व्यावसायिक खेतीबाट कृषक लाभान्वित


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असार ११ गते । आधुनिक खेती प्रणालीका लागि आवश्यक सीप, प्रविधि, पूर्वाधार तथा आर्थिक सहयोग भएपछि कैलालीका सयौँ किसान व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । विश्व बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कृषि कार्यक्रमबाट किसानलाई आधुनिक खेती प्रणाली गर्न सीप, तालिम, औजार, उन्नत बीउ बिजन, जैविक विषादी उत्पादन तथा प्रयोग विधि र भण्डारणलगायतका कुरा सहज प्रदान भएपछि त्यस क्षेत्रका किसान व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् ।
आयोजनाको कृषि क्षेत्र संयोजक कुलप्रसाद तिवारीका अनुसार आयोजनाको पहिलो चरण कार्यक्रम अन्तर्गत टीकापुर क्षेत्रमा ९५० हेक्टर क्षेत्रमा धान र गहुँको उन्नत बीउ बिजन उत्पादन गरिएको छ । सो उन्नत बीउ बिजन बिक्रीबाट किसानले छ करोड रुपियाँभन्दा बढी आम्दानी गरेका छन् । उन्नत बीउ हालको प्रदेश ७ का तराई र पहाडी जिल्ला, प्रदेश ५ र कर्णाली प्रदेशमा बिक्री वितरण गरिएको छ । विभिन्न सातवटा सहकारीमार्फत बीउ बिजन उत्पादन कार्यक्रमलाई सञ्चालन गरिएको संयोजक तिवारीले बताउनुभयो । banana_1
उन्नत बीउ प्रयोग गरेर खेती गर्दा परम्परागत खेतीभन्दा झण्डै एक तिहाई उत्पादकत्वमा वृद्धि हुने अध्ययनले देखाएको छ । विश्व बैङ्कको ऋण लगानीमा सञ्चालित यो आयोजनाको उपलब्धि अध्ययन गर्दा विगतमा प्रतिहेक्टर तीन मेट्रिक टन उत्पादन हुने गरेकोमा हाल औसत ४.५ मेट्रिक टन उत्पादन भएको देखिएको छ ।
त्यसैगरी, आयोजनाले टीकापुर क्षेत्रलाई केरा जोनका रूपमा विकसित गर्न कार्यक्रम सञ्चालन गरिरहेको छ । बढी उत्पादन हुने केराको टिस्यु कल्चर प्रविधिबाट बिरुवाको विकास गरी किसानलाई अनुदान प्रदान गर्दै आएको छ । केरामा सिँचाइका लागि थोपा सिँचाइ प्रविधि विकास गर्न र किसानले सघन रोपाइँ प्रणाली अवलम्बन गर्न सहयोग प्रदान गरेको जनाइएको छ ।
परम्परागत तरिकाले केरा खेती गर्दा प्रतिहेक्टर मुस्किलले दुई हजार पाँच सय बोट लगाउन सकिने गरेको भए पनि सघन रोपाइँ प्रणालीका माध्यमबाट प्रतिहेक्टर तीन हजार छ सय बोट किसानले लगाउँदै आएका छन् । पहिलो चरणमा केरा खेती २५० हेक्टरमा लगाएर आठ हजार ६०० मेट्रिक टन उत्पादनबाट नौ करोड रुपियाँभन्दा बढीको केरा बिक्री भएको आयोजनाले जनाएको छ । आधुनिक प्रणालीबाट केरा खेती गर्दा प्रतिघरी कम्तीमा २० देखि बढीमा ३० दर्जनसम्म उत्पादन सकिएको केरा किसान कृष्ण रावलले बताउनुभयो । उहाँका अनुसार परम्परागत तरिकाले केरा खेती गर्दा प्रतिघरी बढीमा १२ दर्जन जति केरा उत्पादन हुने गरेको थियो ।
त्यसैगरी, रासायनिक विषादी मलको प्रयोगलाई निरुत्साहित गर्न जैविक विषादी उत्पादन, प्रयोग विधिबारे सिकाउन किसान पाठशाला सञ्चालन गरिएको छ । अहिले विशेष गरी तरकारी किसानहरूले विषादी मलको प्रयोगलाई बढाएको र बजारमा अर्गानिक तरकारीको मूल्य बढी मात्रामा पाउने गरिएको अर्का किसान खुसीराम चौधरीले बताउनुभयो ।
विश्व बैङ्कले गरेको मध्यावधि मूल्याङ्कन अध्ययन प्रतिवेदनमा रासायनिक मलको प्रयोगमा २५ प्रतिशत कमी आएको देखाइएको छ । धान गहुँ बालीभन्दा तरकारी बालीबाट बढी फाइदा हुन थालेपछि आयोजनाले टीकापुर क्षेत्रमा ४१० हेक्टर जमिनमा तरकारी खेती विस्तार भएको जनाएको छ । पहिलो चरणमा यहाँका किसानले सात हजार मेट्रिन टन तरकारी उत्पादन गरी कम्तीमा आठ करोड रुपियाँ आम्दानी गरेको आयोजनाले जनाएको छ ।
संयोजक तिवारीले भन्नुभयो, तरकारी उत्पादन गरेर मात्र किसानले उचित मूल्य नपाउने भएकाले टीकापुर र आसपासका क्षेत्रमा चारवटा प्रमुख स्थानमा तरकारी फलफूल सङ्कलन तथा हाट बजारका संरचना निर्माण गरिएका छन् । अहिले किसानले तिनै हाट बजारमा आफ्ना उत्पादन सजिलैसँग बिक्री गर्न सक्ने भएका छन् ।
किसानले उत्पादन गरेको उन्नत जातको बीउ बिजन भण्डारण गर्न आयोजनाले किसानलाई सहज हुने गरी पाँचवटा भण्डारण केन्द्र निर्माण गरिदिएको छ । आयोजनाले आवश्यक मेसिन, उपकरण प्रदान गरेपछि किसानलाई आफ्नो बीउ बिजनको गे्रडिङ, लेबलिङ र प्याकेजिङ गरेर बिक्री वितरण गर्न सजिलो भएको अर्का किसान प्यारेलाल चौधरीले बताउनुभयो ।
त्यसैगरी, किसानलाई ५० प्रतिशत अनुदानमा पावर ट्रिलर प्रदान गरिएको छ । जसले गर्दा किसानले हलो, गोरुको सट्टा आधुनिक मेसिन औजारबाट खेतीपाती लगाउने, काट्ने र दाई गर्न थालेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना