मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा ढिलाइ

गोरखापत्र समाचारदाता

ललितपुर, असार २८ गते । ललितपुरको बुङ्मतीस्थित ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका काम तोकिएको समयावधि सकिसक्दा पनि जगबाट माथि उठ्न सकेको छैन ।
निर्माणको प्रक्रियालाई लिएर कहिले स्थानीय बासिन्दाको अवरोध त कहिले काठ र ढुङ्गाको अभावका कारण पुनर्निर्माणको काममा ढिलाई भइरहेको छ । गत जुन महिनामा नै सम्पन्न भइसक्नुपर्ने परियोजनाको समयावधि पुनः छ महिना थप गरिएको भए पनि सो अवधिमा उक्त परियोजना सम्पन्न हुनेमा सरोकारवालाहरूले आशङ्का ब्यक्त गरिरहेका छन् ।
श्रीलङ्का सरकारको अनुदान सहयोगमा पुनर्निर्माण थालिएको काम समयमा सम्पन्न हुन नसक्दा लागत समेत बढिरहेको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउनुहुन्छ ।
मन्दिर पुनर्निर्माणको पर्यवेक्षण तथा अनुगमनका लागि श्रीलङ्का सरकारको तर्फबाट बनाइएको सञ्चालन समितिका सदस्य शाक्यका अनुसार सुरुमा मन्दिर पुनर्निर्माणको अनुमानित बजेट चार करोड ६४ लाख रुपियाँ अनुमान गरिएको भए पनि परियोजना ढिलाई हुँदा त्यसमा १० प्रतिशत थप भएर करीब पाँच करोड रुपियाँ पुगिसकेको छ ।
मन्दिर पुनर्निर्माणको लागि आवश्यक काठ र ठूला ठूला ढुङ्गाका पिलरको जोहो गर्नुपर्ने भएकोले पनि त्यसमा बढी समय लागेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजी प्याकुरेलले बताउनुभयो ।
निकै मुस्किलसँग ढुङ्गाको जोहो भइसकेपछि पनि जगमा प्रयोग भएको मोटारको गुणस्तरियताप्रति युनेस्कोका प्रतिनिधिले असन्तुष्टि जनाएपछि पुनः जग बलियो बनाउन काम थालिएको उहाँले बताउनुभयो ।
प्याकुरेलले भन्नुभयो “प्लेन्थ तहको एक तह निकालेर झण्डै एक महिनासम्म भिजाएको मोटारको प्रयोग गरिएको छ । सम्पदा निर्माण अत्यन्तै संवेदनशील र बढी समय लिने काम पनि हो । हतार गरेर मात्र पनि हुँदैन । ”
पुनर्निर्माणको लागि ठेक्का पाएको कम्पनी प्रेररा थोगिम एण्ड तुलसी जेभी ऐतिहासिक संस्कृति सम्पदा पुनर्निर्माणको क्षेत्रमा खासै अनुभव हासिल गरेको कम्पनी नभएकाले पनि केही ढिलाइ भएको उहाँले बताउनुभयो । समयमा काम सम्पन्न हुन नसक्दा यसको लागत केही बढी भए पनि त्यति धेरै थप गर्ने पक्षमा श्रीलङ्का सरकार नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
भूकम्प गएको ११ महिनापछि ऐतिहासिक सम्पदाको रुपमा रहेको बुङ्गमतिका निजी आवास पहिलेकै जस्तै संस्कृति झल्कने गरी बनाउने र ऐतिहासिक मन्दिरको पनि तत्काल पुनर्निर्माण गर्ने भनेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
तर झण्डै तीन वर्ष पुग्न लाग्दा पनि न त मन्दिर निर्माण हुन सकेको छ । न त बुङ्गमतीबासीका निजी घरहरू मौलिक शैलीमा बनिरहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds