बनेनन् नमुना पेट्रोल पम्प मापदण्ड नै परिवर्तन गर्दै निगम


लक्ष्मण दर्नाल

काठमाडौँ, असार २८ गते । नमुना पेट्रोल पम्प बनाउने नेपाल आयल निगमको मापदण्ड अनुसार काम हुन नसकेपछि मापदण्ड नै परिवर्तन गर्न लागिएको छ । झण्डै दुई वर्षअघि निगमले नमुना पेट्रोल पम्प निर्माणका लागि आवेदन खुलाएको थियो । ९२ आवेदन दिएका परेकामा २५ ले स्वीकृति पनि पाएका थिए तर हालसम्म जम्मा दुईवटा पम्प मात्र सञ्चालनमा आएका छन् ।
विराटनगर र पोखरामा नमुना पेट्रोल पम्प सञ्चालनमा आएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनुभयो । नमुना पेट्रोल पम्प निर्माणका लागि तराईमा एक बिघा र पहाडमा पाँच रोपनी जग्गा हुनुपर्ने प्रावधान छ । सोही प्रावधानका कारणले व्यवसायीहरूले लगानी गर्न नसकेको र बारम्बार गुनासो अएपछि मापदण्ड सच्याउन लागिएको निगमले जनाएको छ ।
नमुना पम्प बिक्रेताको बिक्रीस्थलमा प्रत्येक पेट्रोलियम पदार्थको न्यूनतम एक–एक वटा १२÷१२ के.एल. क्षमताको अण्डरग्राउण्ड सिलिण्डिकल (स्टिल टैङ्क) न्यूनतम ५ मि.मि. मोटाइएको स्टिल सिटले बनेको भण्डारण टैङ्क आवश्यक निर्माण पूर्वाधारसहित हुनुपर्नेलगायतका निगमले ३६ वटा मापदण्ड निर्धारण गरेको थियो ।
निगमका अनुसार निजी क्षेत्रबाट पूर्वाञ्चलमा १३ वटा, मध्यमाञ्चलमा २६, पश्चिमाञ्चलमा १७ र मध्यपश्चिम र सुदूरपश्चिममा १÷१ गरी जम्मा ५६ वटा नयाँ पम्प सञ्चालनका लागि आवेदन परेका थिए । सरकारीतर्फ साल्ट टे«डिङले प्रदेश ४ मा ४ वटा, साझा पेट्रोल पम्पले ४ वटा, नेसनल टे«डिङले ७ वटा र नेपाली सेनाले २ वटा पम्पका लागि आवेदन दर्ता गरेका थिए तर कसैले पनि पेट्रोलपम्प भने बनाएका छैनन् । केही पेट्रोलपम्प बन्दै गरेको निगमले जनाएको छ ।
निगमले २०७३ पुस १८ गतेदेखि माघ मसान्तसम्म नमुना पेट्रोल पम्प निर्माण गर्न आवेदन खुलाएको थियो । उतिबेलै २५ जना व्यवसायीलाई स्वीकृति पनि दिएको थियो ।
भट्टराईले भन्नुभयो ‘व्यवसायीहरूबाट धेरै गुनासो आयो मापदण्ड व्यवहारिक भएन, सबै ठाउँमा एकैखाले मापदण्ड राम्रो भएन भन्ने कुरा आएपछि हामीले पुनः विचार गरेका छौँ । जग्गाको मापदण्ड बढी भएको जस्तो लाग्यो, अर्को कुरा सबै ठाउँमा एउटै मापदण्ड पनि राम्रो होइन, लगानी र व्यापार हेरेर मापदण्ड बनाउँदैछौँ, केही सच्याउन पर्ने पनि देखिएको छ । ’
उहाँका अनुसार नमुना पेट्रोल पम्पका लागि तीन किसिमका मापदण्ड तय गरी मस्यौदा तयार भएको छ । छिट्टै यसको कार्यान्वयन हुनेछ ।
नमुना पेट्रोल पम्पका लागि तराई र भित्री मधेसमा एक बिघा र पहाडी तथा हिमाली क्षेत्रमा पाँच रोपनी जग्गा हुनुपर्ने प्रावधान छ । जग्गाको सडकतर्फको मोहडा ४० मिटर र चौडाइ ५० मिटर हुनुपर्नेछ । हाल चलिरहेका साधारण पम्मबाट एकतर्फी रूपमा पाँच सय मिटर दूरी कायम गर्नुपर्नेछ भने नमुना पम्पको बिक्री स्थलबाट अर्को नमुना पम्पको बिक्री स्थलको दूरी तीन किलोमिटर कायम गरिएको थियो ।
त्यस्तै, भौतिक संरचनाहरूको पनि मापदण्ड तोकिएको थियो । बिक्री स्थलमा ड्राइभ वे, पम्पयार्ड, सार्वजनिक सडक सीमादेखि पम्पयार्ड एप्रोच रोडको वा कङ्क्रिट ढलान (आरसीसी) वा ढुङ्गा छापी सिमेन्ट जोडाइ भएको वा सिमेन्टबाट बनेको इन्टरलकिङ टायलबाट बनेको हुनुपर्ने थियो । निगमले बिक्री स्थलको तीनतर्फ कम्तीमा तीन फिट र पाँच फिटसम्म उचाइ भएको कम्पाउन्ड हुनुपर्ने मापदण्ड तोकेको थियो ।
त्यस्तै, कम्पाउन्डभित्र एप्रोच रोड, टैङ्क फार्म, बिक्री कक्ष, पार्किङ एरियाबाहेकका सवारी साधन आवत जावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्ने मापदण्ड तोकिएको थियो । मापदण्ड अनुसार बिक्री स्थलमा पुरुषका लागि दुईवटा शौचालयसहितको छ वटा यूरिनरी, महिलाका लागि न्यूनतम चारवटा र एउटा अपागङ्मैत्री शौचालय निर्माण गर्नुपर्नेछ । पम्पमा पिउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्ड थियो ।
नमुना पेट्रोलपम्पमा न्यूनतम आठवटा सवारी साधनमा कम्तीमा एक पटकमा चारवटा पेट्रोल नोजल र चारवटा डिजल नोजलबाट रिफ्युलिङ गर्ने व्यवस्था हुनुपर्ने, इलोक्ट्रोनिक कार्डबाटसमेत खरिद गर्न मिल्ने व्यवस्था हुनुपर्ने मापदण्ड राखिएको छ । जुन व्यावहारिक हुन नभएको भट्टराईको भनाइ छ ‘कुनै पनि पम्पलाई हालको अवस्था हेर्दा आठवटा नोजल रिफ्यूलिङ जरुरी नै छैन । ’
त्यस्तै, न्यूनतम १० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस र कफी सप आदिको पनि सुविधा हुनुपर्ने व्यवस्था थियो । न्यूनतम २० वटा गाडी पार्किङ गर्न मिल्ने पाँच सय वर्ग मिटरको पार्किङ क्षेत्र हुनुपर्ने प्रावधान छ । त्यस्तै, गाडी धुन मिल्ने टायरमा हावा भर्ने व्यवस्था, सामान्य मर्मत गर्नसकिने मर्मत केन्द्र पनि हुनुपर्ने मापदण्ड छ । स्वचालित बिलिङ, एटीएम काउन्टरको व्यवस्था पम्पमा कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्मको कम्पाउन्ड हुनुपर्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds