सजाय नतोकेसम्म गङ्गामायाले अनशन नतोड्ने

सीता शर्मा

काठमाडौँ, असार २८ गते । छोराको हत्यारालाई कारवाही गराउने मागसहित गत जेठ १५ गते (गणतन्त्र दिवस) देखि पुनः अनशनरत गोर्खा फुजेलकी गङ्गामाया अधिकारीले सबै अभियुक्तलाई पक्राउ गरी सजाय नतोकेसम्म अनशन नतोड्ने अडान लिनुभएको छ । काठमाडौँको वीर अस्पतालमा ४४ दिनदेखि अनशनरत गङ्गामायाले गोरखापत्रसँगको कुराकानीमा आफू न्यायका लागि लडिरहेको र न्याय नपाउँदासम्म अनशन जारी राख्ने बताउनुभयो ।
उता छोरा कृष्ण अधिकारीको हत्याका आरोपी चितवनका छविलाल पौडेलले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरिसक्नुभएको छ । पौडेल पुर्पक्षका लागि जेलमा रहेको अवस्थामा समेत गङ्गामायाले अनशन तोड्न सहमत हुनुभएको छैन ।
‘आत्मसमर्पण मेरो अनशन तोडाउने नाटक हो, मैले त्यही बुझेकी छु, मेरो छोरा मार्ने सबै अभियुक्तलाई सर्वस्वसहित आजीवन कारावास हुनुपर्छ अन्यथा कसैले भनेको भरमा अनशन तोडदिन मेरो अब के नै बाँकी रहेको छ र ?’ गङ्गामायाले भन्नुभयो–‘कति सजाय हुने हो त्यो तोक्नुप¥यो, चार वर्षदेखि बेपत्ता छोरा खोज्नुप¥यो, पतिको दाहसंस्कार गर्नुप¥यो ।’
वि.सं. २०६२ जेठ २४ गते छोरा कृष्ण अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेको आरोप अधिकारी परिवारको छ । यही विषयमा चितवन जिल्ला अदालतमा गोर्खा फुजेलकै छविलाल पौडेल लगायतविरुद्ध किटानी जाहेरी परेको थियो । छोरा कृष्णको हत्या भएपछि गत सात वर्षदेखि न्यायको खोजीमा आफू निरन्तर लडिरहेको उहाँले बताउनुभयो ।
न्यायकै खोजीमा अधिकारी दम्पतीले २०६९ सालदेखि वीर अस्पतालमा अनशन सुरु गर्नुभएको थियो । सोही क्रममा गङ्गामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको वीर अस्पतालमा अनशनकै क्रममा मृत्यु भइसकेको छ । पतिको मृत्युपछि पनि गङ्गामायाले हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै सडक आन्दोलनमा हुनुहुथ्यो ।
गत जेठ १५ गते गणतन्त्र दिवसका दिन सरकारले उज्जन श्रेष्ठको हत्याको आरोपमा सजाय पाएका बालकृष्ण ढुङ्गेलको रिहाइ गरेकै दिनदेखि वीर अस्पतालमा उहाँ अनशनरत हुनुहुन्छ ।

सोमबार मात्रै गङ्गामायाको अनशन तोडाउन भन्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजिव गौतमको नेतृत्वमा गृृह मन्त्रालयबाट रामकृष्ण सुवेदी, काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहितको टोली वीर अस्पताल पुगेको थियो । टोलीले मुख्य आरोपी भनिएका पौडेलले आत्मसमर्पण गरिसकेको भन्दै अनशन तोड्न आग्रह गरे पनि गङ्गामायाले अस्वीकार गर्नुभयो ।
‘कानुन मन्त्रालयका सचिव गौतमको नेतृत्वमा आएको टोली अनशन तोडन भनेका थिए तर म मानिन्, गङ्गामायाले भन्नुभयो ‘कसैका आश्वासन आउला र अनशन तोडौला भनेर म अनशन वसेकी होइन, मेरा अनशन न्यायका लागि हो, न्याय नपाउँदासम्म म अनशन तोड्दिन,’ उहाँले भन्नुभयो ।
सरकारले साच्चिकै न्याय दिने हो भने मेरो छोरा कृष्णलाई गोली प्रहार गर्ने मुख्य व्यक्ति रुद्र आचार्यलाई पक्राउ गर्नुपर्ने माग उहाँले राख्नुभयो । त्यसैगरी हत्यामा संलग्न चितवनकै रामप्रसाद अधिकारी (१) र रामप्रसाद अधिकारी (११), छविलाल पौडेल, भिमसेन पौडेल, परशुराम पौडेल र जानुका पौडेल सबैलाई पक्राउ गरी सजाय तोक्नुपर्ने उहाँले माग गर्नुभयो ।
सरकारले छविलाललाई पक्राउ गरे पनि बीचमै छाड्न सक्ने आशङका व्यक्त गर्दै उहाँले भन्नुभयो ‘पहिला पनि छविलाललाई थुनेर छाडेको थियो, फेरि पनि त्यो नदोहोरिएला भन्न सकिन्न ।’
वीर अस्पताल आइसियु विभागका अनुसार मङ्गलबार विहानैदेखि गङ्गामायालाई ज्वरो आइरहेको छ । स्लाइन दिएर आइसियूमै रहनुभएकी गङ्गामायालाई इन्जेक्सनको माध्यमबाट ज्वरोको औषधि चलाइएको सो विभागले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds