डुबान रोक्न दीर्घकालीन योजना बन्ने

नगेन्द्र सापकोटा 

भक्तपुर, साउन ५ गते । भक्तपुरका कतिपय स्थान बाढीले पटक पटक डुबान हुन थालेपछि रोक्नका लागि दीर्घकालीन योजना बन्ने भएको छ । विशेष गरी बाढीले मध्यपुर थिमी नगरपालिका राधेराधे क्षेत्र बढी डुबानमा परेसँगै रोक्नका लागि योजना निर्माण गर्न लागिएको हो ।
भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद महेश बस्नेतको पहलमा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका संयोजकत्वमा दीर्घकालीन योजना निर्माण हुन लागेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
उक्त क्षेत्रमा डुबान नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दीर्घकालीन योजनका लागि उक्त क्षेत्रमा हनुमन्ते करिडोरलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने तयारी भएको छ ।
हनुमन्ते खोला क्षेत्रमा फरकिलो मापदण्ड निर्माण गरी दायाँ बायाँ अग्लो पर्खाल लगाएर डुबान रोक्ने भट्टले बताउनुभयो । राधेराधे क्षेत्र गरिहारइमा रहेकाले वर्षात्को समयमा डुवानमा पर्ने गरेको भन्दै उहाँले डुवान समस्या समाधानका लागि हनुमन्ते करिडोरलाई उच्च प्राथमिकता दिएर निर्माण गर्नुको विकल्प छैन भन्नुभयो ।
सांसद बस्नेतले राधेराधे क्षेत्र डुबान समस्याबाट बचाउन हनुमन्ते करिडोरलाई उच्च प्राथमिकता दिएर निर्माण गर्ने र खोलाको मापदण्ड बढाएर दायाँबायाँ पर्खाल निर्माण गर्न लागिएको बताउनुभयो ।
डुवान क्षेत्रमा तत्काल थप क्षति नपुगोस भन्नका लागि सो क्षेत्रका विभिन्न स्थानबाट पानी कटान गरिएको, राधे राधे धामबाट अस्थायी नहरको व्यवस्थापन गरिएको छ ।
खानेपानीबाट सरुवा रोगको सङ्क्रमण फैलनबाट रोक्नका लागि निःशुल्क शुद्ध खाने पानीको वितरण गरिएको, अहिले हनुमन्ते खोलाको मापदण्ड २० मिटर कायम गरिएको र सो क्षेत्रमा आवश्यक्ता अनुसार मापदण्ड परिमार्जन गरेर भए पनि हनुमन्ते डुवान रोक्ने सूर्यविनायक नगरपालिकाले जनाएको छ । गत असार २८ गते आएको अबिरल वर्षाले भक्तपुरको राधेराधे, व्यासी, जगाती, सिर्जनानगर सल्लाघारी, हनुमानघाट, लिवाली, मध्यपुर थिमीलगायतका क्षेत्र डुबान परेको थियो ।
उक्त क्षेत्रका अधिकांश घरहरू एक तलासम्म डुबानमा परेका थिए । डुवानले अरनिको राजमार्ग अबरुद्ध भएको थियो । सडकमा पूर्णरुपमा खोला बगेकाले स्थानीयहरुलाई डुङ्गाबाट सडक वारपार गरिएको थियो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले उक्त क्षेत्र डुबान नियन्त्रणका लागि सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका, संघ र प्रदेशका सांसद जिल्ला प्रशासन कार्यालयलगायतका सरोकावालाहरु मिलेर थप योजना बनाइने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds