन्त होइन, त्यही पर्छ । त्यसैले गाउँपालिकाले सजगता अपनाउनु पर्छ, वन प्रमुख सापकोटाल भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना