उज्यालो पूर्णिमा गुरुको महिमा

shivgopal risalप्रा. शिवगोपाल रिसाल

 

 

 

अज्ञानरूपी अन्धकारबाट ज्ञानालोकमा पु¥याइदिने गुरु हुन् । ‘गुरु’ शब्दको अर्थ हो – अन्धकार नाश गर्ने । गुरु मान्ने वैदिक परम्परा हो । शरीरको जन्म दिने आमा बाबा हुन् भने शरीरादिबाट माथि उठाएर फेरि जन्म–मृत्युको महान् जालबाट मुक्त गराइदिने गुरु हुन् । त्यसैले वैदिक कालदेखि नै गुरुको महिमा यसरी गाइन्छ र गुरुलाई अन्तरहृदयदेखि नै नमस्कार गरिन्छ ः–
गुरुब्रह्मा गुरुर्विष्णु : गुरुर्देवो महेश्वर : ।
गुरु : साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नम : । ।
गुरु नै ब्रह्मा, विष्णु र महेश्वर हुन् । त्यतिमात्रै होइन्, गुरु साक्षात् परब्रह्म नै हुन् । त्यस्ता मेरा सर्वस्व भएका गुरुलाई नमस्कार गर्दछु, साष्टाङ्ग दण्डवत् गर्दछु ।
यो हो गुरु मान्ने वैदिक परम्परा । वास्तवमा गुरु सामान्य शिक्षक, मास्टर, ट्युटर, टिचर आदि होइनन् । ब्रह्मज्ञान दिने, पराविद्या प्रदान गर्ने गुरु नै गुरु हुन् ।
नादवंश परम्परामा गुरुको स्थान सर्वोपरी छ । नादवंश भनेको ज्ञानको, गुरु–शिष्यको वंश भन्ने बुझिन्छ । गुरुले ज्ञान दिए एकजना शिष्यलाई, उनले फेरि आफ्ना शिष्यलाई दिए । यसरी प्राचीनकालदेखि ज्ञानवंश (नादवंश) परम्परा चल्दै आएको छ । भगवान् नारायणबाट आरम्भ भएको ज्ञानवंश परम्परा आजसम्म चल्दै आएको छ ।
ज्ञानजति पवित्र वस्तु अर्को छैन । मान्छेले आफूलाई सृष्टिमा नै सर्वोत्कृष्ट प्राणी भनेर दावी गरेको पनि यही ज्ञानलाई लिएर त हो नि । आजको वैज्ञानिक विश्वमा मान्छेले नाना प्रकारका वस्तुहरूको आविष्कार गरेर चमत्कार नै गरेको छ । यो सब ज्ञानकै विशेषता हो । यो वैज्ञानिक ज्ञान पनि, भौतिकज्ञान पनि, गुरुबाटै प्राप्त भएको हो । तर भौतिक, सांस्कृतिक, नाशवान्, क्षणिक ज्ञानलाई अपरा ज्ञान भनिन्छ भने शाश्वत, सनातन, अविनाशी, आत्यन्तिक शान्ति र अखण्ड आनन्द दिने ज्ञानलाई पराज्ञान भनिन्छ । यस्तो ज्ञान पाएपछि आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीनै प्रकारका तापबाट मुक्ति पाइन्छ । यस्तो आत्मज्ञान, ब्रह्मज्ञान, स्वरूप ज्ञानको अपरोक्ष अनुभूति गराइदिने गुरु नै आदरणीय, प्रातः स्मरणीय, परमपूजनीय हुनुहुन्छ । आज हामी त्यस्ता गुरुलाई नै साक्षात् परब्रह्म मानेर नमस्कार गर्दछौँ ।
हुन त सामान्यतया बाह्रखरी पढाएर अक्षर चिनाइदिने, विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा अर्थशास्त्र, भाषाशास्त्र, राजनीतिशास्त्र, रसायनशास्त्र आदि पढाउने पनि गुरु नै हुन् । तिनीहरूको पनि यथायोग्य सम्मान गर्नैपर्छ । यो व्यक्तिको मात्र सम्मान नभएर ज्ञान, शिक्षा, विद्याको सम्मान हो । हिजोआजका युवा पुस्तामा अलिकति विकृति आएको छ र गुरुलाई सम्मान नगर्ने प्रवृत्ति बढ्दै गएको छ । गुरुले पनि आफ्नो मर्यादामा रहनुपर्छ त्यस्तै शिष्य–शिष्योक्त पनि । अनि पढेको र पढाएको ज्ञानको गरिमा बढ्छ ।
हाम्रा वैदिक ऋषिहरू, गुरुहरू गुरुकुलमा बसेर पढेका, स्नातकहरूलाई दीक्षान्त भाषणमा भन्ने गर्दथे– ‘मातृदेवो भव । पितृदेवो भव । आचार्यदेवो भव । ’
.(तैत्तिरीयोपनिषद् शिक्षावल्ली ११।२)
हे शिष्य ! तिमी आफ्नी जन्म दिने आमालाई, बाबालाई र ज्ञानदिने गुरुलाई देवतासमान मान्ने गर । यो हाम्रो वैदिक संस्कार हो, संस्कृति हो, मर्यादा हो, अनुशासन हो । यसबाट विनय, नम्रता सिकाइन्छ । विद्याले विनय दिनै पर्दछ । विद्वान् विनयी हुनैपर्छ । विनय विद्वान्को भूषण हो, दूषण होइन । यसले एकातिर शिष्यको शालिनता र शिष्टताको द्योतन गर्दछ भने अर्कातिर गुरु र ज्ञानको गरिमालाई बाहिर व्यवहारमा प्रदर्शन गराएको पनि छ । पढेको विद्याले व्यवहारलाई उज्यालो बनाउनै पर्छ । शिक्षा, विद्या, ज्ञान सिद्धान्तमात्र होइन, व्यवहार पनि हो । त्यसैले भनिन्छ – विज्ञानले सहित भएको ज्ञान नै जीवनोपयोगी बन्छ ।
हाम्रा वैदिक र पौराणिक सम्पूर्ण साहित्य संवादात्मक शैलीमा लेखिएका छन् – गुरु र शिष्यको संवादका रूपमा । यसको प्रयोजन हो ज्ञान, पराज्ञान । पराज्ञान भनेको ब्रह्मज्ञान हो । यसैबाट परमपद मोक्ष प्राप्ति हुन्छ । अखण्ड आनन्दको अपरोक्ष अनुभूति र सबै प्रकारका दुःख–चिन्ताबाट सदाकालका लागि निवृत्ति हुनु नै ज्ञान, शिक्षा, विद्याको उद्देश्य हो । भौतिक, वैषयिक भोग त आ–आफ्नो प्रारब्धअनुसार यथासमयमा, यथापरिमाणमा प्राप्त हुन्छ, हुन्छ । यसका लागि पटक्कै चिन्ता नगरे हुन्छ । परम्पुरुषार्थ भनेको त ज्ञानद्वारा मोक्षलाभ गर्नु हो ।
वेदादि शास्त्र आफैँ बोल्दैनन् । तिनलाई बोलाइदिने, तिनको अर्थानुसन्धान गरी मर्म कुरा, सारकुरा सम्झाइदिने, गाँठो फुकाइदिने काम हो गुरुको । त्यसैले गुरु क्षत्रीय ब्रह्मनिष्ठ भनेको आफूमा, ब्रह्मा, आत्मामा निष्ठापूर्वक बसेको अनुभवमा वा जीवनमा उतारेको, ज्ञानलाई विज्ञानमा परिणत गरी व्यवहारमा ल्याएको भन्ने बुझिन्छ । सिद्धान्तमात्र, दर्शनमात्रका ज्ञातालाई गुरु बन्ने अधिकार छैन । आफूले पढेको विद्यालाई आफ्नो जीवनमा आत्मसात गरेका, शास्त्रलाई पचाएर आफ्नो बनाएका, व्यवहारमा ल्याएका ज्ञानवान्, मुक्त महापुरुष नै गुरुको आसनमा रहन योग्य हुन्छन् । यस्ता साक्षात् ब्रह्मस्वरूप, ईश्वरीरूप, ज्ञानवान् गुरु नै गुरुका पवित्र आसनमा बस्न योग्य हुन्छन् । ज्ञानबिना गुरु हुँदैनन् । गुरुबिना ज्ञान हुँदैन । गुरु र ज्ञानको अन्योन्याश्रित सम्बन्ध छ ।
गुरु पूर्णिमाका पूर्णचन्द्रझैँ शान्त, उज्याला र ज्ञानको शीतलताले परिपूर्ण हुनैपर्छ । जस्तो गुरु त्यस्तै चेला हुने हुनाले गुरु गुरुता, गरिमा, गौरव र गाम्भीर्यले उनका शिष्यहरूलाई त्यस्तै बन्ने प्रेरणा दिन्छ । गुरु बन्न सबै खोज्छन् तर चेला बन्न खोज्दैनन् । गुरु देशिक मात्र होइनन् उपसन्न शिष्य पनि हुन् । पहिले अत्यन्त योग्य अधिकारी भएकैले आज गुरुका आसनमा आसीन हुन योग्य पात्र बनेका हुन् । यो त तपस्याको, त्यागको, ज्ञानको परम्परा हो । टुप्पाबाट पलाएका गुरु काम लाग्दैनन् ।
तपाईंको गुरु को हुनुहुन्छ ? उहाँको गुरु नि ? यो हो गुरु छान्ने तरिका । ‘पानी खानु छानेर, गुरु छान्नु जानेर । ’ त्यत्तिकै क्षणिक आवेशमा गुरु बनायो भने पछि पछुताएर छाती पिटी–पिटी रुनुपर्ने छ । ‘लोभी गुरु, लालची चेला भए दुवै नरकमा ठेलमठेला’ हुन्छ । अतः जसरी गुरु महान् त्यागी, तपस्वी, ज्ञानी, गुणी हुनुपर्छ त्यसरी नै शिष्य पनि अत्यन्त जिज्ञासु, मुमुक्षु, विवेकशील, वैराग्यले युक्त, शमदम आदि षट्सम्पत्तिले सम्पन्न हुनैपर्छ । यसलाई वेदान्तको पारिभाषिक शब्दावलीमा साधनचतुष्टय सम्पन्न अधिकारी भनिन्छ । साधन चतुष्टयसम्पन्न अधिकारी शिष्य र श्रोत्रिय ब्रह्मनिष्ठ गुरुको योग भयो भने ब्रह्मविद्या झलमल्ल हुन्छ शिष्यका हृदयमा ।
भनिन्छ – पारसमणिले फलामलाई छोयोमात्र भने पनि सुन बन्दछ रे त्यो फलाम । तर पारसमणि नै भने कदापि बन्दैन तर ज्ञानवान् जीवनमुक्त गुरुले उत्तम अधिकारी शिष्यलाई उपदेश दिनुभयो भने आफूजस्तै ज्ञानवान् बनाइदिनु हुन्छ । यो हो सद्गुरूको महिमा, महत्ता र महानता । हामी गुरुको पूजा गरौँ । गुरुबाट आशिर्वाद प्राप्त गरौँ । गुरुजस्तै ज्ञानी बनौँ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना