पर्यटकीय नगरी पोखरा अब प्रदेशको पनि राजधानी

Fewa-Lakeपोखरा, असार २१ गते । प्रकृतिको बरदान पोखरा कास्की जिल्लाको सदरमुकाम त हो नै यो साविकको पश्चिमाञ्चल विकास क्षेत्र र गण्डकी अञ्चलको पनि सदरमुकाम हो । संघीय संरचनाअनुसार देशको प्रशासनिक विभाजन पछि बनेका प्रदेशमध्ये ४ नं प्रदेशको राजधानी बन्ने अवसर पनि पोखरालाई प्राप्त भएको छ ।प्रदेशको राजधानी तोक्न संविधानले दुई तिहाइको व्यवस्था गरे पनि प्रदेशसभा बैठकमा पोखरा राजधानी रहने विषय सर्वसम्मत बन्यो । राजधानी विषयको छलफलमा पनि सदस्यले पोखराको सुन्दरताको मुक्तकण्ठले प्रशंसा गर्दै शीतल गिरीको रचना र प्रमोद खरेलको आवाजमा रहेको गजल गाउनसमेत भ्याए ।

“मबिना कसैकसैलाई मुस्किल छ पोखरामा,
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा ।।”

प्राकृतिक सुन्दरताले युक्त पोखरा हिमालको काखमा रहेको शहर हो । यहाँको फेवातालमा माछापुच्छ«े पौडी खेल्छ भने यहाँबाट धौलागिरि, अन्नपूर्ण र मनास्लुजस्ता हिमशृंखला नांगो आँखाले नै देख्न सकिन्छ ।

नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ भएका कारण पनि पोखरा प्राकृतिक रुपमा नै कम प्रदूषणयुक्त स्थल हो । यहाँस्थित पातले छाँगो, महेन्द्र गुफा र गुप्तेश्वर गुफा, चमेरे गुफा, विश्वशान्ति स्तुप, सेती नदीको गल्छी महत्वपूर्ण पर्यटकीयस्थल हुन् ।

त्यस्तै, धार्मिक पर्यटकीय महत्वका मन्दिर विन्ध्यवासिनी, राधाकृष्ण मन्दिर, भद्रकाली, शोभा भगवती, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर आदि यहीँ छन् । पोखरा आसपासमा रहेका बेगनासको बेगनास कोट, काहुँडाँडा, पुम्दीकोट, शाल्मे डाँडा, भरतपोखरीको कोटभैरव, हुडिकोट, बर पाण्डेथुम, साम्मीकोट, मट्टीखानजस्ता रमणीयस्थल पनि यहाँका गहना हुन् ।

फेवातालसहित लेखनाथस्थित सात ताल आदि यहाँका महत्वपूर्ण पर्यटकीयस्थल हुन् भने विश्वमा नै प्रमुख १० पदमार्गमध्ये पर्ने अन्नपूर्ण चक्रीय पदमार्ग यहीँबाट शुरू हुन्छ ।

स्वदेश एवं विदेशमा रुचाइएको पोखराको नाम कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । संस्कृतिविद् तीर्थ श्रेष्ठका अनुसार प्राचीनकालमा पोखरा एउटा पानीको तलाउ ९ठूलो पोखरी० थियो ।
यस तलाउको बाँध हालको भीमाद ९जसलाई भीम बाँध भन्ने गरिन्छ० भन्ने ठाउँमा थियो । उक्त बाँध भत्काएर पोखरालाई बस्ती योग्य बनाइएको विश्वास गरिन्छ ।

पोखरा र आसपासका क्षेत्रमा ताल तलैया रहेका कारण पनि पोखरी हुँदै यसलाई पोखरा भन्ने गरिएको जनविश्वास छ । त्यस्तै, कास्कीकोटबाट शासन सत्ता सञ्चालन गर्ने कस्केली राजा कुलमण्डन शाह हिउँदको समयमा बाटुलेचौरस्थित दरबारमा बस्ने गर्दथे भनिएको छ ।

उनले लामाचौरमा ठूलो पोखरी बनाएका थिए । ठूली पोखरी भनिने त्यही पोखरीबाट पोखरा भनिएको हुनसक्ने पनि अनुमान गरिन्छ । पोखरा प्रदेशको राजधानी हुनु उपयुक्त भएपनि हिजोको काठमाडौँको जस्तै केन्द्रीकृत मानसिकता र विकास भने आवश्यक नरहेको विषय यतिखेर चासो र चर्चामा छ ।

पोखराको विकाससँगै यस आसपासका क्षेत्रको विकास गरिनु आवश्यक भएको बताउँदै संस्कृतिविद् श्रेष्ठले पोखराको दायरालाई आँधी, मादी र मोदीबीचको भूभागमा समेट्दै समग्र प्रदेशको विकासमा जुट्नुपर्ने बताउनुभयो ।

“५० वर्षपछिको पोखरालाई आजैबाट नियाल्दै विकास अघि बढाउनु आवश्यक छ,”– उहाँले भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मूल्मीका अनुसार कस्केली राजा सिद्धिनारायण शाहका पालामा विसं १८०९ मा पोखरामा २६ कुरिया जग्गा वितरण गरेर बस्ती बसाएपछि मात्रै पोखरामा बस्ती विकासको क्रम अघि बढेको हो ।

पृथ्वीनारायण शाहले उपत्यकाका भक्तपुर लगायतमा विजय हासिल गरेपछि खासगरी विसंं १८३६ पछि भने पोखरामा बस्ती विकासको क्रम अघि बढेको उहाँको भनाइ छ । बेलायती इतिहासकार ह्यामिल्टनले सन् १७९३ मा लेखेको पोखराको इतिहासमा यी विभिन्न विषय र प्रसंग उल्लेख गरिएको मुल्मीले जानकारी दिनुभयो ।

२००७ सालमा जम्मा दुई हजार ३०० जनसंख्या रहेको पोखरामा हाल यहीँ बसोबास गर्नेको संख्या पाँच लाख नाघिसकेको छ । यहाँ बाहुन, क्षेत्री, गुरुङ, मगर, दलित, नेवार, मुसलमान, तामाङ, थकाली आदि जनजाति बस्दै आएका छन् ।

परम्परागत पेसा व्यवसायका अलावा बाहिर काम गरेर आएका मानिस र लाहुरेको बसोबास बढी भएको पोखरालाई नेपालकै महँगो शहरका रुपमा पनि लिइन्छ ।

यहाँको मात्र नभएर पश्चिम नेपालकै शिक्षा तथा स्वास्थ्यको प्रमुख केन्द्र बनेको पोखरामा लेखनाथस्थित पोखरा विश्वविद्यालयका साथै पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, कालिका क्याम्पसलगायतका शैक्षिक संघसंस्था छन् ।

स्वास्थ्यका क्षेत्रमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताललगायतका स्वास्थ्य संस्था पनि छन् । पोखरा हुँदै जाने पृथ्वी राजमार्गले मध्य पहाडी क्षेत्रका तनहुँ, चितवनको मुग्लिन, धादिङ हँुदै काठमाडौँलाई छोएको छ भने यहाँबाट सिद्धार्थ राजमार्ग हुँदै पश्चिम तराईसहितका केही पहाडी जिल्लालाई जोडेको छ ।

यहाँबाट जाने धौलागिरि राजमार्गले पश्चिम उत्तरी पहाडी र हिमाली क्षेत्रलाई जोडेको छ । सञ्चारका दृष्टिले पनि पोखरा विकसित ठाउँ हो । पोखराको आगामी विकास यहाँको प्राकृतिक सुन्दरता पुस्तौँसम्म कायम रहने गरी समग्र प्रदेशको विकास सँगसँगै बढाउनु आवश्यक रहेको मुल्मीले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना