पाइपलाइनबाट घरघरमा ग्यास


नवराज कट्टेल

विराटनगर, साउन ६ गते । घरघरका भान्सामा पाइपलाइन जडान गरेर ग्यास पु¥याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट घरको भान्सामा ग्यास पु¥याउन थालेको हो ।
ऊर्जा मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढ वर्षपछि यसको परीक्षण सुरु भएको छ । विश्व बैङ्कको ८४ लाख रुपियाँ सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको थियो । यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपियाँ उपलब्ध गराएको छ । तत्कालीन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरिरहेको छ । pipe gyas
जिल्ला समन्वय समिति मोरङका वातावरण ऊर्जा अधिकृत इन्जिनियर ज्ञानेन्द्र सिंहका अनुसार अहिले बायो ग्यास उत्पादनको प्रयोग परीक्षण भइरहेको छ । पहिलो चरणमा ३० घरमा पाइपलाइनबाट ग्यास पु¥याइएको छ । दोस्रो चरणमा उत्पादन अवस्था हेरेर एक सय घरसम्म यसको विस्तार गर्ने योजनाअनुरूप काम भइरहेको इन्जिनियर सिंहले जानकारी दिनुभयो ।
पाँच सय गाईलाई राख्न सकिने श्रीकृष्ण गौ सेवा सदनमा बूढा गाई राखेर २०४२ सालदेखि पालिँदै आएको गौ सेवक महिचन्द्र यादवले जानकारी दिनुभयो । श्रीकृष्ण गौ सदनमा २५० गाई अहिले छन् । ती गाईले दैनिक दुई हजार केजीसम्म गोबर दिन्छन् । त्यही गोबर प्रयोग गरेर बायो ग्यास उत्पादन हुनेछ ।
बायो ग्यासको आवश्यकता महसुस बढ्दै गएपछि गाईहरूको सङ्ख्या पाँच सय नै पु¥याएर राख्न सकिने संरचना छ । गौ सदन सेवा समितिका सदस्य नन्दु राठीले वार्षिक ६० लाख रुपियाँ खर्चेर गाईहरूको सेवा गरिँदै आएको बताउनुभयो । उहाँले ऊर्जा उत्पादनसँगै आर्थिक अवस्था मजबुत बन्दै गएपछि गाईहरू थपिने र त्यसले ऊर्जा उत्पादनमा थप सहयोग पुग्ने बताउनुभयो ।
लोड सेडिङको समस्याले औद्योगिक क्षेत्र आक्रान्त रहँदा डेढ वर्षअघि बायो ग्यास उत्पादन गरी २५ केभीएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गर्ने अवधारणा अघि सारिएको थियो । नजिकै रहेको एमएम प्लास्टिक उद्योगका सञ्चालकसँग विद्युत् बिक्री गर्ने सम्झौता भएको थियो तर लोडसेडिङ क्रमशः घट्दै गएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अवधारणा परिवर्तन गर्दै बायो ग्यास उत्पादन गरी घरघरमा बिक्री गर्ने योजना अगाडि सारेको इन्जिनियर सिंहले बताउनुभयो ।
बायो ग्यास उत्पादनका लागि गोबर फिडिङ ट्याङ्क, ग्यास उत्पादन गर्ने बायो ग्यास डोम, त्यसपछि ग्यास भण्डारण ट्याङ्क निर्माण भइसकेका छन् । ग्यास भण्डारण ट्याङ्कबाट पाइप जडान गरेर ३० घरमा मिटर जडान गरिसकिएको छ । परीक्षण उत्पादनका क्रममा अहिले घरघरको चुलोमा ग्यास बल्न थालेको छ ।
उत्पादन सुरु भइसकेको बायो ग्यासलााई सिलिन्डरमा राखेर बिक्री गर्न सकिने सम्भाव्यताको समेत परीक्षण भइरहेको इन्जिनियर सिंहले जानकारी दिनुभयो । सिलिन्डरमा राखेर बिक्री गर्न सक्ने सम्भाव्यताका लागि शनिबार ग्यास भण्डारण ट्याङ्करदेखि पाइप ल्याएर सिलिन्डरमा भर्ने कामको परीक्षण थालिएको हो ।
एक किलोमिटर दूरीसम्म पाइप विस्तार गरेर त्यो क्षेत्रभित्रका एक सय घरमा बायो ग्यास पु¥याउने लक्ष्य राखिएको उक्त परियोजनाको कामले सार्थकता पाएमा नेपालकै लागि यो अभियान नमुना हुने मानिएको छ ।
घरमा बायो ग्यासको चुलो राखिसक्नु भएका स्थानीयवासी एवं महेन्द्र मोरङ क्याम्पसमा प्राध्यापन गराई रहनुभएका भविष्य मिश्रले देशैभर यस्ता कार्यक्रम बनाएर बायो ग्यासको सम्भाव्यता अध्ययन जरुरी रहेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना