सामाजिक सञ्जाल कि विखण्डनको बीउ ?

ram kumar elanरामकुमार एलन

 

‘सत्यले संसारमा एक कदम टेक्नुअघि नै झुटले पूरा दुनियाँ चक्कर मारिसकेको हुन्छ । ’
– टेरी प्रिचेट
रोमाञ्चकारी उपन्यासका प्रसिद्ध ब्रिटिस लेखक टेरी प्रिचेटले आफ्नो ४१ औं पुस्तक ‘डिस्कभर्ड’ मा लेखेको यो उक्ति नेपाल, भारत मात्र होइन, विश्वबजारमा मिलिरहेको छ । अझ सामाजिक सञ्जालका विभिन्न माध्यममा आउने गलत सूचनाले बनाएको साम्राज्यले दुनियाँ चक्कर मात्र मारिरहेको छैन, कयौं निर्दोष ज्यान जाने अवस्था बनिरहेको छ । आरोपितहरूले बयान दिने इजलाससमेत नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने बाध्यता बनेको छ । झुठले फैलाएको साम्राज्य यस्तो बलियो हुलमा परिणत भएको छ कि, आम सर्वसाधारण मात्र होइन, नियम कानुनका ठेली र न्यायालय नै खरानी हुन बेर नलाग्ने वातावरण विकसित भइरहेको छ ।
भारतका वरिष्ठ पत्रकार विजयशंकर चतुर्वेदीले यही उक्ति सापट लिएर भारतमा सामाजिक सञ्जालमार्फत भइरहेको जघन्य अपराधबारे ‘एबिपी न्युज’मा ब्लग लेख्नुभएको छ– ‘नकारात्मक सूचना संयन्त्र बढाउने काममा भाषा जरुरी छैन, मात्र सन्देश प्रवाह बढे पुग्छ । ’ सस्तोमा उपलब्ध हुने गरेको स्मार्ट फोन र निःशुल्क वितरीत वाइफाइले इन्टरनेट यस्तो दुव्र्यसन बनेको छ कि, सर्वसाधारणमा अफवाह फैलाउन सबैभन्दा सजिलो ‘नगरा’ बनेको छ । पहिलाजस्तो ‘कट्वाल’ र ‘झ्याली’ जरुरी छैन ।
प्रसंग देशकै जोडौँ, प्रधानमन्त्री के.पी. शर्मा ओलीले मार्सी चामलको भात खाएको विषय सामाजिक सञ्जालमा चैतको डढेलो झैँ फैलियो । तपाईं घरमा आउने पाहुनालाई पक्कै पनि मीठो मसिनो खुवाउनु हुन्छ, मानमनितोमा कमी हुन दिन चाहनुहुन्न । एउटा व्यापारीले दुई तिहाइको तराजुका दुईतिरका भाँडोजस्तै बलशाली साबित के.पी. ओली र पुष्पकमल दाहाल पाहुना आउँदा मिल्दो हो त ‘सुनकै भुजा’ ज्युनार गराउँथे होला । तर नेता नै भए पनि पचाउने चामल नै हो भने मार्सीचामल खुवाउँदा ‘सात खुन’ अपराध भयो भने झैँ गरी सामाजिक सञ्जालमा अनर्गल बनाइयो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई झौ मुसहर र चौधरीका घर गएका भए पक्कै ओली र दाहालले पनि मुसा र घुँगी नै खानुहुन्थ्यो । व्यापारीको घरमा जानाले उहाँहरूले मार्सी चामल खानु प¥यो, प्रदेश ३ का मुख्यमन्त्री नेपालकै पाँचौ धनाढ्य अजेयराज सुमार्गीका घरमा राती खाना खान गएकाले मदिराका गिलाससहितका तस्विर बाहिर आए । नेताहरूले केही ख्याल गरेका भए हुन्थ्यो तर सामाजिक सञ्जालमा यसरी अफवाह फैलाइयो कि, यसले निर्माण गरेको जनमत सकारात्मक काममा लगाउन सके मुलुकले कत्रो उन्नति गथ्र्यो होला ?
योभन्दा पनि अर्को डरलाग्दो अफवाह फैलाइयो – प्रधानमन्त्री ओली प्रतिबोतल १५ हजार रुपियाँ पर्ने पानी दिनको चार बोतल पिउनुहुन्छ ! अर्थात् ओली दैनिक ६० हजार रुपियाँको पानी पिउनुहुन्छ ! एउटा स्वस्थ मानिसले दिनमा छ लिटर पानी पिउनु पर्ने र आराम गर्नुपर्ने उमेरमा दैनिक ११ वटासम्म सम्बोधनको धपेडीमा रहनुभएका प्रधानमन्त्रीले चार बोतल मात्र पानी पिउनुहुन्छ भनेर अवहेलना गरियो । अर्ध सूचनालाई समाचार बनाएर केहीले लेखे र त्यसकै आधारमा ओलीको हुर्मत लिने काम भयो सामाजिक सञ्जालका साक्षर तर सूचनाका निरक्षर जमातबाट ।
प्रधानमन्त्रीको सचिवालय र उहाँका सल्लाहकारले यो विषयमा मौनता साँधे । सामाजिक सञ्जालहरूमा ओलीविरुद्ध विभेद र छुवाछुत भइरहँदा सत्य बाहिर आउनै सकेन । झुठले साम्राज्य चलाइरह्यो । धेरैपछि कुनै एउटा औपचारिक कार्यक्रममा स्वयं प्रधानमन्त्रीले भन्नुभएछ, ‘कहाँ पाइन्छ, त्यति महँगो पानी ?’ तर सामाजिक सञ्जालहरूमा ओलीले पिउने पानीको साप्ताहिक, मासिक, वार्षिक रकम हिसाब गरेर यति पैसाले त सानोतिनो जलविद्युत्् आयोजना बन्थ्यो, एउटा पुल बन्थ्यो, एउटा विश्वविद्यालय बन्थ्यो भनेर कुतर्कको महासागर नै बगिरह्यो ।
सरकारले इन्टरनेटमा १३ प्रतिशत शुल्क बढायो । करले जनतामा आक्रोश नै बढ्ने नै भयो । उपभोक्ताले हठात् १३ प्रतिशत शुल्क बढी तिनुपर्नु जनमुखी र लोककल्याणकारी सरकारका लागि सुहाउने कुरा होइन । यसमा सम्भावना, बहस, तर्क गर्न पनि सामाजिक सञ्जाल प्रयोग हुन सक्थ्यो । तर द्वेष, कुण्ठा, विभेद, आपत्तिजनक सन्देश, तस्विर सम्प्रेषण गर्ने काममा मात्र सामाजिक सञ्जाल प्रयोग भइरहेको छ । इतिहास तोडमरोड गर्ने काममा पनि सामाजिक सञ्जाल उस्तै सफल छ । पृथ्वीनारायण शाह मात्र होइनन्, सरस्वती, शिव महादेव, कृष्ण, पुरुषोत्तम राम पनि सामाजिक सञ्जालबाट उस्तै पीडित छन् । गौतम बुद्ध पनि सामाजिक सञ्जालबाट पीडित भगवान््मध्ये एक हुन् । अर्थात् हामीकहाँ कलियुगको पाँचौँ उद्योग हिंसा फैलाउन सामाजिक सञ्जाल पर्याप्त छ ।
भारतीय पत्रकार विजयशंकर चतुर्वेदीले पनि यही विषय उठाउन ढिलाइ भएको कुरा आफ्नो लेखमा भन्नुभएको छ– ‘सामाजिक सञ्जालका आपत्तिजनक सन्देशले सोझासाझा जनता भड्काउन सबैभन्दा सहज देखिएको छ र यो हाम्रा लागि खतराको विषय हो । ’ जनतामा जारी कौतूहल, व्यग्रता र उभारलाई उचालपछार गर्न हातमा पुगेको स्मार्ट फोन सबैभन्दा धारिलो र विषालु अस्त्र बनिरहेको छ । समाज विखण्डीकरण र भ्रष्टीकरणमा अब कुनै वाद या सिद्धान्त होइन, मात्र सामाजिक सञ्जालमा बगिरहेका अफवाह प्रभावकारी बन्नेवाला छन् । जिउँदालाई श्रद्धाञ्जलि र मरेकालाई ‘अपराधी’ साबित गर्न सामाजिक सञ्जालमा कुनै थुनछेक र तगारो छैन । राम्रा विषयमा छलफल नै नहुने, त्यसमा सहभागिता नै नहुने देखिएको छ । नराम्रो कुराले क्षणभरमै विश्व तताउने गरेको छ । ‘टे«न्डिङ’ र ‘भाइरल’ बनाउने काममा त्यस्ता पनि लागेका छन्, जसले नपढी ‘शेयर’ गरेका हुन्छन् र के शेयर गरें भनेर ‘साक्षर’ समेत छैनन् ।
भारतमा सरकारले २०१८ जनवरीतिरै ‘सोसल मिडिया हब’ बनाएर जिल्लासम्म विस्तार गर्ने तयारी गरेको थियो । नियन्त्रणरहित बेलगाम सामाजिक सञ्जालले सुरक्षा संयन्त्रको टाउको निकै दुखाएको थियो र जिल्लातहमा राखिने कार्यालयहरूले त्यहाँका सामाजिक सञ्जाल प्रयोगकर्ताको सन्देश निगरानी गर्दै सरकारको ‘आँखा र कान’ हुने उद्देश्य बोकेको थियो । तर यसमा पनि राजनीति छि¥यो । सरकारले भनेजस्तो हुन पाएन । सरकारको गलत नियत र जनताको व्यक्तिगत सन्देशमा समेत ‘नजर’ लगाउने स्वार्थ भन्दै सरकारविरुद्ध अदालत र संसद्मा प्रतिपक्षी पुगे । सरकार स्वतन्त्रता हनन्मा उत्रिएको आरोप लगाउँदै जनमत बटुल्ने र भद्दा समाजको बहुमत निर्माणमा सामाजिक सञ्जाल उपयोग भारतका लागि समेत खतरा बनेको विषय अब लुकेको छैन ।
चीनमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबमा प्रतिबन्ध नै छ । उसले आफ्नै सामाजिक सञ्जाल बनाएको छ । इमेल, फेसबुक, ट्विटर, युट्युवको स्वाद त्यही सामाजिक साइटमार्फत नागरिकले लिने गरेका छन् । यसको मतलब हो, आफ्ना नागरिक सामाजिक सञ्जालमा रमाइरहेका छन्, विलास गरिरहेका छन् तर राज्यको नियन्त्रणबाहिर छैनन् । अर्थात् अपराध नियन्त्रण र नागरिकलाई जिम्मेवार बनाउने काममा चीनजस्तो विशाल देश सफल छ । तर भारतको सिको गर्दै ट्विटरबाट सरकार ढाल्ने विकृत सपना देख्नेहरूको शहर बन्दैछ नेपाल । भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको शहर गुजरातमा बेलाबखत ट्विटर बन्द गरिएका छन् । नेपालमा सक्रिय राजतन्त्रको आगमनमा टेलिफोन सेवासमेत अवरुद्ध पारियो । स्वाभाविक रूपमा सरकार केही नियन्त्रणमुखी हुन्छ । तर नागरिकलाई नाकबाट पानी खान बाध्य पार्न सक्दैन । नागरिकलाई लिइएको स्वतन्त्रता पनि रसियाले ऊबेला बाँडेको ‘पाउरोटी’ जस्तै होइन । रसिया सरकारले गरिब, दीनहीनलाई पहिला बाटो–चोकमा पाउरोटी राखिदिन्थ्यो ताकि भोक लाग्दा नागरिकले पेट भरुन् । तर नागरिकले त्यसलाई दुरूपयोग गरे, पाउरोटी खाएनन् मात्र, दिशा बसेपछि ‘ट्वाइलेट पेपर’का रूपमा पनि पाउरोटी प्रयोग गरेपछि सरकारले चोकचौतारामा पाउरोटी राख्न छाड्यो । साँच्चै दिनहीन, निमुखा त अन्यायमा परे ।
हामीले सामाजिक सञ्जाल कस्तो बनाउने ? कस्तो नागरिक समाज निर्माण गरिरहेका छौँ ? घरमा कपाल फुलेकी आमासँग सात समुद्रपारि रहेकी छोरीबुहारीले कुरा गर्न सहज भयो भनेर भित्र्याइएको र सस्तो बनाइएको इन्टरनेट र सामाजिक सञ्जाल आज राष्ट्रियतामाथि नै खतराको ‘कोशी बाँध’ बनिरहेको छ । सामाजिक सञ्जाल समाज, धर्म, संस्कृति, घर, सम्पदा ध्वंस पार्ने ‘बम’ बनिरहेको छ । नकारात्मक मत निर्माण गरेर विग्रहको बाटो खन्ने काममा दिग्गजहरू नै लागेका देखिन्छन् । यो बाटो कहाँ पुगेर कति ध्वंसपछि मोडिएला ? विवेचना गर्नुपर्छ बेलैमा ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना