अविर उपन्यास सार्वजनिक

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते । गोरखापत्र दैनिकका सहसम्पादक एवं सर्जक त्रिभुवनचन्द्र वाग्लेको कृति ‘अविर’ उपन्यास सार्वजनिक भएको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ (रोदन), प्रा.डा.उषा ठाकुर, कला समीक्षक रमेश खनाल, कथाकार जलेश्वरी श्रेष्ठलगायतले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।
उपन्यासका प्रमुख पात्र कलाकार अविरसिंह ठकुरीले सिर्जना गर्नुभएको चित्रकला के हो भन्ने विवादमा उपन्यासको केन्द्रीय कथावस्तु रहेको छ । अबिरले बनाएको एउटा अमूर्त कलालाई कसैले शिवजीको तेस्रो नेत्र त कसैले महिलाको यौनाङ्ग भनेका छन् । बुझाइमा रहेका यही विवादका क्रममा दर्शकसँगनै कलाको व्याख्या गर्ने सार्वभौम अधिकार रहन्छ भन्ने अडानमा रहेका अबिर जेलमा पर्छन् । यसबाट कलाकार र उहाँका परिवारमा परेको प्रभावलाई नौलो, भावुक शैलीको प्रस्तुति अविरमा दिइएको छ । अविरलाई स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको हो । abir photo
पुस्तक लोकार्पण समारोहलाई सम्वोधनमा कुलपति उप्रेतीले सर्जक वाग्लेले अविर उपन्यासमा कलाकार, साहित्यकारको सिर्जनामा प्रशासनिक वक्र दृष्टि पर्दा विना कारण कति ठक्कर खानु पर्दोरहेछ भन्ने विषयलाई नयाँ सोच र शैलीका साथ उठाउनुभएको बताउनुभयो ।
उहाँले प्रशासनले यी सिर्जनाका क्षेत्रमा लागेका व्यक्तित्वलाई दुःख यातना दिने विषय नौलो नभए पनि त्यसै विषयमा आफ्नो कलमले पाठकलाई आकर्षित गर्ने मौलिक शैलीमा पस्केकाले उपन्यासलाई पाठकले रूचाउने विश्वास व्यक्त गर्नुभयो । साथै उपन्यास विधा आफैंमा कठिन विषय हो, यस कृतिलाई पढेर त्यसको समीक्षा वा त्यसले दिन खोजेको सन्देश पाठकले लेखकलाई दिने जाँगर सृजना गर्ने क्षमता कृतिमा रहेको पनि बताउनुभयो ।
सो अवसरमा गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदनले विगत दस वर्षयता नेपाली साहित्यमा उपन्यास विधाले चर्चा पाइरहेको अवस्थामा सर्जक वाग्लेको उपन्यास आउनु खुसीको कुरा हो भन्नुभयो ।
उपन्यासकार वाग्ले यसअघि कवितालगायतका विधामा कलम चलाउँदै आउनुभएको छ, उपन्यास लेख्दा नयाँ शैली अपनाउनसक्नु नै सफलता हो, उहाँले अपनाउनुभएको शैलीका कारण उहाँका उपन्यासले पाठकको मन जित्न सकोस् भन्दै सम्पादक श्रेष्ठले शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रा.डा. उषा ठाकुरले समीक्षा मन्तव्यमा ‘अबिर’ मा लेखकले कलाकारको मनोभावलाई प्रभावशाली ढङ्गले नवीन भावबोधको साथ १४ अध्यायसम्म सिलसिलेवार ढङ्गले लेख्नुभएको उल्लेख गर्नुभयो ।
त्यसैगरी कला समक्षीक रमेश खनालले पुस्तकमा अमूर्त कलाको कलाकारिताबारे मिहिन र गहन ढङ्गले विषय उठान गरिएको छ, वास्तवमा साहित्यकारको कलममा कलाको विषयलाई व्यापक बनाउने सामथ्र्य हुन्छ भन्नुभयो । कृतिको अध्ययन गर्दा सर्जकले कलाको विषयमा गम्भीर र मननयोग्य कुरा उठाउनु भएको विचारव्यक्त गर्नुभयो । अविरमा उठान गरिएको विषयबस्तुलाई कलाकार र साहित्यकार दुवै क्षेत्रका व्यक्तित्वले पढ्नु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा कथाकार माया ठकुरी, प्रा.डा.देवी सुवेदी र उपप्राध्यापक डा. विष्णु न्यौपाने, निरञ्जन पराजुलीले उपन्यासका विविध पक्षमा प्रकाश पार्नुभएको थियो । उपन्यासकार वाग्लेले उपन्यासमा आपूmले समाजलाई केही आग्रह गरेको र केही प्रश्नको उत्तर समाजबाट मागेको छु भन्नुभयो ।
यसअघि वाग्लेका कविता सङ्ग्रह दोभानमा उभिएर र अकीर्ण आँखा, नेपालको विकासमा दलित (समसामयिक लेखको सङग्रह), दलित स्रष्टा र प्रतिभा (जीवनी सङ्ग्रह) लगायतका कृति सार्वजनिक भएका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds