किसानको उत्पादनले बजार पाएन, गोलभेडा एक रुपियाँ किलो


पाँचथर समाचारदाता

फिदिम, साउन  ७ गते  । पाँचथर याङ्वरक गाउँपालिका–६ नागी र हिलिहाङ गाउँपालिका–१ अमरपुर क्षेत्रको गोलभेडा कुहिएर खेर गइरहेको छ । एक महिनायता भारतले नकिन्दा बजार अभावले यस क्षेत्रको गोलभेडा बोटैमा सड्न थालेको हो । दुई सय क्विन्टल बढी कुहिएर नष्ट भइसकेको अमरपुरका किसान सुरेन्द्र लिङ्देनले बताउनुभयो । व्यापक घाटा हुने गरी धेरै मात्रामा थप टमाटर कुहिने अवस्था रहेकोे अमरपुरका प्रकाश उप्रेतीको भनाइ छ । २०६८ सालदेखि पाँचथरमा व्यावसायिक गोलभेडा खेती सुरु भएको हो ।
यहाँका धेरै किसानले पहिलो रोजाइ खेतीको रूपमा गोलभेडा रोप्ने रहेको छ । यसको परिणामस्वरुप नागी अमरपुरले गोलभेडाको पकेट क्षेत्रको रूपमा चिनारी नै पाएको छ । यहाँका किसानले कम फाइदा दिने कोदो मकैको साटो मुख्य नगदेबालीको रूपमा गोलभेडा रोप्ने गरेका छन् । यसबाट किसानले अधिकतम आम्दानी लिइरहेका थिए । यसपालि भारतले आफूले नेपालबाट आयात गर्ने कृषि उपज सूचीमा गोलभेडा नपर्ने भन्दै लान नमानेपछि किसान मारमा परेका छन् । वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारीका अनुसार पाँचथरमा फल्ने गोलभेडा ७५ प्रतिशत भारतमा बिक्थ्यो । नागीका ५८० र अमरपुरका ४५० घरले एकदेखि दस रोपनीसम्ममा गोलभेडा लगाउने गरेका छन् । वैशाखमा रोपेपछि असार साउनमा पाकेर बेचिने टमाटर दैनिक ४० हजार किलो बराबर २० पिकअप गाडी बिक्री हुने गर्छ । golveda
भारतमा बिक्न छोडेपछि पोहोर प्रतिकिलो सरदर २५ रुपियाँमा बिकेको टमाटरको भाउ अहिले एक रुपियाँमा झरेको छ । दाम आउलाकी भन्ने आशा गर्दै केही दिन पर्खेर बेच्न खोज्ने किसानका गोलभेडा कुहिने गरेको हो । विगतमा अमरपुर नागीको गोलभेडा प्रतिकिलो १० देखि ७० रुपियाँसम्ममा बिक्ने गथ्र्यो । श्रमका हिसाबले एक रुपियाँ किलोले गोलभेडा बेच्नुपर्दा धेरै घाटा हुने किसानहरू बताउँछन् । पाकेपछि तुरुन्तै बेच्नैपर्ने नबेचे कुहिने समस्याका कारण पनि किसानले टमाटर खेतीबाट फाइदा लिन सकेका छैनन् ।
किसानले भाउ पर्खने क्रममा धेरै पाकेका टमाटर टिपेर बेच्नलाई नजिकैको मेचीमार्गमा पु¥याउँदा पनि बिकेको छैन । नबिकेको गोलभेडा किसानले मेचीमार्ग किनारतिरै फ्याल्ने गरेका छन् । यसले सडक दुर्गन्धित बनिरहेको
पाइएको छ ।
नागीका डम्बर भारतीले टमाटर टिपेर बेच्न लाग्ने श्रम मूल्यसम्म नउठ्ने गरी एक रुपियाँमा बेच्न खोज्दा पनि नबिकेको दुखेसो गर्नुभयो । गतवर्ष आधा गरामा टमाटर लगाउँदा ६५ हजार रुपियाँ खुद नाफा भएकोमा यो वर्ष परिश्रम पनि नउठेको नागीकै गंगा लिम्बूले सुनाउनुभयो ।
मुख्य आम्दानीको स्रोतको रूपमा फलाउने गरेको टमाटर नबिक्दा यहाँका कयौँ विपन्न परिवारको गुजारा टार्न समस्या पर्न थालेको छ । दुखले फलाएको टमाटर नबिक्दा किसान आन्दोलित भएका छन् ।
हालै यहाँका किसानले आफूलाई परेको मर्कातर्फ सरकारको ध्यानाकर्षण गर्न आन्दोलन स्वरुप सडकमा टमाटर पोखाएका छन् । किसानले सरकारले आफ्नो समस्या नबुझे मेचीमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन् । धेरै जोखिमको टमाटर खेतीतर्फ मात्र नलाग्न दिएको सल्लाह नसुन्दा किसानले नोक्सान भोग्नु परेको वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारीले बताउनुभयो । उहाँले टमाटरको अलवा स्थानीय वातावरणमा लाग्ने बजारमुखी बहुबाली खेतीमा ध्यान दिए किसानले घाटा भोग्ने अवस्था नआउने बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना