शेयर बजारको शिथिलता

saroj adhikariसरोज अधिकारी

नेपाल स्टक एक्सचेन्जमा हिजोआज हुने कारोबारमा परिसूचकाङ्कमा खासै ठूलो उतारचढाव नआए पनि कारोबार भने उच्च हुन नसक्नुले लगानीकर्ता ठूलो मात्रामा लगानी बढाउने मुडमा देखिएका छैनन् ।
सरकारले हालसम्म ल्याएको आर्थिक नीति शेयर बजारमैत्री नभएको ठहर लगानीकर्ताको रहेको छ । मौद्रिक नीतिमार्फत बजारलाई सकारात्मक प्रभाव पार्ने खालको ठोस नीति समेटिने विषयमा आशावादी हुने खालको स्थिति नरहेको अघिकांश लगानीकर्ताको भनाइ पाइन्छ । नेप्से परिसूचकाङ्क एक हजार दुई सयको हाराहारीमै घुमिरहेको अवस्था छ । बजार कारोबार हुने कुनै पनि कम्पनीको शेयरको ठूलो मात्रामा कारोबार भएको पाइँदैन । शेयर बजार तत्काल उकालो लाग्ने सम्भावना देखिँदैन । शेयरमा बढ्दो आपूर्ति कायमै छ ।
बैङ्कहरूमा तरलताको अवस्था सहज भएको समाचार आइरहेका र निक्षेपमा ब्याजदर थप नबढाउने विषयमा बैङ्कहरूबीच भएको सहमतिले पनि बजारमा खासै सकारात्मक प्रभाव पार्न सकेको देखिँदैन । पुरानो शेयर लिएको कर्जाको ब्याजदर बढ्दो अवस्था र बजारमा सोअनुसारको प्रतिफल पाउने अवस्था नहुनुले लगानीकर्तालाई धान्न गाह्रो परेको छ । शेयरको बजार भाउ कम हुँदै जानु अनि लिएको ऋणको ब्याजदर बढ्नुले कतिपय लगानीकर्ता सस्तोमै शेयर बेचेर निस्कनुपर्ने अवस्थामा रहेको देखिन्छ ।
शेयर बजारमा लगानी गर्दा नै आफ्नो लगानीको मात्रा पहिचान हरेक लगानीकर्ताले गर्न सक्नुपर्ने कुराको महŒव अहिलेको नेपाली शेयर बजारले गर्छ । ऋण लिन सक्ने आफ्नो क्षमता, ब्याज तिरेर धानिने अवस्था, बजारको प्रतिफल कम हुँदा पनि टिक्ने क्षमताजस्तो विषयले नै दीर्घकालमा शेयर बजारमा गरेको लगानीले कमाउने हो । त्यसैले सामाजिक सञ्जालमा कतिपय लगानीकर्ताले ‘जस्तो परिस्थिति आए पनि धानिन्छ सस्तोमा शेयर बेचिदैन’ भन्ने जस्ता अभिव्यक्ति पोष्ट गरेको पाइन्छ ।
शेयर बजारकै चक्रलाई मान्ने हो भने पनि ०७३ साल साउन महिनातिर एक हजार ८८१ को बिन्दुमा पुगेर घट्न थालेको बजार झण्डै दुई वर्षको यात्रा पार गरिसकेको छ । यस यात्रामा बजार एकपटक माथि लागेर पुनः झरेको हो । नेपाली शेयर बजारको विगतको इतिहासलाई हेर्ने हो भने पनि ०६५ साल भदौमा एक हजार १७३ को उच्च बिन्दुमा पुगेको बजार ०६८ साल जेठमा आइपुग्दा २९२ को बिन्दुसम्म झरेको पाइन्छ । त्यो समयावधि झण्डै अवधि दुई बर्ष नौ महिनाको रहेको पाइन्छ । अहिलेको अवस्थालाई शेयर बजारको मन्दी नै मान्ने हो भने पनि दुई वर्ष पनि पूरा भएको अवस्था छैन । यस्तो परिस्थितिमा बजारमा अझै लामो समय कम प्रतिफलमा नै धानिन पर्ने अवस्था नआउला भन्न सकिन्छ । दीर्घकालीन लगानीको विचारले हाल लगानी गर्नेका लागि सही मौका भए पनि पुराना लगानीकर्तालाई भने धानिन गाह्रो पर्ने अवस्था स्वाभाविक नै हो । सरकारले शेयर बजारको सुधारका लागि विभिन्न बाचा गरे पनि काम भने ठ्याक्कै उल्टो गर्दै गएको अवस्था हो, अहिले । शेयर बजारमा तत्काल सुधार ल्याउन अन्य धेरै विषयमा सुधारभन्दा पनि बढ्दो आपूर्तिको तुलनामा माग पनि बढाउन गैरआवासीय नेपाली भिœयाउने र मुलुकभरबाट बैङ्क तथा वित्तीय संस्थाबाट कारोबार सम्भव हुने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ ।
बजारमा हाल एनएमबी बैङ्क र नेपाल बैङ्कको ठूलो मात्रामा एफपीओ खुलेको अवस्था छ । अझै लामो समयदेखि प्रतिक्षा गरिएको माथिल्लो तामाकोशीको प्राथमिक शेयरको आवेदन शेयर खुल्ने चरणमा छ । त्यसको अतिरिक्त लघुवित्त, सिमेन्ट उद्योग, जलविद्युत्जस्ता अन्य कतिपय कम्पनीको प्राथमिक शेयर, हकप्रद शेयर, अन्य प्राथमिक शेयर, लिलामीको शेयर जस्ता थुप्रै विकल्प लगानीकर्तासँग भएको अवस्थाले दोस्रो बजारमा उच्च कारोबारको कल्पना समेत गर्न सक्ने अवस्था छैन ।
बजार सुधारका लागि सबैभन्दा संवेदनशील हुनुपर्ने मुलुकका विज्ञ अर्थमन्त्रीलाई दोस्रो बजारको खासै चिन्ता देखिएन । उनले घुमाउरो पारामा साधारण शेयर नबिक्दा मात्र चिन्ता हुने कुरा स्पस्ट पारिसकेका छन् । बजारमा खडेरी परेका बखत शेयरमा पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बढाएर ठूलै मात्रामा कर उठ्छ भन्ने उहाँको सोच गलत साबित हुँदैछ । पुँजीगत लाभकर नाफामा मात्र तिर्ने हो बजारमा निकै घाटा खाएर शेयर बेच्नुपर्ने वर्तमान अवस्थामा नाफा धेरै भए पो कर पनि बढी उठ्छ ।
शेयरको दोस्रो बजारमा आएको शिथिलताले बजारमा जारी हुने एफपीओ, लिलामीको शेयर र प्राथमिक निष्काशन पनि प्रभावित हुने सम्भावना बढ्दो छ । शेयर बजारको सुधारका बारेमा धेरै कुरा भए तर ठोस सुधारको कुरा भने भएको देखिँदैन । अब सरकारले मौद्रिक नीतिमार्फत भए पनि बजारलाई थप ओरालो लाग्नबाट बनाउने नीति नलिने हो भने ठूलो अनष्टि हुन सक्ने सम्भावना छ ।
बजार घटेका बेला विभिन्न कम्पनीको १३ अर्ब ८२ करोडको हाराहारीमा चार करोड ८८ लाख ८६ हजार ४२१ कित्ता शेयर थप प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको समाचार आइरहेको छ । त्यसले बजारमा थप चाप पर्ने देखिन्छ । अब मागको वृद्धि हुने वातावरण बनाउनुको विकल्प छैन । माग बढाउनका लागि ब्याजदर घटाउने विषय छिटो गर्न सकिने कुरा होइन । अतः सरकारले मुलुकभरबाट कारोबार हुने वातावरण निर्माण तयार गर्ने र अनलाइन टे«डिङको कारोबार पूर्ण रूपमा छिटो लागू गराउने कुरामा अब ढिलाइ गर्नुहुन्न ।
ब्याजदरमा कमी ल्याउन सरकारले मौद्रिक नीतिमार्फत उपयुक्त कदम चाल्ने आशा, अनलाइन टे«ेडिङको शुरुआत छ्ट्टिै हुने तथा बढ्दो आपूर्तिलाई धान्ने खालको माग बढाउने नीति तत्काल आएको परिस्थितिमा बाहेक हाल उकासिएर बजारमा लगानी हुने वातावरण भने छैन । नेपाल बैङ्कको जारी एफपीओमा समेत लगानीकर्ताको आकर्षण कम हुनुले स्थिति स्पस्ट भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना