अराजकता र अधिनायकवाद

badribisal pokhrelप्रा. डा. बद्रीविशाल पोखरेल

 

प्राज्ञिक, बौद्धिक वा वैचारिक आदि हरक्षेत्रका अस्वस्थ गतिविधि लामो समयसम्म लुकाएर लुक्न सक्तैन । खुसी, खोकी, प्रेम, राजनीतिक अपराध धेरै दिन लुक्न र लुकाउन सकिन्न । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालाको विदेश भ्रमण रोकिएको विषय अहिले धेरै चर्चा, परिचर्चाको विषय बनेको देखिन्छ । यो विषयमा शिक्षामन्त्रीले नै सर्वस्वीकृत सरकारी नियम विपरीत औपचारिक जानकारी नगराई बिदाको निवेदन टेबुलमा बेवारिस बनाएको जवाफ दिनुभएको समाचारमा आएकै छ । यसलाई कुन सही र बेसहीभन्दा पनि नियत र नियतिमाथि अलिकति छलफल यस विषयले खोजेको देखिन्छ ।
वि.सं. २००७ सालपछि पटक पटक लोकतान्त्रिक परिवर्तनको बाहक शक्ति र यसका उत्प्रेरक भनिएका प्राध्यापक, प्राज्ञ र बौद्धिक क्षेत्र हुन् । अहिलेका सबै विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानमा नियुक्त कुलपति लगायत सबै व्यक्तित्व यही लोकतान्त्रिक अभ्यासमा खारिएका पनि भन्ने गरिन्छ । लोकतान्त्रिक गणतन्त्र नै आइसक्यो तर कतिपय यिनै प्राज्ञ, बुद्धिजीवी र प्रबुद्ध वर्गमा उपर्युक्त संस्कारको ठीक विपरीत व्यवहार र संस्कार देख्नु परेकै छ । लोकतान्त्रिक र प्रगतिशील आन्दोलनमा भौतिक रूपमा लाग्नु र त्यसलाई चरित्र र चिन्तनका रूपमा आत्मसात् गर्नु अलग कुरा रहेछ । नत्र विद्यावारिधिजस्तो उच्च अध्ययन र पाको अनुभव भएका कतिपय प्राज्ञको गतिविधि र व्यवहार शर्मलाग्दो देखिन्छ
किन ? पढ्नु र पढेको विषय, ज्ञानलाई जीवनमा आत्मसात् गर्नु निक्कै फरक कुरा हो । कतिपयमा पढे अनुसारको सोमत र संस्कारकै अभाव पनि देखिन्छ । लोकतन्त्रको दुहाई दिन सकिन्छ तर व्यवहार त्यस विपरीत भएपछि दुनियालाई हाँसो उठ्छ । अझ जन्मजात लोकतान्त्रिक भनिने एकाध प्रबुद्ध व्यक्तिमा असहिष्णु चिन्तन र चरित्र पर्याप्त देखिन्छ । अरुलाई अपमानित गर्ने आफैँ फेरि कहिल्यै सम्मानित हुँदैन ।
विचार, सिद्धान्त र मान्यताको विविधता प्राकृतिक नैसर्गिक पक्ष हो । तर पनि एक समयमा कृषिमन्त्रीमा नियुक्त नेका नेतृ शैलजा आचार्यले तत्कालीन माले नेता तथा पूर्व कृषिमन्त्री झलनाथ खनाल आसीन भएको कुर्सी नै बहिष्कार गर्नु भएको थियो । यो त उहिलेको कुरा हो । त्यस बेलाका चरम असहिष्णु विषय, सन्दर्भ र नाराहरू अहिले कोट्याउनु आवश्यक छैन । त्यसमा पनि अज्ञानीहरूसित रिसाउनु पनि हुन्न । पढेर र पिएचडी गरेर मात्र जीवन र यस सम्बन्धी सत्यार्थ प्रकाश हुन गाह्रो रहेछ । परिवर्तनका अनेक आन्दोलनमा लाग्नु र तदनुसारको संस्कार संस्कृति आत्मसात् गर्नु अर्को फरक कुरा रहेछ । समाज चाहिँ परिवर्तन गर्ने तर आफैँ चाहिँ निर्दलीय चरित्रको भइरहने यो अर्को उदेकलाग्दो विषय हो । तर २००७ देखिका हरेक परिवर्तनको संवाहक भनिएको बौद्धिक व्यक्तिले परिवर्तनका अनेक शृङ्खला पार गर्दा पनि प्राज्ञिक चेत, चिन्तन र चरित्र निर्दलीय पाराको र चरम असहिष्णुता देखाउँदा देख्नेलाई नै लाज भएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपतिले नियमतः शिक्षा मन्त्रालय वा सरकारको अनुमति र स्वीकृति नलिनु, बिदाको निवेदन मन्त्रलायमा बेवारिस छाड्नु, प्रधानमन्त्री कुलपति भएकाले उहाँसित राय परामर्श नै नगर्नु आदि गतिविधिहरू अत्यन्त अस्वाभाविक, असहज र चरम असहिष्णु पक्ष हुन् ।
वाल्मीकि क्याम्पसमा कार्यरत नेपाली विषयका एक सहप्राध्यापकका शब्दमा शैक्षिक प्राज्ञिक उच्च तहका केही व्यक्तिमा वैचारिक र राजनीतिक संकीर्ण प्रवृत्ति अहिलेको समस्याको जड हो । हुन पनि कतिपय मानिसहरू आदत र आग्रहका दास हुन्छन् । यिनको यस्तो चेत र चिन्तन आफ्नै प्राज्ञिक कोटरीमा पनि समस्या बन्ने गरेको हुन्छ र छ । तथापि प्रधानमन्त्री के.पी. ओली भने कला, साहित्य, संस्कृति तथा प्रज्ञामैत्री भावनाका हुनुहुन्छ । उहाँले नेका नेता कृष्णप्रसाद भट्टराईको एक स्मृति समारोहमा भट्टराईको उदात्त चरित्रका बारेमा व्याख्या दिनुभएको थियो । ओलीले ‘कृष्णप्रसाद भट्टराई जस्ता हाम्रा पुर्खाहरू यही देशमा अनेक खतबात, संकट र सकस सहेर आजीवन सक्रिय हुनुभयो, उहाँजस्ता व्यक्तित्वहरू यस देशका कुरूप पक्ष देखेर त्यसलाई हटाउन आजीवन लागिपर्नु भयो, अरुहरू जस्तो आफ्नो प्यारो मातृभूमि नेपाललाई सरापेर विदेशिनु भएन र प्रवासिनु भएन’ भन्नुभएको थियो । तर पनि हिजो अराजक खालको परिस्थितिमा बानी परेका कतिपय मानिसहरू अहिलेको सरकारको अनुशासित राष्ट्रिय जीवनलाई फुटेको आँखाले पनि देख्न नसकिरहेको स्थिति देखिन्छ ।
माइतीघर मण्डलामा विरोध जुलुस गर्न पाइएन भनेर सडकमा बृहत् रोइलो शुरु गरेको देखिन्छ । तर तिनलाई थाहा हुनुपर्ने कुरा हो– हिजो रत्नपार्क नै आन्दोलनको केन्द्र थियो । अझ त्यसभन्दा पहिले इन्द्रचोक र पीपलबोट नै सबै खालका आन्दोलनको केन्द्र थिए । आन्दोलनकारीलाई आन्दोलनको मात्र चिन्ता हुन्छ । तर सरकारले त देशको सडक आवागमन, शान्ति, सुरक्षा र अमनचयनको पनि ख्याल गर्नुपर्छ ।
नेपालमा अहिले सरकारले देश र दुनियाँमा आशा र भरोसाको रक्त सञ्चार गर्न खोजेको छ तर स्वयं पठित राजनीतिक र बौद्धिक भनाउँदो जमात यसमा पानी फेर्न ज्यान फालेर लागिपरेको छ । प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि समर्पण भाव बिना सम्भव हुन्न भन्नुभएको छ । अब सरकारी धन भनेर फुक्काफाल गरेर हुँदैन । कुनै मानिसले आफ्नो घर बनाउँदैछ भने भोजभतेरका काममा रुपियाको फुक्काफाल गर्दैन । किनकि यसो ग¥यो भने घर बन्दैन । चीन अरुहरूको सहयोगलेभन्दा आफ्ना तमाम जनताको समर्पण भावमा विकसित बनेको हो । चीनमा उहिले नै भयानक भूकम्प गयो तर माओले विदेशीसित दयाको भिख माग्नु भएन । अहिले सरकारले बसाल्न लागेका थितिमाथि अरु त अरु सवर्गी, सगोत्री र अंशियारहरू नै सडक रोइलो गरिरहेको सुनिन्छ ।
कुरोको चुरो के हो भने यो दुई तिहाई नजिकको शक्तिशाली सरकार केही कथित स्वदेशीका लागि र अझ केही बाह्य शक्तिका लागि आँखाको कसिङ्गर भएको छ । यसका विरुद्ध जो जसरी पनि जुनसुकै लगानीमा परिचालित हुनसक्छ । यस्ता विषयलाई सतही रूपमा हेरेर लहैलहैमा लागियो भने यो अमूल्य मौका खेर जानसक्छ । पहिले नेपालमा रेल नै आउँदैन भन्ने अनि आफ्ना घोषणा पत्रमा चाहिँ कुदेको रेलको फोटो छाप्ने ! अहिले रेल आउने निश्चित भएपछि नेपालबाट रेलमा के पठाउने भनेर उनीहरूले नै काकोहोलो गरेको सुन्नु परेकै छ । नेपालमा वायुसेवा निगम शुरु गर्दा नेपालीहरू हवाइजहाज चढ्छन् र भन्ने अज्ञानी पनि यस्तै कुरा गर्थे । धरान र धनकुटा कालोपत्रे बाटो बनेपछि भरियाहरू भोकै पर्छन् भनेर आजकै जस्ता मानव रुवाबासी गर्थे । यो त्यस्तै हो । कति रिसले विरोध गर्छन्, कति नबुझेर गर्छन् ।
ओली सरकारलाई अधिनायकवादी भन्ने हौवा पिटेको पनि देखिएकै छ । तर तिनले जननेता मदन भण्डारीले यस सम्बन्धी गरेको व्याख्या पढेकै छैनन् र यसको प्रचार पनि त्यति भएको जस्तो लागेको छैन । मदनले अधिनायकवाद राज्यको चरित्र नै हो भन्नु भएको छ । यसलाई कति कुरूप तरिकाले गर्ने भन्ने एउटा विषय हो । युद्धकालीन माक्र्सवादको अभ्यासमा अधिनायकी केही अति भए पनि यस खालको अति आवश्यक कोमल वा कठोर नियन्त्रण जुन सरकार र सत्ताले गर्छ भन्नु भएको छ, जबज (जनताको बहुदलीय जनवाद)ले चाहिँ अधिनायकत्व होइन, त्यसलाई नेतृत्व गर्छ भनेर कोमल र कलात्मक हस्तक्षेपका अर्थमा लिनु भएको देखिन्छ । साँच्चै अधिनायकत्व र निरङ्कुशता भनेको त सर्वोच्चका न्यायपरायण न्यायमूर्तिलाई जोरजबर्जस्ती गलहत्याउन खोज्नु, योग्य र अनुभवी प्रहरीलाई खुलेआम मानमर्दन गरेर अयोग्य साबित गर्नु आदि नीति, नियम, विधि र पद्धतिलाई पूरै उपेक्षा गरेर पाँडेपजनी गर्नु हो । यस्तो केही समय अगाडि मात्रै पनि नेपालमा देखिएकै हो । र, यस्तै अराजकतामा बानी परेकाहरूले वर्तमान सरकारको विरोध गर्नु स्वाभाविक छ ।
वरिष्ठ प्राज्ञ वा उपकुलपति ज–जसले गरे पनि अनुशासन विपरीतका काम सही हुँदैनन् र यस्ता कुरालाई सही मानेर वा भनेर जाने हो भने यस्तो चरित्रले देशलाई दुर्गतिमा लैजान धेरै दिन लाग्दैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना