न्यायाधीश नियुक्तिको विवाद संवैधानिक इजलासमा

नारायण काफ्ले

काठमाडौँ, असार २९ गते । गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीश नियुक्तिको मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको छ । न्यायपालिका सम्बन्धी संविधानको व्यवस्थामा न्यायाधीश नियुक्तिमा समानुपातिक समावेशी व्यवस्थाबारे संविधान मौन रहेको भन्दै सर्वोच्चको तीन सदस्यीय इजलासले मुद्दा संवैधानिक इजलासमा पेस गर्ने आदेश दिएको हो ।
न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ ‘न्याय परिषद ऐन २०७३ को दफा ५ मा न्याय परिषद्ले संविधानको अधिनमा रही समानुपातिक समावेशी सिद्धान्त बमोजिम न्यायाधीशको पदमा नियुक्तिको लागि सिफारिस गर्नेछ भन्ने व्यवस्था भइरहेको सन्दर्भमा न्यायपालिकामा हुने न्यायाधीश पदको नियुक्तिको विषयमा सिद्धान्त कायम हुन सान्दर्भिक र उपयुक्त समेत हुने भएकाले सो सन्दर्भ लगायतका विषयमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिँदा प्रस्तुत विषय संवैधानिक इजलासबाट निरुपण हुन उपयुक्त देखिएकाले नेपालको संविधानको धारा १३७(३) र सर्वोच्च अदालत संवेधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७२ को नियम १७(२) बमोजिम प्रस्तुत रिट निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने गरी तोक्नका लागि सम्माननीय प्रधानन्यायाधीश समक्ष पेस गर्नू ।’
अदालतले आदेशमा न्याय परिषद्को निर्णयका क्रममा परिषद्का सम्पूर्ण सदस्यहरू उपस्थित नभएको पनि आदेशमा उल्लेख गरेको छ । २०७३ पुस २८ मा परिषद्ले उच्च अदालतमा ८० न्यायाधीश सिफारिस गरेको थियो । नियुक्ति समावेशी र वरिष्ठता अनुसार नभएको भन्दै फरक फरक पाँचवटा रिट सर्वोच्चमा दर्ता भएका थिए । न्यायाधीश नियुक्त भएको तीन महिनापछि रिट दर्ता भएका थिए ।
परिषद्ले तत्कालीन न्याय, कानुन र सरकारी वकिल समूहका विशिष्ट श्रेणीका कर्मचारीबाट पाँच र जिल्ला अदालतका ३४ जना न्यायाधीशलाई उच्च अदालतमा न्यायाधीश सिफारिस गरेको थियो । यस्तै, तत्कालीन पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशबाट १० जना, न्याय, कानुन र सरकारी वकिल समूहका प्रथम श्रेणीका अधिकृतबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो । यस्तै, २५ जना कानुन व्यवसायी पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds