विकासमा दोषी नेता कि विज्ञ ?

subodh dhakalडा. सुबोध ढकाल

अहिले नेपाल कहिले विकास होला र अमेरिका, युरोपजस्ता देशमा जसरी विज्ञान र प्रविधिको समुचित प्रयोगद्वारा त्यहाँका मानिसले जसरी सहजतापूर्वक जीवन जिउन पाइएला भन्ने प्रश्न हरेक नेपालीको मनमनमा आइराख्ने गरेको छ । सँगैका साथी अलि समयपछि भेट्दा सञ्चो बिसञ्चो, घरपरिवारमा के कस्तो छ ? सोधनीपछि आउने गफको सिलसिला देश विकासकै बारेमा हुने गरेको छ । विश्वविद्यालयका विद्यार्थीले प्राध्यापकसँग गर्ने अन्तत्र्रिmयामा समेत यो कुरा अक्सर सामेल हुने गरेको छ ।
म भू–गर्भ विज्ञानको प्राध्यापकको नाताले मेरा विद्यार्थीको मप्रति यस्ता जिज्ञासा झनै धेरै हुनु स्वभाविक छ । किनकि उनीहरूलाई देश विकासमा भू–गर्भ विज्ञान र यसका शाखा विज्ञानहरूको कति महìव हुन्छ भन्ने कुरा हामीले राम्रोसँग सिकाएका छौं । उनीहरूको हामीप्रतिको आशा र विश्वास पनि अधिक नै हुने गरेको छ किनभने उनीहरू हामीलाई हाम्रो विषयको विद्वता र तार्किक सामथ्र्यको हिसाबले अति नै सक्षम ठान्छन् । यस्तै कुरा हाम्रो गाउँटोलमा पनि अक्सर हुने गरेकै छ । तर बिडम्बना नै भन्नुपर्छ देश विकासमा सहजता र दिगोपना ल्याउने खालको काममा सच्चा विज्ञहरूको प्रविधिसहितका ज्ञान, सीप र अनुभवका कुरा देशको नीतिनिर्माता र सरकारसम्म प्रभावकारी तरिकाले न त विज्ञले नै पु¥याउन सकेका छन्, न त राज्यले नै यसलाई आवश्यक ठानेको छ ।
हाम्रा विकासका काममा समय अनुसारका नयाँ प्रविधि भित्रिन सकेका छैनन् । उदाहरणको रूपमा सडक बनाउने हाम्रा प्रविधिहरू कस्ता छन् भन्ने कुरा सडक बन्दै गर्दा र सञ्चालनमा आएपछि उक्सिरहने पहिरोहरू, सडक भासिने समस्या, छिटोछिटो सडक बिग्रिने यथार्थ तथा सधैँजसो भइरहने सडक दुर्घटना अनि अनाहकमा भइरहेको जनधनको क्षतिलाई लिन सकिन्छ । यसको एउटा प्रमुख कारण सबै क्षेत्रमा जस्तै विद्वता हासिल गरेका प्राविधिक र वैज्ञानिकहरूको कुरा सुनाउन पनि कुनै न कुनै राजनीतिक पार्टीप्रति समर्पित हुनुपर्ने विद्यमान परिपाटी हो । त्यसो नभएको अवस्थामा नीति निर्माता तथा सरकारी उच्च ओहोदामा बसेका मानिसहरूसँग भेटघाट गरेर आफ्नो कुरा राख्न त्यति सजिलो छैन ।
अझै पनि धेरैजसो सरकारी ओहोदामा बस्नेहरूको सोचाइमा विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र बौद्धिक व्यक्तित्वहरू कुनै ठूलो आर्थिक लाभ हुने खालका परियोजनाको लागि मात्र उनीहरूकोमा आउने गर्छन् भन्ने पुरानै धारणा हाबी देखिन्छ । उनीहरूको व्यवहारले यो कुरालाई दर्शाउने गरेको छ भने प्रधानमन्त्री र मन्त्रीहरूसँगको भेटघाट हुन पनि राजनीतिक सूत्रको माध्यमबाट मात्र सहज हुने कसैबाट लुकेको छैन । भेटघाट भए पनि विज्ञहरूको कुरा सुन्न यिनको राजनीतिक झुकाव कता छ भन्ने कुराले नै सुझाव, सल्लाहको सुनुवाइ हुने कि नहुने भन्ने निक्र्योल हुने चलन छ ।
हाम्रो देश विकासको सहजता र दिगो बनाउने सच्चा विज्ञहरूका प्रविधिसहितका अनुभव र ज्ञान नीति निर्माता र सरकारी उच्च पदाधिकारीहरूसम्म प्रभावकारी तरिकाले पु¥याउन नसकिएको कुरामा सरकार, नेताहरू र नीति निर्माताहरूको मात्र दोष भने पक्कै होइन । यसमा विद्वत् पेशामा लागेका विद्वान भनिने तर कुनै न कुनै राजनीतिक पार्टीप्रति झुकाव राख्ने अथवा त्यो पार्टीको भ्रातृ संगठनमा लागेका मानिसहरूको अन्धभक्ति र आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति हुने भए गलत निर्णयलाई पनि सही भन्दै प्राविधिक सत्य लुकाउने प्रवृत्ति अर्को मुख्य बाधक देखिन्छ । यसमा आफूसँग नभएको ज्ञानलाई पनि आपूm त्यसै विषयको ज्ञाता भनेर नेता र नीति निर्माताहरूलाई भ्रममा पार्ने गरेको पनि सुनिने र देखिने गरेको छ ।
यस्तो काम भू–गर्भविद्, इन्जिनियर, कृषिविद्, वन विशेषज्ञ अथवा अरु जोसुकैले गरेको भए पनि यो घोर आपत्तिजनक काम हो । नेता र नीति निर्माताहरूले पनि कसैले भनेकै भरमा उसलाई त्यो विषयको ज्ञाता ठान्नु ठूलो गल्ती हो । जसले ठूलाठूला स्वरमा चर्को कुरा ग¥यो, त्यसैलाई विद्वान बनाइदिने र त्यसकै पछाडि दौडने सरकारी निकाय, मिडिया (सञ्चार जगत्) र राज्यका विभिन्न अन्य अङ्गहरूको अहिलेको ट्रेन्ड (प्रवृत्ति) लाई सुधार गर्नैपर्छ । यसको लागि उनीहरूले सरकारी, गैरसरकारी, विश्वविद्यालय तथा अन्य अनुसन्धान केन्द्रहरूसँग संयोजन गरी विषयगत ज्ञाताहरूको सूची तयार पारी आवश्यक परेको बेलामा उनीहरूसँग छलफल र प्रतिक्रिया तथा राय सुझाव लिने व्यवस्था गर्नु अति आवश्यक देखिन्छ । यसबाट कुनै पनि विषयमा देशभित्र उपलब्ध प्राविधिक र विद्वानहरूको सही तथ्याङ्क पछिको लागि समेत कामलाग्ने गरी तयार पार्न सकिन्छ । यसो नहुँदा अहिलेको समयमा सम्बन्धित विषयका ज्ञाताहरू पाखा लाग्ने र उक्त विषयमा दक्षता हासिल नगरेकाहरूले चाहिँ जहिले पनि समाज र देश विकासलाई नै सधैँ गलत दिशातिर लगिरहने परिपाटी रहिरहने हुन्छ । यसको नतिजा हाम्रा जति पनि विकास र पूर्वाधार विकासका कामहरू छन्, तिनीहरूले आशातित सफलता प्राप्त नगर्ने र विकास दिगो नहुने समस्या यथावत् रहन्छ ।
अति नै गतिशील अहिलेको युगमा विज्ञान र प्रविधिको यति विकास भइराखेको छ कि त्यसलाई पछ्याउन नसके हामी पारम्परिक प्रविधिकै भरमा अल्झिरहन बाध्य हुन्छौँ, जसले विकासलाई गति नदिने मात्र होइन, यो दिगो र प्रभावकारी समेत हुँदैन ।
हाम्रो देश विकासको सहजता र दिगो बनाउने सच्चा विज्ञहरूका प्रविधिसहितका अनुभव र ज्ञान नीति निर्माता र सरकारी उच्च पदाधिकारीहरूसम्म प्रभावकारी तरिकाले पु¥याउन नसकिएकोमा अर्को प्रमुख कारण राजनीतिक पहुँच भएका अथवा राजनीतिको मूलधारामा पनि लागेका र सम्बन्धित विषयमा दक्षता समेत हासिल गरेका विद्वान राजनीतिज्ञ भनिने अर्को वर्ग पनि हो । यो वर्गले ज्ञान हासिल गरेको भए पनि त्यसलाई सही उपयोग गर्न नसक्ने, आफ्नो विद्वत्वको मर्मलाई बुझ्न नसक्ने अथवा ज्ञानलाई राजनीतिक लाभ र हानिको विषय बनाउन हुँदैन भन्ने हेक्का समेत गर्न नसकेको देखिन्छ । यो वर्ग कतिपय सन्दर्भमा दिगो देश विकासभन्दा पनि देशको माहोल अनुसार आफ्ना कुरा फेरिरहने गर्दछ । यो वर्ग देशको दिगो, कम खर्चिलो र सहज विकासभन्दा आफू सम्बन्धित व्यवसायको हित र अन्य व्यवसायको अहित हुने कुरामा समेत कदम चाल्न पछि नहट्ने कुरा कतिपय सन्दर्भमा देखिन्छ । अहिलेको नेपालमा अन्य समस्याभन्दा पनि यो समस्या बढी चुनौतिपूर्ण देखिन्छ । यसमा सबै विद्वान राजनीतिज्ञहरू यही वर्गमा पर्दछन् भन्न खोजिएको भने होइन । तर यो वर्ग पूर्वाधार विकास र सामाजिक रूपान्तरणको लागि जसरी लाग्नुपर्ने हो त्यसरी मात्र नलागेको कुरा सामाजिक सञ्जाल लगायत अन्य अन्तत्र्रिmयाका कार्यक्रमहरूमा धेरै सुनिने गरेको छ । यो स्वभाविक छ किनभने यिनीहरूसँग जनताको अलि बढी अपेक्षा हुनु असान्दर्भिक होइन ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराको साथ सत्तासिन इतिहासकै बलियो सरकारको रूपमा पनि चिनिएको वर्तमान सरकारले यी कुराहरूमा ध्यान दिनु अति नै जरुरी छ । किनकि पूर्वाधार विकास बिना देश विकास हुँदैन, देश विकास नभइकन जनता सुखी हुँदैनन् र जनता सुखी नभई देश समृद्ध बन्दैन भन्ने कुरा सरकारमा बस्नेहरू र प्रमुखतः प्रधानमन्त्रीले पक्कै पनि बुझ्नुभएको हुनु पर्दछ । समृद्ध नेपालसँग देशको हरेक अङ्गको समयोचित सुधार र नयाँपन अत्यावश्यक देखिन्छ । पूर्वाधार विकासमा समयोचित प्रविधिको सुधार यसको पहिलो आधार बन्न सक्छ । राजनीतिक आस्थाको आधारमा देश विकासलाई अवरोध हुने काम कसैले पनि र कहिल्यै पनि नगरौँ । सकिन्छ यसलाई टेवा दिउँ सकिँदैन भने पनि आफ्ना सल्लाह सुझाव अथवा प्रतिक्रिया मार्फत सत्तामा बस्ने र अन्य राजनीतिज्ञहरूलाई खबरदारी गर्न पछाडि नहटौँ ।
यो समस्याको समाधानको लागि सरकार, राजनीतिक पार्टी, विषयगत विशेषज्ञहरू, अनुसन्धानकर्ता, विद्वान नेताहरू तथा हामी सबैको उत्तिकै जिम्मेवारी छ र आ–आफ्नो क्षेत्रमा सच्चिनु पनि उत्तिकै जरुरी छ । जनताले नेता र सरकारलाई गाली मात्रै गर्ने अनि सरकारले जनताको भावना र चाहनालाई आफ्नो काममा नै देखिने गरेर आत्मसात् नगर्ने हो भने त समृद्धि पक्कै आउँदैन, यसमा कोही भ्रममा पर्नु र कसैलाई भ्रममा पारिनुको कुनै अर्थ रहँदैन ।
(लेखक, इन्जिनियरिङ भूगर्भविद्)

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना