सरकारको पक्षमा बोल्न सांसदलाई निर्देशन

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटको पक्षमा खुलेर संसद्मा कुरा राख्न आग्रह गर्नुभएको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेटको बारेमा संसद्मा खुलेर प्रष्ट रूपमा कुरा राखेपछि जनतामा राम्रो सन्देश जाने भन्नुहुँदै प्रधानमन्त्री ओलीले यसका लागि संसदीय अभ्यासमा अभ्यस्त भइसकेका नेताले अगुवाइ गर्नुपर्ने सुझाव दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालले जनाएको छ । kp pm
संसद्का पुराना नेताहरूले नयाँलाई डो¥याएर अगाडि बढाउने काम गर्नुपर्ने धारणा राख्नुहुुँदै उहाँले सरकारको कामको बारेमा आफ्नो कुरा जवर्जस्त रूपमा राख्न विशेष रूपमा आग्रह गर्नुभएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल काँग्रेसले विभिन्न बहानामा संसद् अवरुद्ध गरिरहेको र त्यसलाई रोक्न पनि भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य एवम् सांसद रामेश्वर राय यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले संसद्मा एक दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनु हुँदैन, यसका लागि पार्टीका संसदहरूले भूमिका खेल्नुपर्ने भन्नुभयो ।’
प्रधानमन्त्री ओलीले सरकारलाई अवरोध गर्ने काँग्रेसको झिना मसिना लफडा सकिएको हँुदा अब आफ्ना काम कारवाहीप्रति सचेत भएर संसदमा प्रस्तुत हुनुपर्ने धारणा बैठकमा राख्नुभएको थियो । डा.गोविन्द केसीको मुद्दा उठाएर काँग्रेसले असफल देखाउने प्रयास गरेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले फेरि पनि काँग्रेसले प्रयत्न गर्ने भएकाले सचेत रहन संसदहरूलाई सुझाव दिनुभयो ।
आउँदो असोज ३ गते सम्ममा सबै कानुन बनाई सक्नुपर्ने भएकाले संसद अवरुद्ध भइरह्यो भने समयमा कानुन निर्माण गर्न सकिदैन त्यसैले संसद अवरुद्ध हुन दिनु हुँदैन, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै सांसद यादवले भन्नुभयो, सरकारलाई असफल हुने छुट छैन यसमा सबै गम्भीर भएर लाग्नुपर्छ ।’
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रतिपक्षीबाट हुने षड्यन्त्रबाट सचेत रहन सांसदहरूलाई सुझाव दिनुभयो । ‘एमाले र माओवादी केन्द्रको एकीकरण हुने बेला पनि षड्यन्त्रहरू भएका थिए, अहिले पनि सरकारमाथि षड्यन्त्र भएको छ,’ भन्नुहुँदै अध्यक्ष प्रचण्डले डा.केसीको मुद्दालाई काँग्रेसले उठाएर सरकारलाई अप्ठ्यारो पार्ने प्रयास गरेको छ भन्नुभयो ।
बैठकमा पूर्वसभामुख एवम् नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले डा.गोविन्द केसीसँग भएको सहमतिबारे बैठकलाई जानकारी गराउनुभएको थियो । डा.केसीसँगको वार्तामा सक्रिय रहनुभएका नेता नेम्वाङले विहीवार साँझ भएको वार्ता पनि भाँडिने सम्भावना भए पनि सफल भएको जानकारी दिनुभएको थियो ।
बैठकमा सहभागी एक सांसदले भन्नुभयो, काँग्रेसका नेताहरू डा. केसी पक्षका व्यक्तिसँग भेटघाटलाई तीब्र बनाएकाले बिहीबारको वार्ता भाँडिने खतरा भए पनि टरेको नेम्वाङले जानकारी दिनुभएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना