नेपाली अदुवालाई भारत प्रवेश खुला


सुरेशकुमार यादव

काठमाडौँ, असार २१ गते । भारतले रोक्दै आएको नेपाली अदुवा निर्यात खुला गरेको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा भारतले मङ्गलबारदेखि नेपाली अदुवालाई भारतीय बजार सहज हुने निर्णय गरेको हो ।
नेपाल–भारत व्यापार सन्धिको (एक्ट) धारा ४ र ५ का आधारमा बिनाभन्सार महसुल अदुवा निकासी गर्न पाउने भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ । नेपाल–भारतबीच पछिल्लो पटक सन् २०१६ मा भएको व्यापार सन्धिमा सन् २०२३ सम्म काँचो अदुवा प्रतिबन्धित भए पनि नेपालको हकमा लागू नहुने र भन्सार महसुलबिना क्वारेन्टाइन सर्टिफिकेटका आधारमा निर्यात गर्न पाउने व्यवस्था
गरिएको छ । aduwa-1
सोही सन्धिअनुसार भारतले अदुवा निकासी खुला भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिनुभयो । भारतले यसअघि नेपाली अदुवामा चीनबाट आयातित भएका अदुवा मिसाएर भारत पठाइने गरेको आरोप लगाउँदै निर्यातमा रोक लगाएको थियो । त्यस्तै, काँचो अदुवालाई प्रतिबन्धितको सूचीमा राखेको र काँचो अदुवा निर्यात गर्दा अनिवार्य रूपमा वाणिज्य मन्त्रालयबाट अनुमतिपत्र र क्वारेन्टाइन अनुमतिपत्र लिनुपर्ने लगायतका बहानामा नेपालबाट निर्यातमा रोक लगाएको थियो ।
अब काँचो अदुवा निर्यात गर्दा कुनै पनि प्रकारको प्रतिबन्ध, रोकटोक तथा शुल्क नलाग्ने नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । भारतले अदुवा निर्यातका गर्ने नेपाली व्यवसायीले १० लाख रुपियाँ बैङ्क ग्यारेन्टी राख्नुपर्ने नियम लगाएको थियो । त्यस्तै, भारतले अदुवा व्यवसायीमा कोटा प्रणाली लगायत परीक्षणको पनि समस्या थियो । भारतले ती सबै हटाएको र त्यसमा हामीलाई निकै खुसी लागेको छ, सङ्घका अध्यक्ष खड्काले भन्नुभयो ।
भारतीय भन्सारले अदुवा निर्यात गर्न फ्रेस जिन्जर (कच्चा अदुवा) र अदुवा (सुख्खा र प्रशोधित अदुवा) गरी दुई प्रकारको भन्सार कोडको व्यवस्था गरेको थियो । फ्रेस जिन्जर समूहमा उत्पादन भएको ताजा अदुवाको नमुना भारतको प्रयोगशालाबाट परीक्षण गराएर निर्यात गर्न सकिने व्यवस्था थियो । अहिले त्यो हटाएको छ । अर्को समूहको अदुवामा भारतीय भन्सारले जीएसटी भन्सार शुल्क पाँच प्रतिशत लाग्ने व्यवस्था गरेको थियो ।
यसअघि अदुवा निर्यातका लागि भारतको क्वारेन्टाइनबाट प्रमाणपत्र लिनुपथ्र्यो । अदुवालगायत अन्य कृषिजन्य वस्तु निर्यात गर्दा नेपालले नै प्रमाणीकरण गर्न व्यवस्थाका लागि भारतसँग सम्झौता गर्न लागेको छ । नेपालको केन्द्रीय प्रयोगशालाले नमुना परीक्षणपछि जारी गर्ने प्रमाणपत्र भारतको फुड सेफ्टी एन्ड स्टान्डर्ड अथोरिटी (एफएसएसएआई) ले मान्यता दिने गरी दुई मुलुकबीच सम्झौता हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, नेपालले सम्झौताका लागि सबै प्रक्रिया पूरा गरिसकेको छ, एक दुई दिनमै परराष्ट्र मन्त्रालयमार्फत भारत पठाउनेछौँ ।
यसअघि पनि त्यो सम्झौताको मस्यौदा विभागले पठाएको थियो तर त्यसका केही संशोधन गर्नुपर्ने भन्दै फिर्ता पठाएको जानकारी गराउँदै उहाँले त्यसमा संशोधन गरी पुनः पठाउन लागेको स्पष्ट गर्नुभयो । त्यो सम्झौता भएपछि बेला बेलामा कृषिजन्य वस्तु निर्यातमा हुने झमेला समाप्त हुने उहाँले दाबी गर्नुभयो ।
विभागको स्वामित्वको अन्तर्राष्ट्रिय मान्यताप्राप्त केन्द्रीय प्रयोगशालाले जारी गर्ने प्रमाणपत्र भारतको एफएसएसएआईले मान्यता नदिएका कारण निर्यातमा समस्या भइरहेको थियो । अदुवा निर्यातमा पनि त्यही समस्या थियो तर भारतले सन्धि अनुसार अब प्रमाणीकरणको कुनै आवश्यकता नपर्ने भनेको छ तर अन्य कृषिजन्य वस्तुमा आवश्यकता पर्ने भएकाले सम्झौता आवश्यक रहेको उहाँले बताउनुभयो ।
भारतले अदुवा निर्यातमा अवरोध सिर्जना गरेपछि नेपाली व्यवसायीले अन्य विकल्प सोच्न थालेका थिए । उनीहरूले नेपाली अदुवा बङ्गलादेश पठाउन सुरु गरेका थिए । सङ्घका अध्यक्ष खड्काले पनि आफ्नो स्वामित्वमा रहेको नरेन्द्र टे«डर्स एन्ड सप्लायर्समार्फत बङ्गलादेशमा अदुवा निर्यात गर्न थाल्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना