दर्जनौँ गाउँ डुबानको खतरामा


यादवराज पुरी/रौतहट

रौतहट, असार २८ गते । वर्षा सुरु भएपछि रौतहटका दुई ठूला नदी बकैया र बागमतीमा आएको बाढीले नदी किनार कटान गर्न थालेपछि नदी आसपासका दर्जनौँ गाउँ डुबानमा पर्न सक्ने अवस्थामा छ ।
बकैया नदी किनारमा रहेको इनर्वा, कटहरिया, भसेडवा, मर्यादपुर, टिकुलिया, कर्कच, गोनाही बिर्ती, बरेडवा एवं बागमती नदी किनारका ब्रह्मपुरी, धर्मपुर, मत्सरी, सरुअठा, गढौ, रमौली, हरैया, लक्ष्मीपुर, पकाहालगायत दर्जनौँ गाउँ डुबानको उच्च जोखिममा छन् । badha katan
बाढीले ड्याम कटान गरी बस्ती प्रवेश गर्ने हो कि भन्ने त्रासले नदी आसपासका बस्तीका मानिस खबरदारी गर्न राति पालैपालो जागराम बस्ने गरेका छन् । इनर्वाका कपिलदेव महतो भन्नुहुन्छ, बाढी प्रवेशको सम्भावना हुनासाथ बस्तीका मानिसलाई सूचना दिन र समयमै सुरक्षित हुनका लागि पनि राति पालैपालो जागराम बस्न थालिएको हो । गत सातादेखि नै यो प्रक्रिया जारी छ ।
बकैया नदी किनारमा रहेको इनर्वा गाउँ उच्च जोखिममा छ । गत साता आएको बाढीले बाँध कटान गरेपछि गाउँ डुबानको जोखिममा परेको छ । नदीमा आएको बाढीले कटान सुरु गरेदेखि नै राति निद्रा नपरेको स्थानीय रविन्द्र साह बताउनुहुन्छ । यस्तै बागमती नदीको पश्चिमी बाँध कटान हुन थालेपछि वर्षौंदेखि सुरक्षित रहँदै आएको बसतपुर, हजमिनिया, सिर्सिया र सदरमुकाम गौरलगायतका बस्तीमा बाढी पस्ने सम्भावना उच्च रहेको छ ।
बसतपुरको बस्ती सुरक्षित पार्न बनाइको ६ र ७ नम्बरको स्परमा कटान तीव्र भइरहँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । नदीलाई मूलधारमा ल्याउन सकिएन भने बस्ती डुब्न सक्ने खतरा अधिक छ । यसबारे जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवसँग सम्पर्क गर्दा उहाँ सम्पर्कविहीन हुनुहुन्थ्यो ।
बकैया र बागमती नदीबाट हुने समस्याको दीर्घकालीन समाधानको उपाए नहुँदा रौतहटले बर्सेनि पीडा भोग्नु पर्ने बाध्यता छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना