सडक बनाउन भीर फुटाउँदै नेपाली सेना

राजन राउत

सिमकोट, साउन १२ गते । दुई बर्षमै दिइएको जिम्मेवारी पूरा गर्न नेपाली सेना यतिखेर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको हल्गाडे भीर फुटाउन ब्यस्त छ । कर्णाली करिडोर अन्तर्गत खुलालु लैफु सलिसल्ला खण्डकोे डर लाग्दो हल्गाडे भिर फुटाउन नेपाली सेना बिहानदेखि बेलुका अबेरसम्म खटिएको हो ।
हालसम्म सेनाले गरेको काम सन्तोषजनक, तीब्र र स्तरीय भएकोले समयमा सम्पन्न हुनेमा स्थानीय ढुक्क रहेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताउनुुभयो । अहिले हुम्ला जिल्ला कै असजिलो ठाउँ दोमुख, कटकुना र हल्गाडे क्षेत्रमा निर्माण भएको सडक हेर्दा सेनाको कामप्रति कुनै प्रश्न उठाउने ठाउँ नभएको उहाँले बताउनुुभयो ।
डरलाग्दो भिरमा केही सम्पर्क गर्ने माध्यम पनि छैन, तर पनि सेना जोशका साथ कम्मरमा डोरी बाँधेर भिरमा काम गरिरहेको अदानचुली–२ का स्थानीय परबहादुर बुढाले बताउनुुभयो । खुलालु सलिसल्ला खण्डको कवाडीदेखि सलिसल्ला क्षेत्र हुम्ला जिल्लमा पर्छ । HUmla pic
त्यस क्षेत्रका कुल लम्बाइमध्ये ८ देखि १० किलोमिटर चट्टानको भाग छिचोल्नु सेनालाई निकै कठीन कार्य भएको स्थानीय वासिन्दा बताउँछन् ।
त्यस खण्डको कवाडीदेखि सलिसल्लासम्मको ६१ किलोमिटर बाटोको निर्माण कार्य दुई वर्षमा सक्ने गरी नेपाली सेनाले काम गर्ने जिम्मा पाएको निर्माण दलका इन्जिनियर मेजर मिलन कार्कीले बताउनुुभयो । हल्गाडे भिर निकै अप्ठ्यारो भएको र त्यसलाई फुटाउन सेना बिहानदेखि बेलुकासम्म मिहिनेतका साथ खटेको उहाँले बताउनुुभयो ।
सेना अहिले बर्षाको पानीको प्रबाह नगरी काममा लागेको छ । हालसम्म सेनाले हुम्ला क्षेत्रमा ११ किलोमिटर बाटोको प्रारम्भिक ट्याक खोल्ने कार्य पूरा गरेको कार्कीले जानकारी दिनुभयो । सेनाको १५ जनाको टोली ११ समूहमा विभाजित भएर हाल सडक निर्माण कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
सेनाका लागि दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्री र बिष्फोटक पदार्थ सबै सेनाको हेलिकोप्टरबाट आपूर्ति भइरहेको छ । सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने त्यस निर्माण स्थलमा जो कोही जान सक्ने अबस्था नभएपछि काम बिशेषले मात्र त्यता जाने गरेका छन । यता सलिसल्ला सिमकोट खण्डको ५० किलोमिटर बाटोमा सिमकोट हिल्सा सडक आयोजनाले काम गरिरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना