अधुरै छन् पुष्पलालका सपना

hasta bdr kcहस्तबहादुर केसी

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका आस्था र विचारका धरोहर हुनुहुन्छ । पुष्पलाल नेपाली नयाँ जनवादी क्रान्तिका स्वप्नद्रष्टा हुनुहुन्छ । उहाँले नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर नेपालमा वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने सुन्दर सपनाका साथ वि.सं. २००६ वैशाख १० (तदनुसार सन् १९४९ अप्रिल २२ तारिख) गते भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
सजिलो थिएन त्यतिबेला, अन्य तीन जना नेपाली युवा निरन्जन गोविन्द वैद्य, रामविलास जोसी र नरबहादुर कर्माचार्यलाई साथमा लिएर पराइ देश भारतमा नेकपाको स्थापना गर्न, किनकि नेपालमा निरङ्कुश जहानियाँ राणा शासकहरूले व्यापक दमन र उत्पीडन मच्चाइरहेका थिए राणाशासनविरोधी जनतामाथि । सेलाएको थिएन ०९७ सालको शहीद काण्डको घाउ, जुन राणा शासनका विरुद्ध बिगुल फुक्दै मैदानमा उत्रिएका नेपाल प्रजापरिषद्का युवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाललाई क्रूरतापूर्वक शासकहरूले फाँसी दिएका थिए ।
यता नेपालमा राणा शासनविरोधी आन्दोलनको भेल उर्लंदो क्रममा थियो । उता भारतमा वि.सं. २००३ मा नेपाली राष्ट्रिय काँग्रेस र २००५ मा त्यसैबाट विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेस गठन गरिएको थियो ।
अर्कोतिर विश्वपरिवेशमा त्यतिखेर विश्वका विभिन्न देशमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइरहेका थिए । सोभियत रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । चीनमा नयाँ जनवादी क्रान्तिले विजयको शिखर चुम्दै थियो । भारतको तेलङ्गना सशस्त्र सङ्घर्ष तथा भारतकै अङ्गे्रज साम्राज्यवाद विरोधी राष्ट्रिय मुक्ति आन्दोलनको प्रभाव र राणाशासनविरोधी आन्दोलनको बीचमा चार जना नेपाली युवाले भारतको कोलकत्तामा नेकपाको स्थापना गरेर नेपाली नयाँ जनवादी क्रान्तिका सुन्दर सपना कोर्ने प्रयासको थालनी गरेका थिए ।
त्यसैक्रममा पुष्पालालहरूले वैशाख १२ गते नेकपाको तर्फबाट पहिलो पर्चा प्रकाशित गरेर जनताका नाममा एउटा अप्रिल जारी गर्दै राणाशासनका विरुद्ध पूर्ण नागरिक स्वतन्त्रताका लागि लड्न र त्यसका निम्ति स्थानीय रूपमा विभिन्न मोर्चा समिति बनाउन जनतासँग अनुरोध गर्नुभएको थियो ।
सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध सङ्घर्षका बीचबाट पूर्ण नागरिक स्वतन्त्रता हासिल गरी समाजवाद र साम्यवादमा जाने लक्ष्यको उद्घोष थियो पुष्पलालहरूको । त्यतिखेरै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा पार्टीको मूल नीति र कार्यक्रम अर्थात् राजनीतिक कार्यदिशा सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध आमजनसमुदायको एकताद्वारा जनवादी क्रान्ति सम्पन्न गर्ने मान्यतामा आधारित थियो । त्यो बेला पार्टी चीनमा सम्पन्न नयाँ जनवादी क्रान्तिद्वारा प्रभावित थियो र त्यसले लोकजनवाद अर्थात् पूर्ण जनवादलाई कार्यक्रमका रूपमा अङ्गीकार गरेको थियो ।
पार्टीको स्थापनापश्चात् पुष्पलालद्वारा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रका साथै मजदुर, किसान, विद्यार्थी, महिलालगायतका जनवर्गीय मोर्चाका घोषणापत्र प्रकाशित भए । जनवर्गीय सङ्गठन बन्दै गए । २००८ सालमा पार्टीको पहिलो राष्ट्रिय सम्मेलन भयो र सो सम्मेलनमा सामन्तवाद–साम्राज्यवाद विरोधी नयाँ जनवादद्वारा प्रभावित जनताको जनवाद, जातीय आत्मनिर्णयको अधिकार, जमिन जोत्नेको नारा, राष्ट्रिय अर्थतन्त्र, जनवादी संस्कृति, राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा– सम्मिलित पुष्पलालद्वारा प्रस्तुत राजनीतिक कार्यदिशा पारित
गरियो । दिल्ली सम्झौताको विरोध गर्दै अधुरो “क्रान्ति” पूरा गर्ने कार्यदिशा तय भयो । यसै साल के.आई.सिंह ‘विद्रोह’ भयो र त्यसैलाई निहँु बनाई नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो ।
यसैक्रममा २०१० सालमा पार्टीको प्रथम महाधिवेशन ललितपुरमा भूमिगत रूपमा सम्पन्न भयो । त्यसमा जनवादी सरकार तथा व्यवस्था आदिलाई अङ्गीकार गरियो र यसमा कुनै नयाँपन देखिएन । त्यस महाधिवेशनबाट मनमोहन अधिकारी महामन्त्री चुनिनुभयो । २०१४ सालमा पार्टीको दोस्रो महाधिवेशन सम्पन्न गरियो । केशरजङ्ग रायमाझी महामन्त्री चुनिनुभयो, त्यसले गणतन्त्रको कार्यक्रम पारित ग¥यो । यो पार्टीको लाइन अनुरूप नै थियो ।
राजा महेन्द्रद्वारा २०१७ साल पुस १ गते फौजीकाण्ड रचिएपछि दरभङ्गामा पार्टीको प्लेनम सम्पन्न भयो । यो प्लेनममा सर्वसत्तासम्पन्न संसद्को स्थापना, विघटित संसद्को पुनःस्थापना, संविधानसभा जस्ता तीन कार्यनीतिक प्रस्ताव प्रस्तुत गरिए र दोस्रो प्रस्ताव पारित गरियो । २०१९ सालमा वनारसमा पार्टीको तेस्रो महाधिवेशन सम्पन्न भयो । यसमा जनताको जनवादी कार्यक्रमको साटो ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पारित गरियो । कार्यनीतिक रूपमा सर्वशक्तिसम्पन्न सार्वभौम संसद्को स्थापना अङ्गीकार गरियो । महाधिवेशनबाट तुलसीलाल अमात्य महामन्त्री चुनिनुभयो । यो प्रक्रियामा केशरजङ्ग रायमाझी राजावादी भासमा फँस्न पुगे । उनीमाथि अनुशासनको कारबाही गरियो र अन्ततः उनले राजावादी कम्युनिस्ट गुट खडा गरे ।
यसरी २००६ देखि २०१९ सालसम्म आउँदा पार्टीमा दुईलाइन सङ्घर्ष तीव्र रूपमा चल्यो । यो दुईलाइन सङ्घर्ष मुख्यतः पहिलो महाधिवेशनदेखि तेस्रो महाधिवेशनसम्म निकै चर्को बन्यो । पहिलो राष्ट्रिय सम्मेलनबाट पारित कैयौँ मान्यतामाथि संशोधन गरिए । २०१३ साल वैशाखमा पार्टीलाई वैधानिक बनाउने नाममा राजाको वैधानिक नायकत्व र समाजवादमा शान्तिपूर्ण सङ्क्रमणको नीति अङ्गीकार गरियो, यस परिघटनाबाट संस्थागत रूपमा संशोधनवादले नेकपाभित्र घुस्ने मौका पायो । दोस्रो महाधिवेशनासम्म गणतन्त्रवादी र संवैधानिक राजतन्त्रवादी धाराका बीचमा दुईलाइन सङ्घर्ष देखाप¥यो । तेस्रो महाधिवेशनासम्म आउँदा पार्टीले ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ अर्थात् संशोधनवादी कार्यक्रम र तदनुसारको संसद्वादी कार्यनीति पारित ग¥यो ।
त्यसपश्चात् नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी धारा र संशोधनवादी धाराका बीच भीषण दुईलाइन सङ्घर्ष चल्यो । वादविवाद बढ्दै गयो । त्यसलाई नेतृत्वले पद्धतिगत ढङ्गले हल गर्न सकेन र २०२१–२०२२ तिरबाट नेकपामा ठूलो फुट पैदा भयो । पार्टी फुटेर विभिन्न टुक्रा र गुट उपगुट तथा समूहमा विभाजित भएर छिन्नभिन्न पुग्यो ।
यसै परिप्रेक्ष्यमा संस्थापक महासचिव पुष्पलालले २०२५ सालमा वाणरसीमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुभयो । त्यस सम्मेलनले ‘नयाँ जनवादी क्रान्तिको कार्यक्रम’ पारित ग¥यो । यसै सम्मेलनबाट पुष्पलालले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयत्न गर्नुभएको थियो तर सम्भव भएन ।
२०२८ सालमा एकातिर झापा विद्रोह विष्फोट भयो भने अर्कोतिर मोहनविक्रम सिंहको नेतृत्वमा न्युक्लियसको गठन गरियो । यी परिघटनाले नेपालको कम्युनिस्ट आन्दोलन र मुलुकको समग्र राजनीतिक परिस्थितिमा नयाँ प्रकारको तरङ्ग पैदा गरिदियो ।
झापा विद्रोह र समग्र नेपाली कम्युनिस्ट गतिविधिमाथि तत्कालीन तानाशाही एवं अधिनायकवादी पञ्चायती व्यवस्थाले भीषण दमनचक्र चलायो । मुलुकको त्यही जटिल परिस्थितिको संश्लेषण गर्दै पुष्पलालले निरङ्कुश राजतन्त्रको तानाशाही तथा फासिस्ट पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्नका लागि ‘संयुक्त जनआन्दोलन’ को नीति अघि सार्नुभयो र पञ्चायती अधिनायकवादी शासन सत्ताका विरुद्ध कम्युनिस्ट तथा काँग्रेसले सहकार्य गरेर अगाडि बढ्ने नीति अगाडि सार्नुभयो ।
यस विषयमा त्यतिबेला एकातिर नेपाली काँग्रेसका नेता बी.पी. कोइराला कम्युनिस्टसित मिलेर पञ्चायती व्यवस्थाका विरुद्ध लड्न तयार हुनुभएन भने अर्कोतिर विभाजित कम्युनिस्टलाई एक ढिक्का पारेर नेपाली काँग्रेससँग सहकार्य गर्न पुष्पलाल पनि सफल हुनुभएन तर संयुक्त जनआन्दोलनको खाँचो चाहिँ निरन्तर जारी रह्यो ।
२०३५ साल साउन ७ गते पुष्पलालको मृत्यु भयो । उहाँको संयुक्त जनआन्दोलनका सपनाहरू अधुरै रहे । पुष्पलालको जीवनकालमै संयुक्त जनआन्दोलनको नीति कार्यान्वयन नभए पनि २०४६ सालको काँग्रेस कम्युनिस्टहरूको एकताका आधारमा सञ्चालन गरिएको जनआन्दोलनले सफलता प्राप्त ग¥यो । ३० वर्षे तानाशाही पञ्चायती व्यवस्थालाई अन्त्य गरेर प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको पुनःस्थापना गरियो, जसको श्रेय पुष्पलाललाई जान्छ । यो अनुमान गर्न सकिन्छ कि यो तथ्यलाई सुझबुझका साथ ध्यान दिइएको भए १० वर्ष पहिले २०३५–३६ सालकै जनआन्दोलनबाट पञ्चायतको अन्त्य हुन सक्थ्यो । जेहोस् ढिलै भए पनि पुष्पलालको नीति कार्यान्वयनमा आयो । नेपालको राजनीतिप्रति, नेपाली क्रान्तिप्रति पुष्पलाल सही हुनुहुन्थ्यो भन्ने पुष्टि २०४६ तथा २०६२–६३ को १९ दिने ऐतिहासिक संयुक्त जनआन्दोलनले गरिदिए । यसको महŒव र सान्दर्भिकता नेपालको राजनीतिमा दूरभविष्यसम्म रहिरहने छ ।
पुष्पलालले नेपालको राजनीतिक परिवर्तन, नेपाली क्रान्तिको निम्ति जीवनभर धेरै प्रकारका दुःखकष्ट व्यहोर्नुपरेको थियो । आजसम्म पनि नेपालमा पुष्पलालले परिकल्पना गरेको जनवादी व्यवस्था आएको छैन । मुलुकको राजनीतिक परिस्थितिमा धेरै फेरबदल भए पनि पुष्पलालले कोरेको नेपाली क्रान्तिको गोरेटो अपुरै छ । महान् नेपाली क्रान्तिको अभियान अधुरै छ । पुष्पलालका ती क्रान्तिका सुन्दर सपना पूरा गर्ने ऐतिहासिक दायित्व आज क्रान्तिकारी कम्युनिस्टहरूको काँधमा आइपुगेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना