आधुनिक कृषियन्त्रप्रति कृषकहरुको बढ्दो आकर्षण

शालिग्राम नेपाल

चितवन, साउन ३ गते । चितवनमा आधुनिक कृषि औजारप्रति कृषकहरुको आकर्षण बढेर गएको छ । जनशक्तिको कमी भएपछि कृषि यान्त्रीकरणको उपयोग गर्नेको सख्यामा आकर्षण वढेको हो ।  कृषिमा व्यावसायीकरण बढेपछि यसको प्रयोग बढेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले बताउनुभयो । ‘परम्परावादी कृषि औजार प्रयोग गर्ने किसानले पछिल्लो समय आधुनिक कृषियन्त्रको प्रयोग गर्दैआएका छन्’ उँहाले भन्नुभयो । कृषियन्त्र बाट काम छिटो तथा लागत मूल्य कम पर्ने भएकाले यसको प्रयोग बढेको कृषकहरुको भनाई छ ।
हलोगोरुले जोत्ने स्थान ट्याक्टरले ओगटेजस्तै धान रोप्ने मेसिन, झाट्नेलगायत अन्य क्षेत्रमा पनि यन्त्रको प्रयोग धेरै हुन थालेको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिका ९ मा रहेको आधुनिक कृषि किसान संसारमा पनि कृषियन्त्र किन्ने किसानहरुको संख्यामा बृद्धि भएको डिलरका सञ्चालक राजाराम तिवारीले बताउनुभयो ।
“विगत पाँच बर्षयता यसको प्रयोगमा बृद्धि हुन थालेको हो, उहांँले भन्नुभयो, “शुरुका दिनमा फाट्टफूट्ट किसानहरु सोध्न आउने गर्थे, अहिले अरु जिल्लाबाट पनि मासिक दुईसय भन्दा बढी किसानहरु मेसीन खरिद गर्न आउंँने गरेका छन्” तिवारीले भन्नुभयो । Yantra
देशमा जनशक्तिको अभाव र कृषिमा व्यावसायीकरण भएसंँगै यसको प्रयोगमा बृद्धि भएको तिवारीको भनाई छ । अहिले उहांँको डिलरमा खनजोत गर्ने पावरट्रिलर, थ्रेसिङ्ग, धान काट्ने मेसीन, ड्याङ्ग बनाउने मेसीन, थोपा सिंचाइ, मल्चिङ्गका औजारहरु बढी बिक्री हुनेगरेको उहांँले बताउनुभयो ।
कृषियन्त्र प्रयोग गर्दा लागत र समय कम लाग्ने, उत्पादनमा बृद्धि हुने गरेको व्यावसायीहरुको भनाई छ । भरतपुर महानगरपालिका १२ मा रहेको चौधरी कृषि तथा मेशिनरी स्टोर्समा समेत अघिल्ला वर्षहरुको तुलनामा कृषियन्त्रको प्रयोग बढेको सञ्चालक सुगन्धकुमार चौधरीले बताउनुभयो ।
“कृषि यन्त्रको प्रयोग ह्वात्तै बढेको छ, यसको मुख्यकारण जनशक्तिको अभाव नै हो” चौधरीले भन्नुभयो । कृषियन्त्र प्रयोग गर्दा चलाउन सजिलो, किफायती र सरल मूल्यमा पाइने भएकोले पनि यसको प्रयोग बढेको उहाँको अनुभव छ । उहाँको स्टोर्समा १२ हजारदेखि १५ लाख रुपैयाँ पर्ने सम्मको कृषियन्त्र बिक्री हुने गरेको चौधरीले बताउनुभयो ।
कृषियन्त्रको प्रयोग गर्दा कृषकले जनशक्ति अभाव झेल्न नपर्ने र आफ्नो खेतबारीमा काम सकिएपछि अन्य किसानको खेतमा काम गर्न पाइने भएकोले पनि आफूले कृषियन्त्र किनेको राप्ती नगरपालिका, सिमलटांँडीका किसान दिनेश महत्तोले बताउनुभयो ।
सरकारले पछिल्ला केही वर्षदेखि कृषिलाई प्राथमिकतामा राखी काम गरेकोले कृषियन्त्रको प्रयोग बढेको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जोन, सुपरजोनजस्ता कार्यक्रमको प्रभावकारीता देखिएकोले कृषियन्त्रप्रतिको आर्कषण बढेको हो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले केन्द्रीय सरकार र स्थानीय सरकारले समेत कृषिलाई प्राथमिकता दिई अनुदान, र बिमा कार्यक्रम समेत लागु गरेकाले कृषियन्त्रको प्रयोग बढेको बताउनुभयो । कृषियन्त्र खरीद गर्दा १ प्रतिशत मात्रै कर लाग्ने भएकोले पनि यसको प्रयोग बढेको उहांँको भनाई छ ।
जिल्लामा मौसमी तथा बेमौसमी अन्नवाली, तरकारी खेती, केराखेती, फलफूल खेतीमा कृषियन्त्रको प्रयोग गरिदै आएको छ । जिल्लामा कृषियन्त्र बिक्री गर्ने डिलरको संख्या २० भन्दा बढी रहेको व्यावसायीले बताएका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना