बढ्दो वायु प्रदूषणको जोखिम

Krishna Adhikariकृष्ण अधिकारी

 

नेपाल वायु प्रदूषणको उच्च जोखिममा रहेका मुलुकहरूको सूचीको अग्रस्थानमा छ । यहाँको हावामा हानिकारक कणहरूको मात्रा निकै छ । नेपालमा अन्य कारणले अल्पायुमा मृत्यु हुनेको सङ्ख्याभन्दा वायु प्रदूषणबाट हुने मृत्युको सङ्ख्या बढी छ । ‘ग्लोबल बर्डेन अफ डिजिज २०१६’ को प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषणबाट हरेक वर्ष ३५ हजार मानिसको अकालमै मृत्यु भइरहेको छ । संसारभर ७० लाख मानिस अल्पायुमैै मर्छन्, लाखौँ मानिस अनेक रोगबाट ग्रसित बन्ने गर्छन् । वायु प्रदूषण हुन नदिनु भनेको स्वास्थ्यमा सुधार ल्याउनु हो । 

नेपालमा वायु प्रदूषण एक प्रमुख वातावरणीय समस्या मात्रै नभएर यो एक सामाजिक समस्या पनि हो । यसले हाम्रा आर्थिक र सामाजिक विकास लक्ष्यलाई पनि नै चुनौती दिँदैछ । कुनै पनि खालको वायु प्रदूषण जतिसुकै मात्रामा भए पनि मानिसको स्वास्थ्यलाई हानि नै पु¥याउँछ । वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा वयस्कको प्रजनन क्षमतासमेत ह्रास गराउँछ । विश्व स्वास्थ्य सङ्गठनको अनुसार कुनै पनि खालको वायु प्रदूषणले क्यान्सरको सम्भावनालाई बढाउने गर्छ । वायु प्रदूषणबाट एक करोड १० दश लाख मेट्रिक टन गहुँ, धान, मकै र भटमासको उत्पादनमा ह्रास गर्ने हुँदा यसलाई नियन्त्रण गर्ने हो भने दुई करोड ५० लाख मानिसलाई अकालमै मर्नबाट बचाउन सकिन्छ ।
नेपाल विश्वव्यापी जलवायु परिवर्तन र वायु प्रदूषणको दोहोरो मारमा परेको छ । जलवायु परिवर्तनबाट बढी प्रभावित भएर पनि त्यसबाट कसरी बच्ने भन्ने तयारी निकै कम छ । २००८ देखि २०१६ सम्म हेर्दा नेपालको वायुमण्डलमा धूलो धूवाँको मात्रा क्रमशः बढ्दै गएको छ । समग्र तराई–मधेश प्रदूषित छ । शहरी क्षेत्रमा मात्र नभई जोमसोम, धुन्चे, लाङटाङ, नाम्चेजस्ता हिमाली क्षेत्रमा पनि यो समस्या टड्कारो रूपमा देखिएको छ । विश्व बैङ्कको प्रतिवेदनले नेपालको कुल गार्हस्थ्य उत्पादनको ४ दशमलव ६ प्रतिशत वायु प्रदूषणका कारण हुने बिमारी र रोगको उपचारमा खर्च हुन्छ । यो हाम्रो अर्थतन्त्रका लागि ठूलो रकम हो ।
भौगोलिक बनोटले गर्दा काठमाडौँ उपत्यकाभित्र वायु प्रदूषण लामो समयसम्म रहन्छ । यसको स्रोत र प्रभाव मुख्यतः स्थानीयखालका छन् । काठमाडौँ उपत्यकाको हावामा पिएम २ दशमलव ५ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा पाँच गुणा बढी छ । सवारी साधनको चाप बढी हुने मुख्य चोकहरूमा त यो २० औंँ गुणा बढी पाइन्छ । यसैगरी ओजोन पनि वर्षमा तीन महिना सङ्गठनको मापदण्डभन्दा बढी पाइएको छ भने नगरकोटमा त छ महिनासम्म नै त्यो अवस्था रहने गर्छ ।
काठमाडौँमा वायु पश्चिमबाट नागढुङ्गा, भीमढुङ्गा, मुड्कुभञ्ज्याङ र दक्षिणतर्फ बागमती किनारबाट आउँछ भने यहाँबाट नगरकोट र साँगा हुँदै वायु निस्कने भएकाले त्यो प्रदूषित वायुबाट पूर्वतर्फ बढी प्रदूषित गर्छ । उपत्यकाको वायुमा रहेको प्रदूषण हिउँदमा १६ देखि १८ घण्टासम्म जमिनबाट २५० देखि ३०० मिटरभन्दा माथि उठ्न सकेको पाइँदैन । काठमाडौँमा दिनको सरदर १२ बजेपछि मात्रै हावा चल्छ । दक्षिणबाट आउने हावालाई पश्चिमी वायुले थिच्छ र त्यहीँको वायुमण्डलमा थिचिएर लामो समयसम्म रहन्छ । नौबीसे र हेटौँडाका सिमेन्ट उद्योगबाट निस्कने धूलोधूवाँ समेत काठमाडौँसम्म आइपुग्छ । काठमाडौँका वायु प्रदूषणमुक्त गर्ने हो भने वरपरका जिल्लामा पनि प्रदूषण हुन दिनुहुँदैन ।
काठमाडौँ उपत्यकाको वायुको गुणस्तरसम्बन्धी वातावरणविद् डा. महेश्वर रूपाखेतीसहितको एक टोलीले गरेको अध्ययनले प्रदूषित वायु मध्याह्नपछि मात्रै घट्ने गरेको देखाएको छ । मध्यान्हसँगै तातेर हलुँगो भएपछि मात्रै त्यो वायु बिस्तारै नगरकोटतिर लाग्ने र त्यहाँबाट बाहिरिने गरेको अध्ययनले देखाएको छ । जाडोयाममा चिसो बढी हुने भएकाले ताप्ने प्रयोजनका लागि बिहान र साँझको समयमा फोहोर बढी बालिने गर्छ । त्यही समयमा चिसो बढी हुने भएकाले निस्केको धूवाँ उपत्यकाबाट बाहिरिन धेरै समय लाग्ने विज्ञ बताउँछन् । साँझ आगो बाल्दा रातभर र बिहान बाल्दा मध्याह्नसम्म सतहमै धूवाँ रहिरहन्छ, जुन श्वासप्रश्वासका क्रममा सीधै फोक्सोसम्मै पुग्छ ।
अध्ययनका क्रममा काठमाडौँको हावामा क्यान्सर निम्त्याउन सक्ने पोली एरोम्याटिक हाइड्रोकार्बनको मात्रा संसारमै प्रदूषित भनेर चर्चा बटुलेका बेइजिङ र नयाँदिल्लीजस्ता शहरको हाराहारी पाइएको थियो । पिएम २ दशमलव ५, ओजोन र नाइट्रोजन अक्साइडले श्वासप्रश्वास, मुटुको रोगलगायत क्यान्सरसमेत हुन सक्ने विज्ञहरूको भनाइ छ । अध्ययनका क्रममा काठमाडौँको हावामा क्यान्सर निम्त्याउन सक्ने यी र पोली एरोम्याटिक हाइड्रोकार्बनको मात्रा पनि धेरै पाइयो । काठमाडौँ त्यसमा पनि नगरकोट क्षेत्रमा ओजोनको मात्रा धेरै पाइयो । ओजोनले मानिसलाई मात्र नभई बालीनालीमा पनि असर पु¥याउने गर्छ ।
वातावरणीय प्रदूषण कम गर्न स्वच्छ वायुसम्बन्धी अलग्गै ऐन खाँचो पर्छ । युरोप, उत्तरअमेरिकालगायतका देशमा ६० को दशकमा स्वच्छ वायु ऐन लागू गरिएको थियो । ऐन कार्यान्वयन भई वातावरण अहिलेको अवस्थामा आउन ४०–५० वर्ष लाग्यो । अहिले पनि कहिलेकाहीँ प्रदूषणको मात्रा मापदण्डभन्दा बढी हुन्छ । कुन स्रोतबाट कतिबेला कस्तो खालको प्रदूषण कति निस्कन्छ भन्ने वैज्ञानिक तथ्य पत्ता लगाउनुपर्छ । यहाँ वायु प्रदूषण हुने धेरै स्रोत छन् । इँटाभट्टाहरूबाट, घरबाट निस्कने फोहर तथा खेतबारीमा घरबाट निस्कने बाल्दा निस्कने धूवाँ, सवारी साधनबाट निस्कने धूवाँले काठमाडौँलाई प्रदूषित बनाएका छन् । पिएम १० प्रदूषणको झन्डै ६० प्रतिशत हिस्सा सवारीसाधनसँग सम्बन्धित छ ।
नेपाल मात्र होइन, गङ्गा नदी वरिपरिको क्षेत्र (पाकिस्तानदेखि भारत, नेपाल हुँदै बङ्लादेशसम्म) बढी जनसङ्ख्या र जनघनत्व भएको ठाउँ हो । यहाँ राम्रो उत्पादन हुने, उद्योगधन्दा धेरै भएको र प्रदूषणको मात्रा पनि बढी नै पाइन्छ । त्यसको असर नेपालमा बढी परेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र ओइसिडीको २०१६ को प्रतिवेदनका अनुसार दक्षिण एसियामा २०४० सम्म प्रदूषण बढ्ने क्रम रोकिने छैन । चीनले हरित विकास अवधारणालाई उच्च प्राथमिकता दिएका कारण प्रदूषणको मात्रा कम गर्दै लगेको छ । अहिलेकै नीति र व्यवहार निरन्तर हुने हो भने दक्षिण एसियामा अझै दुई तीन दशकसम्म प्रदूषणको मात्रा बढ्दै जानेछ ।
वायु प्रदूषणको समस्याबाट मुक्त हुन अब न्यून कार्बन अर्थतन्त्रमा जानुको विकल्प छैन । यसमा जलवायु परिवर्तनको अनुकूलन र वायु प्रदूषणको न्यूनीकरणले सहयोग गर्छ । खनिज ऊर्जामा परनिर्भरता बढाउने होइन कि हाम्रो जलविद्युत् उत्पादन र प्रयोगलाई बढाउनुपर्छ । दीर्घकालीन रूपमा हरितगृह ग्यासको उत्सर्जन र तत्कालीन रूपमा वायु प्रदूषण नियन्त्रणलाई सँगसँगै लैजानु पर्ने वैज्ञानिकहरूको तर्क छ । यसो भएमा छोटो समयमै वायु प्रदूषणसँगै जलवायु परिवर्तनलाई घटाउन सकिन्छ ।
विश्वमा खासगरी वायु प्रदूषणबाट बढी प्रभावित रहेका मुलुकमा १०–१२ वटा वायु प्रदूषण नियन्त्रण गर्ने उपाय अपनाउने हो भने २०५० सम्म शूल्य दशमलव ५ डिग्री सेल्सियस तापक्रम घटाउन सकिन्छ । यससँगै मनसुन प्रणालीमा आएको फेरबदललाई नियन्त्रण गर्न र हिमगलन हुनबाट रोक्न सकिन्छ । यसले अनेक आर्थिक फाइदा पनि पाउन सकिन्छ । नेपाल जलवायु तथा स्वच्छ वायु संयन्त्र (सिसिएसी) को अझै सदस्य बनेको छैन । बङ्गलादेश, क्यानडा, घाना, अमेरिका, स्वीडेन र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले यसको स्थापना गरेका हुन् । यसको सदस्यता लिंदा वायु प्रदूषण नियन्त्रणको लागि विभिन्न सहयोग पाउन सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना