वन संरक्षण गर्न घरघरमा ग्यास


बेलिना थापा

लमजुङ, असार ३१ गते । लमजुङको पर्यटकीय गाउँ भुजुङमा घरघरै ग्यास जोडिएको छ । बर्सेनि बन फडानी हुँदै गएपछि क्ब्होलासोंथर गाउँपालिका–४ भुजुङमा वन संरक्षण गर्नका लागि गाउँमा घरघरै सिलिन्डर ग्यास जोडिएको छ ।
युम्बो विकास आमा समूहकी अध्यक्ष मविना गुरुङका अनुसार सुधारिएको फलामे चुलो जडान गरिए पनि दाउराको खपत नरोकिएपछि ग्यास जडान गरिएको हो । घरघरै ग्यास छ । खाना पकाउन अब दाउरा चाहिएन । काम पनि छिटो भएको छ, उहाँले भन्नुभयो । एक्यापको सहयोगमा गाउँलेले नाचगानबाट उठाएको रकमले ग्यास जडान गरेपछि गाउँका सबैलाई सहज भएकोे उहाँले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा स्थानीयले ग्यास जडान गरेका हुन् । वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार स्थानीय समूहको ७५ र एक्यापको २५ प्रतिशत रकमबाट घरघरै ग्यास चुलो वितरण गरिएको हो । वैदेशिक रोजगारबाट फर्किएका र लाहुरेबाट नाचगान गरी रकम सङ्कलन गरिएको गुरुङले बताउनुभयो । gyas
यसअघि स्थानीयले सरकारको ५० प्रतिशत अनुदानमा फलामे सुधारिएको चुलो जडान गरेका थिए । स्थानीय यमबहादुर गुरुङका अनुसार चुलोमा बालबालिकाको जोखिम, धूवाँ हुने, दाउरा काट्ने झन्झट हुने भएपछि ग्यास जडान गरिएको हो । उहाँका अनुसार ढुवानीसमेत गर्दा एउटा ग्यासको सात हजार पाँच सय रुपियाँसम्म परेको छ ।
होमस्टे सञ्चालन गर्दै आउनुभएका जुनी गुरुङले ग्यास जडानपछि पाहुनाका लागि आवश्यक परिकार बनाउन सजिलो भएको बताउनभुयो । पहिले दाउरामा पकाउँदा धेरै समय लाग्थ्यो । अहिले ग्यासबाट छिट्टै पाक्छ, उहाँले भन्नुभयो, बिजुली र ग्यास आएपछि दाउराको खपत घटेको छ । धूवाँबाट पनि बचेका छौँ, उहाँले भन्नुभयो । उहाँका अनुसार घरघरमा ग्यास जडान भएपछि गाउँका महिलालाई धेरै सहज भएको छ ।
एक्याप भुजुङका कार्यलय प्रमुख राजेशप्रसाद गुप्ताका अनुसार भुजुङका सिङ्गो ३६५ घरधुरीमा ग्यास जडान गरिएको छ । चालू आर्थिक वर्षमा एक्यापले दुई सय घरधुरीमा सहयोग गरेको थियो । आगामी आर्थिक वर्षमा २८० घरधुरीमा सहयोग गर्ने कार्यक्रम राखिएकोे उहाँले बताउनुभयो । वन फडानी रोक्न ग्यास जडान गरेका छौँ । यो कार्य प्रभावकारी भएको पाएका छौँ, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँमा अघिल्लो वर्ष २८७ रूखको काटेको पाइएकोमा यो वर्ष एक सयको हाराहारीमा रूख काटेको पाइएको छ । गाउँलेले दाउरा काट्ने गतिविधि विस्तारै कम गर्दै लगेको उहाँले बताउनुभयो । उहाँका अनुसार आगामी बर्षमा एक्यापको संरक्षण व्यवस्थापन समितिभित्र रहेका गाउँमा समेत ग्यास चुलो जडान गरिनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना