आर्थिक विकास र काँग्रेस

shib kumar bhattaraiशिवकुमार भट्टराई

 

संसार यतिखेर विश्व कप फुटबलको ज्वरोमा छ । फुटबलको महाकुम्भ रुसमा भइरहेको छ । अहिलेसम्म यही टिमले अन्तिम बाजी मार्ला भनेर एकीन गर्न सकिने अवस्था देखिएको छैन । खेल एक महिना जारी रहनेछ । नेपालको हैसियत यस्ता महाकुम्भमा प्रतिस्पर्धीका रूपमा उत्रने बनिसकेको छैन । आगामी केही दशक त्यस्तो कुनै सम्भावना पनि देखिँदैन । तर जारी विश्व कपको ज्वरोले नेपाली दर्शकलाई भने गज्जबले गाँजेको छ । नेपाली दर्शक पनि विभिन्न देशका टिमको पक्षमा देखिएका छन् । अझ युवा जमात त आफूले समर्थन गर्ने टिमको जर्सी नै लगाएर मोह र आकर्षण प्रदर्शन गरिरहेका छन् । यो क्रम आउने करिव तीन साता अझै रौनकमय हुनेछ ।
सर्वसाधारण विश्व कप फुटबलको रौनकमा छन् भने राजनीतिकर्मी आफ्नो क्षेत्रमा क्रियाशील छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी समृद्ध नेपाल निर्माणको अभियानमा आफूलाई सम्पूर्ण रूपले समर्पित गरेको दावा गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर विश्वकै दोस्रो ठूलो शक्तिका रूपमा उदाएको उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्दै बलियो अर्थतन्त्र स्थापनाका लागि यो भ्रमण फलदायी हुने विश्वास गरिएको छ । दोस्रोपटक प्रधानमन्त्री हुनुभएका ओलीले पछिल्लो कार्यकालमा चीनबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्ने अनुमान गरिएको थियो । तर यस्तो अवस्था निर्माण हुन सकेन । प्रधानमन्त्री भएलगत्तै ओली भारत भ्रमणमा निस्कनु भएको थियो । तीन वर्षअघि भारतीय पक्षबाट गरिएको अघोषित नाकाबन्दीले छियाछिया परेको नेपाली मन बुझाउन ओलीको भ्रमण ‘आइस ब्रेकिङ’ को अवस्थामा रह्यो । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको धार्मिक भ्रमणले सम्बन्ध सामान्यीकरणका लागि थप बल पुगेको छ । यद्यपि नेपाली मनमा रहेको तुष भने मेटिएको चाहिँ छैन । यो पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको चीन यात्रा अर्थपूर्ण रहेको छ ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिन फिङसँग बुधबार बेइजिङमा भेट गर्नुभयो । द्विपक्षीय सम्बन्धलाई नयाँ उँचाइमा पु¥याउन यो भेट फलदायी भएको छ । चिनियाँ राष्ट्रपतिले नेपालको विकास अभियानमा आफ्नो देश सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । अब छिट्टै चिनियाँ रेल काठमाडौँ पुग्ने उहाँले प्रष्ट पार्नु भएको छ । यसले दुवै देशलाई रेलमार्गबाट जोड्न सहज हुनेछ । साथै व्यापार विस्तारमा समेत यो फलदायी हुने आम अपेक्षा रहेको छ । तर यसका लागि आवश्यक पूर्वाधारको सन्दर्भमा भने खासै काम भइसकेको छैन । साथै दुवै देशले विभिन्न आठवटा परियोजना सञ्चालन गर्न समझदारी कायम भएको छ । नेपालको आर्थिक समृद्धिमा यसले धेरथोर भए पनि बल पुग्नेछ ।
उता, प्रमुख प्रतिपक्षको हैसियतमा खुम्चिएको नेपाली काँग्रेस भने आफू आफैँ सत्तोसराप गरेर थाकेका छैनन् । हेटौँडामा विहीबार सम्पन्न जिल्ला सभापतिको तीन दिने भेलाले समेत पार्टीलाई एकताबद्ध गर्ने सन्देश दिन सकेन । चुनाव हारेपछि सम्पन्न जिल्ला सभापति भेलामा नेतृत्व तहबाट विगतका गल्ती स्वीकार गरी आगामी दिन एक ढिक्का हुने प्रतिबद्धता आउने आमअपेक्षा थियो । तर भेलामा संस्थापन पक्षबाट देखाइएको रबैयाले सबैलाई निराश बनाएको प्रतिक्रिया आएको छ । आफू विरोधी नेतालाई बोल्नसमेत नदिने निर्मम निर्णय गरियो । यो काम कसको सल्लाहमा गरियो, त्यो बुझिएन । तर परिणाम भने राम्रो आएन । आफू सरहका नेताको मान मर्दन गर्ने रणनीति बनाएर पार्टी एकताको कुरा गर्नु भनेको गोहीले आँसु झार्नु जस्तो हो – जिल्ला सभापति नै यसो भन्छन् ।
भेलामा संस्थापन पक्षले देखाएको शैली र प्रवृत्तिले काँग्रेसको भविष्य थप ध्वस्त बनाएको धेरैको आरोप छ । पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र अर्जुन नरसिंह के.सी.ले भेला वहिष्कार गर्नु परेको खबर सार्वजनिक भएको छ । आफ्नो विरोधमा बोल्नेलाई ठेगान लगाउने अभिप्रायले बोल्नबाट समेत वञ्चित गरिएको छ । राष्ट्रिय राजनीतिमा मरिचझैँ चाउरिएको भूमिकामा पुगेको काँग्रेसको भविष्य नै सङ्कटमा परेका बेला यो प्रवृत्ति थप पीडादायी बन्न पुगेको छ । मुखले पार्टी एकताको राग अलाप्ने नेतृत्व व्यवहारमा भने थप गुटप्रिय बन्न थालेको अनुभूति भएको छ । नेपाली काँग्रेसको नेतृत्व तहको यो शैली र प्रवृत्तिले पार्टीलाई प्रजा परिषद् बनाउने त हैन भनेर धेरैले चिन्ता प्रकट गरेका छन् ।
नेपाली काँग्रेसलाई जोगाउन र पुरानो अवस्थामा फर्काउन बोली हैन व्यवहारले मात्र सम्भव छ । सभापति शेरबहादुर देउवा या वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र होइन तेस्रो धारको नेतृत्व गर्न तम्सिनुभएका कृष्णप्रसाद सिटौलासमेत गुटबाट माथि उठ्न सकेको अवस्था छैन । विगतमा भएका तीनवटै तहका निर्वाचनमा नेपाली काँग्रेस नराम्ररी पराजित भएको हो । यसमा नेतृत्व तहले कहिल्यै आफूलाई दोषी देखेन । केवल पार्टी सभापति मात्र यसका दोषी भनेर पन्छने प्रयास गरिएको छ । सिङ्गो नेतृत्व तह यसका लागि भागिदार हुनुपर्छ भन्ने कुरा नाजायज होइन । सभापति लगायत सबै नेताले हारको जिम्मेवारी लिएर पद त्याग गर्न सक्नुपथ्र्याे । त्यो उच्च नैतिकता कसैले देखाएन । त्यसैले गर्दा अहिले पनि पार्टीभित्र गुटको राजनीति हावी भइरहेको छ । गुटगत राजनीति त्याग्ने साहस गर्ने हो भने रामचन्द्र पौडेलले तत्काल पहल गर्दा के फरक पर्छ ? वा सिटौला अग्रसर भए के बिग्रन्थ्यो
त ? तर यसको आवश्यकता कसैले बोध गरेको देखिँदैन । त्यसैको पछिल्लो शृङ्खलाका रूपमा हेटौँडा भेला मञ्चन भएको छ ।
भेलाको प्रारम्भमै केही युवा नेताहरूले आठ बुँदे आग्रह प्रस्तुत गरे । ती नेताहरूले काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने सङ्कल्पका साथ यस्तो आग्रह गरेका थिए । सङ्गठनलाई चुस्त र प्रभावकारी बनाउन सबैले त्याग गर्न सक्नुपर्छ भन्ने उनीहरूको भावना गलत थिएन । तर यसको सुनुवाई भएन । जबसम्म अहिलेको नेतृत्वले काँग्रेसलाई हाँक्ने मौका पाउँछ तबसम्म पार्टीमा सुधारको सम्भावना देखिँदैन । यो नेतृत्वले विगतमा धेरै मौका पाएको हो । पञ्चायत कालमा गरेको दुःख र भोगेको कष्टको सावाँ ब्याज खाइसकेका नेताले अब विश्राम लिनु जरुरी छ ।
समय सापेक्ष र परिस्थितिबमोजिमको रणनीति नलिने हो भने युद्ध जित्न सकिन्न । अब काँग्रेसले लड्ने भिड्ने भनेको सामान्य शक्ति होइन एकीकृत कम्युनिष्ट शक्तिसँग हो । काँग्रेसको वर्तमान नेतृत्वले एकीकृत कम्युनिष्ट शक्तिसँग कुनै पनि कोणबाट मुकाबिला गर्न सक्ने अवस्था छैन । समय परिस्थितिबमोजिम चल्न सक्ने ल्याकत भएको शक्तिसँग अहिलेको भुत्ते नेतृत्वले काँग्रेसलाई विजय गराउन सक्दैन । त्यसैले पनि शीघ्रातिशीघ्र अहिले नेतृत्व गर्ने तहलाई पार्टीको अभिभावकीय भूमिकामा थन्क्याउन सक्नुपर्छ । यसको पहल पनि स्वयं काँग्रेसी कार्यकर्ताले नै गर्ने हो ।
प्रतिपक्ष काँग्रेसको अवस्थामा भए पनि समग्रमा हेर्दा मुलुक राजनीतिक स्थिरतातिर लम्केको छ । कुनै पार्टी विशेषको भूमिका कस्तो हुने भन्ने स्वयं पार्टी नेतृत्वले सोच्ने कुरा हो । आम नागरिकको चाहना भने आर्थिक समृद्धि नै हो । यो समृद्धि मात्र राजनीतिक स्थिरतामा मात्र सम्भव छ । वर्तमान सरकार सामान्य बहुमतभन्दा माथिको हैसियतमा रहेको छ । दुई तिहाइ समर्थन रहेको सरकारका लागि कुनै निर्णय गर्न कुनै अवरोध हुने कुरै भएन । तर सरकारले आम नागरिकको अपेक्षा र चाहनाबमोजिम अर्थात् महसुस गर्ने गरी कुनै काम गरिहालेको छैन । सपना भने धेरै देखाइएको छ । तर त्यसलाई यथार्थमा परिणत गर्न भने सकिरहेको अवस्था छैन । प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि यो दिशामा सरकारले ठोस काम गर्ला भन्ने आशा भने अझै कायमै छ । अहिले देशका लागि केही भएन भने पछि केही होला भन्ने अवस्था छैन । बलियो सरकारले गर्ने निर्णय र अपनाउने नीति कार्यक्रम नै मुलुकलाई समृद्धितर्फ लैजाने मुख्य आधार हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना