कतारविरुद्ध नाकाबन्दी : समाधान टाढा

Ram prashadरामप्रसाद आचार्य

 

कतारविरुद्ध जल, स्थल र हवाई नाकाबन्दी लगाएको एक वर्ष पूरा भएको छ । यो नाकबन्दीले कतारी जनजीवन प्रभावित भए पनि सरकारले नाकाबन्दीसामु नझुक्ने अडान लिएको छ । आफूविरुद्धको यो नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै संयुक्त राष्ट्रसङ्घमा उजुरीसमेत गरेको छ ।
छ वटा अरबी मुलुक र एउटा दक्षिण एसियाली मुलुकले कतारलाई एक्ल्याउने निर्णय गर्दै गत वर्ष कूटनीतिक सम्बन्ध विच्छेद गरेयता विवाद समाधानको घनीभूत प्रयास हुन सकेन । आतङ्कवादलाई प्रश्रय दिएको आरोप कतार सरकारमाथि लगाइएको छ तर कतारले भने आरोप अस्वीकार गर्दै आएको छ । कतारी नेतृत्व विवादको शान्तिपूर्ण समाधानको पक्षमा उभिएको छ ।
सन् २०२२ मा कतारमा विश्वकप फुटबल प्रतियोगिता हुँदैछ । त्यसैका लागि तीव्र गतिमा भौतिक पूर्वाधार विकासमा लागेको सानो मुलुक कतारमाथि आइलागेको यो कूटनीतिक सङ्कटले गम्भीर मोड लिएको छ । गत वर्षको जुन ५ मा एकाएक साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र माल्दिभ्सले कतारसित कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरे । ती मुलुकले कतार सरकारमाथि आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमनचयनमा समस्या ल्याएको आरोप लगाएका छन् । कतारसँग जल, स्थल र हवाई सेवासमेत बन्द गरेपछि पेट्रोलियम पदार्थका लागि धनी मुलुक कतार ठूलो समस्यामा परेको छ । छिमेकी देशले कतारसँग सम्बन्ध विच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्था सिर्जना गर्नु रहेको देखिएको छ तर कतारलाई आत्मसमर्पण गराउने प्रयास विफल हुँदै आएको छ ।
अमेरिकी नेतृत्वको बहुर्राष्ट्रिय सेना र इराकबीच सन् १९९० मा भएको खाडी युद्धपश्चात् पहिलोपटक खाडी क्षेत्रका अरबी राष्ट्रबीच कल्पना नै नगरिएको यस प्रकारको चरम कूटनीतिक सङ्कट उत्पन्न भएको छ । साउदीसहितका मुलुकले कतारलाई पनि सोही अभियोग लगाउँदै कूटनीतिक सम्बन्ध विच्छेद गरे । पछिल्लो व्यवहारले अमेरिका र कतारबीचको मैत्रीपूर्ण सम्बन्धमाथि प्रश्नचिह्न खडा भएको छ । यो सङ्कटको समाधान गर्न अमेरिकी नेतृत्व गम्भीर हुनुपर्नेमा गम्भीर नभएको भनी कतारले गुनासो गरेको छ ।
उता रुस, कुवेत, इरान र टर्कीले वार्ता र शान्तिपूर्ण माध्यमबाट अरब क्षेत्रको यो समस्या समधान गर्न आग्रह गरेका छन् । यसको सैन्य समाधान खोजेको खण्डमा ठूलो दुर्घटना हुने चेतावनीसमेत दिएका छन् । आईएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमी मुलुकद्वारा कडा प्रतिबन्ध लगाएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच मतभेदकारी नीति अवलम्बन गरेको आरोप लगाई कतारलाई एक्ल्याउने जुन काम गरिएको छ, यसलाई कुनै पनि हिसाबले उपयुक्त मानिएको छैन । किनभने कतारले आतङ्कवादलाई प्रश्रय होइन, आतङ्वादको अन्त्य गर्न सामाजिक र आर्थिक समृद्धि साथै शान्ति खोजेको त्यहाँको विदेश मन्त्रालयले स्पष्ट गरेको छ ।
कतारको सत्ता हस्तान्तरणमा समस्या देखिएन । पाँच वर्ष अघिमात्र शान्तिपूर्ण तरिकाले कतारमा सत्ता हस्तान्तरण भएको हो । अमिर शेख हमद विन खलिफा अल थानीले राजकुमार शेख तमिम विन हमद अल थानीलाई (जुन २५, २०१३ मा) राजकीय सत्ता हस्तान्तरण गरेर खाडी क्षेत्रमा नयाँ इतिहास रच्नुभयो । पूर्व अमिर हमदको १८ वर्षे शासनकालमा खाडी क्षेत्रकै गरिब मुलुक कतारलाई विश्वकै धनी मुलुकको सूचीमा समावेश गराउन सफल हुनुभयो । उहाँले परम्परागत राजतन्त्रलाई आधुनिकीकरण गर्नेदेखि जनतालाई क्रमशः प्रजातान्त्रिक अधिकार दिएर प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त गराउन थालनी गरेर सबै पक्षलाई चित्त बुझाउन सफल हुनुभयो ।
कतारमा थानी परिवारको वर्चश्व छ । विगत डेढसय वर्षदेखि थानी परिवारले शासन गर्दै आएको कतारले यो डेढ दशक यतामात्रै चामत्कारिक रूपले आर्थिक प्रगति गरेको छ । सन् १९९५ मा तत्कालीन अमिर अर्थात् आफ्नै पिता शेख खलिफालाई सत्ताच्युत गरी हमदले सत्ता हातमा लिँदा धेरैलाई के लागेको थियो भने सत्ताका लागि पितालाई सत्ताच्युत गर्ने छोराले मुलुकको हितमा पनि काम गर्दैन र आजीवन सत्ता पनि छाड्दैन तर हमद निजी स्वार्थ र सत्ताका लागि लिप्त हुनुभएन । उहाँ कुशल शासक र कुशल व्यवस्थापक बनेर देखाइदिनुभयो । अत्यन्तै छोटो अवधिमा मुलुकको कायपटल गरिदिनुभयो । उहाँले सत्ता सम्हाल्दा आठ अर्ब डलरको कतारी अर्थतन्त्र १८ वर्ष शासन गरी सत्ता छाड्दा १७५ अर्ब डलर पुग्यो । उहाँले शुरु गर्नुभएको उदार अर्थनीति र सुधारको राजनीतिक सफलताले आज कतार धनी र समृद्ध मुलुक बनेको हो । उहाँको यो कार्यक्रमलाई वर्तमान अमिरले निरन्तरता दिनुभएको छ ।
कतारले नयाँ संविधान बनाएपछि नयाँ आयाम थपियो । सन् २००३ मा जनताको सहयोग लिएर ४५ सदस्यीय संसद्सहितको नयाँ संविधान बनाइयो । यो संविधान सन् २००५ मा लिखित संविधानका रूपमा कार्यान्वयनमा आयो । सोही वर्ष अमेरिकासँग १४ अर्ब डलरको संयुक्त लगानीमा ग्यास प्लान्ट बनाई ग्यास निर्यात व्यापारलाई नयाँ गति दिने काम भयो । सन् २००६ मा एसियाली खेलकुदको सफल आयोजक कतारले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसका लागि व्यापक रूपमा नमुना पूर्वाधार विकास निर्माणमा जुटेको छ । छोटो अवधिमा खाडी क्षेत्रकै नमुना बनेको सानो मुलुक कतारले पूर्वाधार विकासमा खर्ब लगानी गरेकाले लाखौँ विदेशी कामदारले त्यहाँ काम गर्न पाएका छन् । ग्यास र तेल बेचेर धनी बनेको कतारले विश्वको कुल ग्यास व्यापारको १५ प्रतिशत भाग ओगटेको छ ।
सानो इस्लामिक मुलुक कतार ११ हजार ४३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । अरबी भाषा बोल्ने कतारीको प्रतिव्यक्ति औसत आय अहिले ८५ हजार डलर पुगेको छ भने औसत आयु ७८ वर्ष छ । २७ लाखमात्र जनसङ्ख्या रहेको कतारमा सोही सङ्ख्याभन्दा बढी विदेशी कामदार कार्यरत छन् । कामका लागि कतार आकर्षक बन्दो छ । मुलुकका मौलिक कला र संस्कृति तथा सम्पदाको संरक्षणमा विशेष ध्यान दिएको कतारले पर्यटन प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेको छ । अहिले चार लाखभन्दा बढी नेपालीले पनि त्यहाँ काम गरिरहेका छन् । कतारप्रतिको यो आकर्षण अरू बढाउन राजनीतिक तथा आर्थिक क्षेत्रलाई अरू सबल बनाउन नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुभएका हमदले युवापुस्ताकै काँधमा मुलुकको भविष्य देख्नुभएको छ । उहाँको विचारप्रति सहमत नयाँ अमिरले अब नयाँ पुस्तालाई नै महŒवपूर्ण जिम्मेवारी दिनुभएको छ ।
कतार सत्रौँ शताब्दीमा अस्तित्व आएको हो । यसले सन् १८६७ मा छिमेकी बहराइनसँग सीमाको विषयमा युद्ध गर्दा नराम्रो क्षति भोगेको थियो । युद्धमा दोहा ध्वस्त भएको थियो । बेलायतको मध्यस्थतामा युद्ध रोकिएपछि बेलायतको संरक्षणमा रहेको कतार सन् १९७१ मा मात्र स्वतन्त्र बन्यो । सन् १९३९ देखि सीमित मात्रमा तेल उत्खनन् गरी गर्जो टार्दै आएको खाडी क्षेत्रकै गरिब मुलुक कतारको नेतृत्व सन् १९९५ मा हमदले लिएलगत्तै नाटकीय ढङ्गले प्रगतिपथमा लम्केको हो । एक समय दुईछाक पेटभरि खान नपाउने अवस्थाका कतारीहरू अहिले विश्वकै अब्बल दर्जाको सुखसुविधा भोग गरिरहेका छन् । शान्तिपूर्ण ढङ्गले आर्थिक प्रगति र समृद्धिमा लागेको कतारलाई कुनै निहुँ बनाएर छिमेकीले एक्ल्याउने र कमजोर बनाउने कामले अरब क्षेत्रमै अस्थिरता ल्याउन सक्छ । अहिले देखिएको कूटनीतिक विवाद वार्ताद्वारा नै समाधान गर्नुपर्छ, सैनिक समाधानले उचित निकास दिन सक्दैन । यद्यपि, साउदी अरब भने सैन्य कारबाहीको पक्षमा देखिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना