दसैंअघि नै मेलम्चीको पानी

लक्ष्मण दर्नाल

काठमाडौँ, असार १२ गते । निर्माण कम्पनी सीएमसीसँग समझदारी पछि बहुप्रतिक्षित मेलम्ची खोलाको पानी दशैंअघि नै उपत्यकामा आउने भएको छ । खानेपानी मन्त्री विना मगरले दशैंअघि नै मेलम्ची खोलाको पानी काठमाडौँमा ल्याउने सहमति भएको जानकारी दिनुभयो । खानेपानी मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्माण कम्पनीसँग दशैंअघि नै पानी ल्याउने समझदारी भएको बताउनुभयो । क्षतिपूर्तिको माग गर्दै काममा ढिलाइ गरिरहेको इटालियन निर्माण कम्पनी सीएमसीका प्रतिनिधिलाई नेपाल निमन्त्रणा गरी समझदारी गरिएको हो ।
खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना विकास समिति, एसियाली विकास बैङ्क, परामर्शदाता इप्टिसा कम्पनी र निर्माण कम्पनीबीच छलफलपछि समझदारी भएको थियो । समझदारी अनुसार दशैंअघि नै राजधानीमा पानी उपलब्ध गराउन आगामी सेप्टेम्बर ३० भित्र मेलम्चीको पानी सुन्दरिजल पठाइने छ । melamchi_1
कम्पनीले नगद प्रवाहमा देखाएको समस्या हल गर्ने, निर्माण व्यवसायीलाई सहजरूपमा रकम उपलब्ध गराउनेलगायतका सहमति भएका छन् । सुरुङ भेन्टिलेसन साफ्ट निर्माणका लागि जुलाई १० गतेभित्र इन्जिनियर र निर्माण कम्पनीले मोडालिटी तयार गरी विकास समितिलाई पेस गर्ने सहमति भएको छ । सोही सहमतिका आधारमा नयाँ कार्ययोजना बनाउने र प्रत्येक दिनको कार्यप्रगति विवरण पेस गर्ने सहमति भएको छ ।
दुवै पक्षबीच विवाद तथा असमझदारी भएमा निर्णय गर्ने निकाय ‘डिस्प्युट बोर्ड’को पछिल्लो निर्णयप्रति मन्त्रालयले असहमति जनाएको छ । बोर्डले मेलम्ची समिति र इन्जिनियरले पेस गरेको पत्रका आधारमा जुन २३ देखि थप २ सय १२ दिन निर्माण कम्पनीलाई थपेकाले सरकारले असन्तुष्टि जनाएको हो । विभिन्न व्यवधानका कारण २ सय १२ दिन थप गर्नुपर्ने तर थप गरिएको समय अवधिले जुन १४ मा समाप्त हुने लेखिएको थियो तर बोर्डले जुन २३ देखि लागू हुने आंशिक निर्णय गरेको मन्त्रालयले जनाएको छ । ‘जुन २३ देखि लागू हुने निर्णय गरिएपछि हामीले असन्तुष्टि व्यक्त गरिसकेका छौँ’ मन्त्री मगरले भन्नुभयो ‘डिस्प्युट बोर्डको पूर्ण फैसला नआउदासम्म मात्रै हामीले निर्माण कम्पनीको म्याद थपेका छौँ । बोर्डको निर्णय नसच्चिए हामी आर्बिटेसनका लागि जाने नीतिगत निर्णय गरिसकेका छौँ । ’
यसअघि सन् २०१८ मार्च २६ मा परियोजना सम्पन्न गर्नुपर्ने समयावधिक तोकिएको थियो । सोही म्याद थपलाई बोर्डले जुन २३ देखि लागू हुने गरी आंशिक निर्णय गरेर म्याद लम्ब्याउन खोजेको मन्त्रलायको धारणा छ । बन्द, हड्ताल, नाकाबन्दीलगायतका विविध कारणले काम गर्न नपाएको बाँकी दिन जोड्दा निर्माण कम्पनीले जुन १४ सम्म काम गर्न पाउने प्रावधान सम्झौतामै रहेको मेलम्ची खानेपानी विकास समितिले बताएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना