पेट्रोलियम भण्डारण क्षमता विस्तारले गति लिएन


लक्ष्मण दर्नाल

काठमाडौँ, असार ८ गते । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तारले गति लिन सकेको छैन । दुई वर्षदेखि जग्गा छनोट र खरिदमै सरकार अल्झिएको छ । खरिद गरिएका जग्गा पनि बेवारिसे बन्न थालेका छन् । निर्माणको कुनै प्रक्रिया अघि बढेको छैन ।
भण्डारण निर्माणका लागि सात प्रदेशमा जग्गा खरिद गरेको नेपाल आयल निगम अनियमितताको छानबिनमा परेपछि सुस्ताएको हो । प्रदेश सरकारसँगको समन्वयमा काम गर्नुपर्ने भएकाले केही प्रदेशमा जग्गा प्राप्ति हुन
सकिरहेको छैन ।
प्रदेश १ को झापा, २ को सर्लाही, ३ को चितवन र ५ को भैरहवामा जग्गाको खरिद गरिएको छ । अन्य प्रदेशमा जग्गाको टुङ्गो लागेको छैन तर के कसरी काम गर्ने भन्ने कुरामा भने छलफल भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । Nepal-Oil
झापा र सर्लाहीमा २० बिघा तथा चितवनमा २२ बिघा जग्गा खरिद भएको एक वर्ष भइसक्यो । निगम झापामा ८० हजार किलोलिटर, विराटनगरमा थप १० हजार, सर्लाहीमा ३० हजार, अमलेखगञ्जमा थप १० हजार, चितवनमा ८० हजार किलोलिटर सञ्चित भण्डारण क्षमता पु¥याउने योजनामा छ । नुवाकोटमा ५८ हजार, ललितपुरमा ८० हजार, गोर्खामा ३३ हजार, भैरहवामा ९० हजार, दाङमा ११ हजार, सुर्खेतमा छ हजार, धनगढीमा २२ हजार क्षमताको सञ्चित भण्डारण गर्ने योजना छ ।
प्रदेश ३ मा दुईवटा भण्डार निर्माण गरिने योजना छ तर अहिलेसम्म जग्गाको टुङ्गो लागेको छैन । काभ्रेको पाँचखालमा भण्डारण निर्माण गर्ने भनिए पनि हाल ललितपुरको छम्पीमा बनाउने टुङ्गो भएको छ जग्गा खरिद प्रक्रिया भने अघि बढेको छैन । नुवाकोटको बट्टारमा उपयुक्त जग्गा हेरिएको तर खरिद गर्न बाँकी रहेको निगमले जनाएको छ । गोरखामा गोरखकाली रबर उद्योगसँगै जोडिएको जमिन भेटिए पनि खरिद प्रक्रिया अघि बढेको छैन । प्रदेश ६ र ७ मा जग्गाको टुङ्गो लागेको छैन ।
निर्माण कार्यका लागि योजना र बजेटको कुनै योजना तयार भएको छैन । निगम आफै अन्योलमा रहेको छ । चीनको सहयोगमा प्रदेश ३ मा पेट्रोलियम पदार्थ भण्डारको निर्माण गरिने चर्चा थियो । भण्डारण निर्माणका लागि चीनको सहयोग लिने एजेन्डा हाल भइरहेको प्रधानमन्त्रीको भ्रमणको एजेन्डा रहेको आपूर्ति मन्त्रालयले जनाएको छ ।
निगमका अनुसार ८० हजार किलोलिटर भण्डारण क्षमताको ट्याङ्की निर्माण गर्न चार अर्ब रुपियाँ लाग्छ । निगमले आफ्नो नाफाबाटै वर्षको तीनवटा भण्डारण बनाउन सक्ने निमित्त कार्यकारी निर्देशक भट््टराईले बताउनुभयो । उहाँले भन्नुभयो, कसरी बनाउने भन्ने कुरामा छलफल भएको छ, छानबिन लगायतका कुराले पनि ढिलाइ भएको हो अब ढिलाइ हुँदैन । उहाँका अनुसार एलपी ग्यासको भण्डारण पनि उत्तिकै जरुरी रहेको छ ।
निगमले लक्ष्यअनुसार भण्डारण क्षमताको वृद्धि गरेपछि नेपाललाई तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थको सञ्चित हुनेछ । हाल नेपालमा करिब ७० हजार किलोलिटर मात्र भण्डार क्षमता छ भने सातै प्रदेशमा भण्डारण निर्माण भइसकेपछि पाँच लाख ३० हजार किलोलिटर भण्डारण क्षमता हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना