समृद्ध नेपाल सुखी नेपाल

rc neupaneआर. सी. न्यौपाने 

समृद्धि तथा विकास बहुपक्षीय प्रक्रिया हो । विद्यमान साधन स्रोतको सही प्रयोगको अर्थ विकासलाई मानव हितसँग सम्बन्धित समग्र विषयको परिवर्तनको रूपमा बुझ्नुपर्छ, जसले मानव जीवनका बहुपक्षको हितको संरक्षण र संवद्र्धन गर्छ ।
यसै सन्दर्भमा सन् १७७९ मा आडम स्मिथले मानव विकासका सवालमा ‘इन्क्वारी इन टू द नेचर एण्ड केस अफ वेल्थ अफ नेसन’ भन्ने पुस्तक प्रकाशित गरे । प्रथम विश्वयुद्धपछि पुँजीवादको संरचनामा परिवर्तन देखा पर्न थाल्यो र उद्योग तथा सार्वजनिक उपयोगिताका प्रतिष्ठानको सामाजीकरणको अभ्यास हुन पुग्यो । एडम स्मिथको बजार अर्थतन्त्रले सामाजिक अन्तरविरोधको उचित समाधान गरी विकासको आयाम पक्क्रिन सकेन । १९ औँ शताब्दीको मध्यबाट पुँजीवादको विकल्पको रूपमा समाजवादी विचारको बहस आरम्भ हुन पुग्यो । कार्ल माक्र्सले विशेष गरेर समाजको गहिरो अन्वेषण गरी मानव मुक्तिको अचुक अस्त्र आफ्नो ‘दास क्यापिटल’ (पुँजी) नामक पुस्तकमा समाजवादको वैज्ञानिक व्याख्या गरी विश्व जगत्लाई सत्य विकासको नयाँ सूत्र सुम्पिए । माक्र्सको यस आविष्कार तथा माक्र्सवाद र समाजवादबाट पुँजीवादलाई बढी हैरानी, बेचैनी हुँदै आएको छ । यस आविष्कारवाट माक्र्स आधुनिक समाजवादका पिताको रूपमा चिरपरिचित छन् ।
प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध पछि संसारमा नयाँ नयाँ आयाम थपिए । दुनियाँको विकासको सवालमा परम्परागत मान्यतालाई क्रमभङ्ग गर्दै विकासका नयाँ अवधारणा अगाडि आए । सन् १९८० को दशकबाट विकासको तरिकामा परिवर्तन ल्याई पिछडिएको वर्ग समुदाय केन्द्रित विकास कार्यक्रम ल्याएर विकासमा जनपरिचालनको विधि अवलम्बन हुन पुग्यो । यसलाई जनता केन्द्रित रणनीति पनि भनिन्छ । सन् १९९० देखि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले मानवीय आयु, प्रौढ शिक्षा र प्रतिव्यक्ति आयलाई मुख्य आधार बनाई अनुसन्धान गरी विश्वस्तरीय प्रतिवेदन हरेक वर्षमा प्रकाशित गर्दै आइरहेको छ । तर यी प्रयास अन्तरवस्तुका रूपमा नभएर सतही प्रपोगण्डामा सीमित हुन पुगेको सत्यलाई पनि कसैले लुकाएर लुक्न सक्दैन ।
नेपालमा विकास प्राचीनकालदेखि आफ्नो सापेक्षतामा अगाडि बढ्दै आएको देखिन्छ । किरातदेखि बहुदलीय कालखसम्म– सबै कालखण्डका राज्य व्यवस्थाले नयाँनयाँ विकासका आयाम पस्किनै रहे । तर शासन व्यवस्था, विकास अवधारणा जति परिवर्तन भए पनि अझै पनि नेपाली जनता गरिबीको दुश्चक्रमा प्रताडित छन् । प्राकृतिक प्रकोपको चपेटामा छन् । राज्यबाट पाउनुपर्ने सुविधाबाट वञ्चित, बेरोजगार, शिक्षा स्वास्थ्योपचार र आवासवाट वञ्चित, अभावै अभावबाट ग्रसित जिन्दगी बिताएको जनताको ठूलो पङ्क्ति विकासको आशामा प्रतिक्षारत छ । त्यही आशाप्राप्तिका मार्ग समाजबादीउन्मुख अर्थतन्त्र अपनाउने भनी नेपालको संविधान २०७२ ले स्पष्टतः उल्लेख गरेको छ । समाजवादप्रति निष्ठा राख्ने अहिले वाम जनमतको प्रतिनिधि नेकपा नेतृत्वको सरकार छ । स्थानीय, प्रदेश, सङ्घ तीनै तहमा बहुमत प्राप्त परिवर्तनकारी शक्ति नेकपाका नेता केपी ओली नेतृत्व सरकारबाट जनताले समृद्धि तथा विकासको अपेक्षा राखेका छन् ।
वर्तमान सरकारको महìवपूर्ण कार्यभार गरिबीको दुश्चक्रबाट जनतालाई मुक्ति दिलाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउनु हो । निकै ठूलो समस्याको रूपमा रहेको गरिबी निवारण असम्भव कुरा भने होइन । यही कार्यभार पूरा गर्न ओली नेतृत्वको नेपाल सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको सैद्धान्तिक आधारभित्र २०७५ जेठ १५ गते आ.व. २०७५÷०७६ को बजेट भाषण सम्पन्न भएको छ । संविधान लक्षित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा केन्द्रित रहेर आमूल परिवर्तनको सङ्खघोष गर्न उक्त बजेटमा उचित कार्यक्रम योजना सम्प्रेषित हुनु सुखद पक्ष हो ।
बजेटको केन्द्रीकरण मूल रूपमा सिँचाइ, स्थल यातायातको भौतिक पूर्वाधार विशेष रूपमा प्रवाहित हुन पुगेको छ । यसले विकासको नयाँ मोडेल आत्मसात गर्दै पूर्ववर्ती बजेटका अभ्यासलाई पनि आवश्यकताको सिद्धान्तअनुसार निरन्तरता दिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, ज्येष्ठ नागरिकको समाजिक सुरक्षा, अशक्त असायको भरणपोषण, कृषि, वन तथा वातावरण, सडक रेल पूर्वाधार, कला साहित्य संस्कृति, ऊर्जा विकास, लगानी प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र सुशासन आदि क्षेत्रको विकासमा बजेटले सम्बोधन गरेको छ । राजनीतिक लक्ष्य समाजवाद प्राप्तिको दिशामा कार्यनीतिक चातुर्यता यस बजेटमा स्पष्ट देख्न सकिन्छ । राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता हाम्रो प्राण हो, यसको रक्षा समाजवादले मात्र गर्न सक्छ । समाजवादका लागि नेकपा तथा सरकारको कार्यदिशा सुस्पष्ट हुन आवश्यक छ ।
अब समृद्धिको सपना साकार पार्न आम जनतालाई राष्ट्रिय एकताको डोरीमा बाँध्न सक्नुपर्छ । यसका लागि आर्थिक विकासमा केन्द्रित भई जनपक्षीय, सर्वपक्षीय, सुनियोजित र उचित दिगो विकासलाई विशेष ध्यान दिई कार्य सम्पादनमा विलम्ब गर्नु हुँदैन । कठिन श्रमको माध्यमबाट पूरा गर्न नसकिने कुनै कुरा छैन । जनपक्षीय नीति कम्युनिष्ट सरकारको जीवनधारा र मौलिक कार्यसिद्धान्त हो, यसको अबलम्बनबाट मात्र मुलुकको समृद्धि सम्भव हुन्छ । त्यसैले शासकीय कलालाई अविचलित रूपमा सुधार गर्नुपर्छ । जनताका आकांक्षाप्रति सरकार जिम्मेवार बनी तिनीहरूको भावनाप्रति उत्तरदायी बन्नुपर्छ । जनताले इतिहास निर्माण गर्छन् र कर्मले भविष्य सिर्जना गर्छ । शासन व्यवस्था र क्षमतालाई आधुनीकरण गर्दै लोकल्याणको क्षेत्रमा निरन्तर क्रियाशील हुनसके संविधान र बजेटले दिशा निर्देश गरेको समृद्ध राष्ट्र र सुखी नेपालीको सपना साकार हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना