ऐतिहासिक गद्दी बैठक पुरानै अवस्थामा तयार

नारद गौतम

काठमाडौँ, असार १२ गते । भूकम्पबाट क्षतिग्रस्त भएको हनुमान ढोका दरबार क्षेत्रका केही स्मारकहरूको पुनः निर्माणको काम सन्तोषजनक रुपमा अगाडि बढेको छ भने केही अन्तिम चरणमा पुगेका छन् ।
यस क्षेत्रमा रहेको ‘नियो क्लासिकल’ शैलीमा निर्माण गरिएको ११० वर्ष पुरानो ऐतिहासिक ‘गद्दी बैठक’ पुरानै अवस्थामा तयार भएको छ ।
पुरातत्व विभागको रेखदेखमा नेपाली प्रविधिको प्रयोग गरी सबलीकरण (रेक्ट्रोफिटिङ) गर्ने कार्य सम्पन्न भएकाले यही असार १३ गते बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष कार्यक्रमबीच नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम छ । Guddi baithak  Basntpur durbar 1_ rajendra
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि पटक पटक गएका परकम्पबाट हनुमान दरबार क्षेत्रमा रहेका मठ मन्दिर, दरबार, सत्तललगायत क्षतिग्रस्त भएका थिए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सोमबार गोरखापत्रसँग कुरा गर्नुहुँदै निर्माण सुरु भएको दुई वर्ष पुगेको छ, तोकिएको समयमै निर्माण कार्य सम्पन्न भएको पहिलो ठूलो योजना हो भन्नुभयो ।
गद्दी बैठक प्रवेश कक्षमा राखिएको शिलालेखमा सन् २०१७ को अक्टुबरमा काम सुरु भई सन् २०१८ मा निर्माण कार्य सम्पन्न भएको उल्लेख छ । हनुमान ढोका दरबार क्षेत्रमा रहेको यो आकर्षक ऐतिहासिक स्मारकलाई ‘गद्दी बैठक’ भनिन्छ ।
यो गद्दी बैठक संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्माण भएको शिलालेखमा उल्लेख गरिएको छ । विभागका अनुसार, अमेरिकी राजदूतको संस्कृति संरक्षण कोषमार्फत पुनःस्थापना तथा भूकम्प प्रतिरोधी क्षमता वृद्धिका लागि ‘मियामोटो ग्लोबल डिजास्टर रिलिफ’को आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो ।
महानिर्देशक दाहालले निर्माण गरिएको यो गद्दी बैठकको बाहिरी भाग पहिलेकै अवस्थामा तयार भएको जानकारीे दिनुभयो । भूकम्पबाट क्षतिग्रस्त भई पुनःनिर्माण तथा सबलीकरण गरिएका बागेश्वरीको मन्दिरलगायतका तीनवटा मन्दिर पनि यही असार १३ गते नै सम्बन्धित निकायलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
यसैगरी, हनुमान ढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक नौतले दरबार चीन सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । महानिर्देशक दाहालले नौतले दरबारको निर्माण कार्य राम्रोसँग भइरहेको जानकारी दिनुभयो ।
पृथ्वीनारायण शाहले वि. सं. १८२६ मा निर्माण गराएको नौतले बसन्तपुर दरबार हो । यो दरबार पृथ्वीनारायण शाहपछिका सात जना शाहवंशीय राजाहरूको वासस्थानका रूपमा रह्यो । हनुमानढोका दरबार मल्लराजाहरू १७ जना र त्यसपूर्वका सात जना राजाले प्रयोग गरेको पाइन्छ ।
हनुमानढोका दरबारको अस्तित्व लिच्छवि कालदेखि नै भएको मानिए पनि मल्लकाल, राणाकाल र शाहवंशीय कालमा निर्मित बाहिरी आकृतिहरू प्रस्ट देख्न सकिन्छ । यी प्राचीन स्माकरहरू विभिन्न व्यक्ति तथा शासकहरूले विभिन्न कालखण्डमा निर्माण गराएका हुन् ।
पृथ्वीनारायण शाहले वि.सं. १८२६ मा बसन्तपुर दरबार निर्माण गराएपछि यसलाई ‘बसन्तपुर दरबार’ पनि भन्न थालिएको हो । यस क्षेत्रमा काठमाडौँका मल्ल राजा रत्न मल्लदेखि शाहवंशीय राजा पृथ्वी वीरविक्रम शाहको समयसम्मका स्मारक एवं कलाकृतिहरू रहेका छन् ।
हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग वि. सं. १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । त्यसैगरी, प्रताप मल्लले दरबारको सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्तिलगायत वरिपरि थुप्रै स्मारक बनाएको इतिहासमा उल्लेख छ । पार्थिवेन्द्रद्र मल्लले गद्दी बैठक अगाडि त्रैलोक्यमोहन नारायणको मन्दिर बनाएका थिए ।
दरबारको दक्षिण पश्चिमपट्टिको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले वि. सं. १८१३ मा गराएका हुन् । यो विहारशैलीमा बनाइएको छ । कला, धर्म, संस्कृति सबै दृष्टिकोणबाट महत्वपूर्ण मानिने कुमारीघर वरिपरि कुमारीचोक, कुमारी बहाल, कुमारी मन्दिर आदि विभिन्न नामले चिनिने वैभवहरू अवस्थित छन् ।
वि. सं. १९४३ मा राजा पृथ्वी वीरविक्रम शाहका पालादेखि हालको नारायणहिटी राजदरबारलाई राजपरिवारको बासस्थानका रूपमा प्रयोग गर्न थालिएको हो । हनुमानढोका दरबारअन्तर्गत मूलचोक, त्रिशूलचोक, मोहनचोक, सुन्दरीचोक, लामचोक, न्ह्नासलचोक, कन्हेहोलचोक, न्हुलछचोक, कुमारीचोक, बसन्तपुरचोक, दाखचोक गरी विभिन्न ११ वटा महत्वपूर्ण चोक रहेका छन् ।
यस्तै, भूकम्पबाटै क्षतिग्रस्त भएका बुङ्मतीको रातो मछिन्द्रनाथको मन्दिर र स्वयम्भूको आनन्दकुटी विहार श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने कार्य जारी छ । रातो मछिन्द्रनाथको मन्दिर पाँच करोड र स्वयम्भूको आनन्दकुटी विहार २० करोड रुपियाँको लागतमा निर्माण कार्य भइरहेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना