अमेरिकामा आफ्नै बन्दुक आतङ्क


Ram prashadरामप्रसाद आचार्य

अमेरिकाको मेरिल्यान्डस्थित क्यापिटल गजेट पत्रिकाको कार्यालयमा बन्दुकधारीको आक्रमणमा पाँचजना पत्रकार मारिए भने केही घाइते भए । फाउन्टेन हिल्स सहरमा आफूलाई वृद्धाश्रममा लैजान लागेको थाहा पाएपछि ९२ वर्षीया आमाले गोली हानी ७२ वर्षीय छोराको हत्या गरिन् । यसअघि फ्लोरिडास्थित एक विद्यालयमा भएको गोलीकाण्डमा शिक्षक र विद्यार्थी गरी १७ जना मारिए । यस्ता बर्बर आक्रमण निन्दनीय छन् । यी घटनासँगै बन्दुुक नियन्त्रण गर्नुपर्ने आवाज फेरि चर्को रूपमा उठेको छ ।
राजधानी वासिङ्टन डीसीलगायत आठ सय स्थानमा लाखौँ विद्यार्थीले विरोध प्रदर्शन गर्दै बन्दुक नियन्त्रण गर्न माग गरे । फ्लोरिडाको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बन्दुकमा प्रयोग गरिने बम्प स्टक (एकप्रकारको अत्याधुनिक उपकरण) लाई अवैधानिक घोषणा गरेको छ । स्वचालित बन्दुकमा प्रयोग गरिने त्यस्तो उपकरण अर्धस्वचालित बन्दुकमा जडान गरेपछि धेरै गोली भण्डारण गर्न मिल्नुका साथै त्यसबाट एक मिनेटमै सयौँ राउन्ड फायर गर्न सकिन्छ । ‘सेमी असल्ट राइफल’ हरूमा प्रयोग गरिने यस्ता बम्प स्टकका कारण अमेरिकामा सामूहिक गोलाबारी हुने गरेको छ । गत वर्ष लस भेगासमा यस्तै उपकरणजडित राइफल प्रयोग गरेर सामूहिक गोलाबारी हुँदा ६० जनाको ज्यान गएको थियो भने पाँच सयजना घाइते भएका थिए ।
अमेरिकाको क्यालिफोर्नियास्थित एक सामाजिक गृहमा दुई वर्षअघि स्थानीय मुसलमान दम्पतीले अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गर्नुका साथै २१ जनालाई घाइते बनाएको घटना पछाडिको रहस्योद्घाटन सँगसँगै अमेरिकाभरि ठूलो आतङ्क छायो । हत्याकाण्डमा संलग्न दम्पती इस्लामिक उग्रवादी समूह आईएस स्टेटका अनुयायी भएको खुलासा भएको छ । सो हत्याकाण्डलगत्तै उनीहरू प्रहरीको कारबाहीमा मारिए । आईएस स्टेटले आफ्नो आग्रहमा अमेरिकामा आक्रमण गरेको भन्दै दुवैजना आफ्ना सहिद भएको दाबी ग¥यो । उसको यो दाबीबारे अनुसन्धान गरिरहेको अमेरिकी सङ्घीय जाँच व्युरो एफबीआईले दुवैजना इस्लामिक उग्रवादी विचारबाट प्रभावित भई सो आक्रमण गरेको प्रमाण फेलापरेको बताएको छ ।
सो हत्याकाण्डबारे कडा टिप्पणी गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी भूमिमा आक्रमण गर्ने कुनै पनि सङ्गठनलाई ध्वस्त पारेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आक्रमणकारी दम्पती इस्लामिक उग्रवादी सोचबाट प्रभावित भएको बताउँदै यस्तोखाले सोचबाट प्रभावित भई आतङ्कवादी क्रियाकलापमा संलग्न नहुन अमेरिकावासीलाई आग्रह गर्नुभएको थियो ।
सो घटनालाई लिएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया हत्याकाण्ड आतङ्कवादी आक्रमण भएको भन्दै यस्तो आतङ्कबाट अमेरिकालाई जोगाउन मुसलमानहरूलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने अभिव्यक्ति दिनुभयो । सो घटना हुँदा ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले यो विषयलाई आफ्नो चुनावी मुद्दा बनाउनुभयो । ट्रम्पको यो अभिव्यक्तिले अमेरिकामा बस्ने सम्पूर्ण मुसलमानलाई दुःखी बनायो । उनीहरूले यो अभिव्यक्तिले जातीय तथा धार्मिक विभेद र द्वन्द्व बढाउने भन्दै दुःख व्यक्त गरे । यस्तो अभिव्यक्ति मुसलमान समुदायमाथिको अपमान हो भन्दै अमेरिकाका विभिन्न राज्यमा विरोध प्रदर्शनसमेत भए । उता, अरब लिगले पनि ट्रम्पको अभिव्यक्तिले विश्वभरिका मुसलमानको अपमान गरेको भन्दै खेद व्यक्त गरेको थियो ।
क्यालिफोर्निया गोलीकाण्डमा संलग्न मुसलमान दम्पती २९ वर्षीय सैयद रिजवन फारुक र उनकी २८ वर्षीया पत्नी तसफिन मलिक किन आईएस स्टेटका आतङ्कवादी गतिविधिप्रति आकर्षित र प्रभावित भए भन्नेबारेमा एफबीआईले थप अनुसन्धान गर्दै छ ।
यसो त अमेरिकामा आत्मसुरक्षाका लागि त्यहाँका नागरिकले बन्दुक राख्न पाउने संवैधानिक अधिकारको व्यवस्था गरिएको छ । यो अधिकारको दुरुपयोग हुँदा बन्दुक नै अहिले सार्वजनिक सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ । बन्दुकधारीले त्यहाँका स्कुल, क्याम्पस, अस्पताल, सामाजिक संस्थामा बारम्बार अन्धाधुन्ध गोली प्रहार गरी सामूहिक हत्या गर्ने र धेरैलाई घाइते बनाउने क्रम बढ्दै गएको छ । बन्धुकधारीको आक्रमणबाट त्यहाँ बर्सेनि सयौँ निहत्था मानिसको ज्यान जानुका साथै हजारौँ घाइते हुने गरेका छन् । बन्दुकको दुरुपयोग रोक्न अमेरिकी सरकारले विभिन्न कदम चाल्दै आए पनि सफलता पाउन सकेको छैन । त्यहाँ अठारौँ शताब्दीदेखि नै बन्दुकको दुरुपयोग गरी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दै सामूहिक हत्या गर्नेक्रम सुुरु भएको हो । अमेरिकाका ५० वटै राज्यका बासिन्दा बन्दुक आतङ्कबाट पीडित छन् । बन्दुक व्यक्तिको हातबाट हटाएर राज्यको नियन्त्रणमा लिनुपर्छ भन्ने बहस हुँदै आएको पनि छ । तर, यसले सार्थक रूप लिन सकेको छैन ।
अमेरिकामा हरेक वर्ष बन्दुकबाट ३० हजार मानिस मारिन्छन् । त्यहाँको जनसङ्ख्या ३२ करोड रहेकोमा प्रहरी र सर्वसाधारणसँग गरी ३७ करोड बन्दुक रहेको छ । वर्षमा हुने ६० लाख अपराधका घटनामध्ये छ लाख घटना बन्दुकको प्रयोगबाट हुने गरेको छ । हरेक वर्ष एक लाखमा औसत १० जनाको गोली लागेर मृत्यु हुन्छ । तर पनि त्यहाँ हरेक वर्ष ५५ लाख निजी हतियार बनाइन्छ । ९५ प्रतिशत हतियार देशभित्रै खपत हुन्छ । हतियार खरिद गर्ने मानिसको न्यायिक रेकर्ड उपलब्ध हुँदैन ।
अमेरिकामा आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउनुपर्छ भन्नेहरूको जमात ठूलो छ । एफबीआईका अनुसार त्यहाँ २८ करोड ३० लाख बन्दुक निजी व्यक्तिका हातमा छन् । व्यक्तिले निजी बन्दुक राख्न पाउने भएकाले बर्सेनि यस्ता बन्दुकको उत्पादन र बिक्रीवितरण पनि उल्लेख्य रूपमा हुने गरेको छ । त्यहाँ बन्दुकको ठूलो आर्थिक कारोबार हुने भएकाले सो कारोबारमा संलग्न व्यक्ति तथा समूह साथै बन्दुकका पारखीका कारण बन्दुक नियन्त्रण गर्ने कार्य त्यहाँ असम्भवजस्तै बनेको छ ।
पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो दुई कार्यकालमा बन्दुक आतङ्क नियन्त्रण गर्न निकै प्रयास गर्नुभयो । उहाँले संविधानमा संशोधन गरी नयाँ कानुन नै बनाएर बन्दुक नियन्त्रण गर्नुपर्छ भनी संसद्का दुवै सदनमा बहससमेत गराउनुभयो तर सफलता पाउन सक्नुभएन । उहाँले बन्दुक नियन्त्रण गर्न नसक्नु आफ्नो दुई कार्यकालको सबैभन्दा ठूलो असफलता भएको बताउनुभयो । बन्दुकको दुरुपयोग रोक्न पनि नसक्ने र व्यक्तिका हातमा रहेका बन्दुक राज्यले नियन्त्रण गर्न पनि नसक्ने अवस्था विद्यमान रहेकाले बन्दुक व्यवस्थापन अमेरिकी सरकारका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ ।
अमेरिकाका सबै राज्यमा सर्वत्र सर्वसुलभ ढङ्गले उपलब्ध बन्दुकको दुरुपयोग गरी आफ्नो अभीष्ट पूरा गराउन आतङ्कवादी तथा अतिवादी समूह यसमा खेल्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदाले अमेरिकी नागरिकलाई नै अन्धभक्त बनाई सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमण गराएको पृष्ठभूमिमा पछिल्ला दिनमा आईएस स्टेटले क्यालिफोर्नियामा बन्दुकधारी दम्पतीलाई अन्धभक्त बनाएर हत्याकाण्ड गराएको छ । आईएस स्टेटले त्यहाँ बन्दुकधारीलाई आफ्नो अनुयायी बनाएर यस्ताखाले ठुल्ठूला आतङ्कवादी आक्रमण गराउन सक्ने सम्भावना बढेको छ ।
त्यसैले अमेरिका र आमअमेरिकी जनताको सुरक्षाका लागि बन्दुकको सही व्यवस्थापन गरी बन्दुकधारीलाई आतङ्कवादीको प्रभावमा पर्न नदिन विशेष कदम चाल्नुपर्ने र यसका लागि सबै एकमत हुनुपर्ने बेला आएको छ । बन्दुक आतङ्क बन्द गर्नका लागि हतियार व्यवस्थापन नै उपयुक्त विकल्प हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना