आहार विज्ञान र श्रावण व्रत

namrata pandeyडा. नम्रता पाण्डे

 

 साउन महिना भन्नासाथ शिवजीको आराधना, सोमबारको व्रत र महिलाको शृङ्गारलाई विशेष महìवका साथ हेर्ने महिना भनिन्छ । नेपाली समाजमा हिन्दु धर्म, परम्परा र संस्कृति मानिसको जीवनशैलीसँग जोडेर वैज्ञानिक तरिकाले आचरण र नियम तय भएका छन् । जसरी प्रकृतिमा ऋतुहरू बदलिन्छन्, प्रकृति र मौसममा परिवर्तन आउँछ त्यसैगरी मानिसको आन्तरिक स्वभाव अर्थात् शरीरभित्र पनि ऋतुअनुसार परिवर्तन आउँछ । ऋतुअनुसार शरीरको प्रकृतिमा परिवर्तन आउँछ, संवेदना र स्वभावमा परिवर्तन आउँछ । बाहिरी ज्ञान जति नै भए पनि यो विज्ञानको मर्म सबैले बुझेर आफ्नो आहार र आचरणमा प्रयोग गरेको भेटिन्न । 

एकथरीले अरूको सिको गर्दै सोमबारको व्रत बस्ने गरेका छन् । अर्काथरीले एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि कसले व्रत भनेर विश्वास गर्ने ? सकेसम्म आफ्नो स्वास्थ्य बनाउने हो, परम्परा र रुढिवाद मानिँदैन भन्छन् । वास्तवमा साउन (श्रावण) महिनाको व्रतको परम्पराले परम्परागत संस्कार र आधुनिक जीवनशैलीभन्दा फरक वर्षा ऋतु, वातावरणमा आउने परिवर्तन र शरीरमा आउने परिवर्तनलाई आहारसँग जोडेर वैज्ञानिक तथ्य प्रस्तुत गर्न खोजेको छ ।
साउनमा शिवजीको आराधना गर्नुको अर्थ मन्दिर धाउनु र शिवलिङ्गमा बेलपत्र अनि गाईको दूध चढाउनु मात्र पक्कै होइन । प्रत्येक व्यक्तिभित्र रहेको शिवत्व, कल्याणकारी भावना जगाउनु प्रमुख पक्ष हो । आजको अस्तव्यस्त मानिसलाई कल्याणकारी हुनुपर्छ र मभित्र शिवत्व छिपेको छ भन्नेसम्म बोध छैन । कसैको सल्लाह र प्रवचनले उसको शिवत्व जाग्दैन । आफूभित्र रहेको शिवत्व जगाउने एकमात्र माध्यम ध्यान हो । भगवान्शिवले देवी पार्वतीलाई १०८ ध्यानका विधिमार्फत दीक्षित गराउनुभएको थियो । आजका व्रतालु र शिव भक्तहरूलाई कतिवटा ध्यान विधिबारे थाहा होला त ? ध्यानविना आत्मज्ञान जाग्दैन । आत्मज्ञानविना व्यक्ति जागृत हुन सक्दैन । जागृत नभएको व्यक्तिले गरेका सबै कर्मका परिणाम बेहोसी र अपूर्ण नै रहन्छन् । त्यसैले साउनको व्रतलाई भगवान् शिवको कल्याणकारी भाव र ध्यानको कलासँग जोड्न सकेनौँ र त्यसलाई व्यवहारमा अपनाउन सकेनौँ भने त्यो बाहिर–बाहिर लिएको व्रत र बाहिरी
शृङ्गार तथा तडकभडक भन्दा फरक हुँदैन । साउन महिनामा शिवजीको आराधना, सोमबारको व्रतसँगै जोडिएर आउने पक्ष हो मांसाहार नगर्नु । हुन पनि धेरै शाकाहारीको भनाइ छ– मानिसको शरीरका कुनै पनि अङ्ग दाँत, आन्द्रा, पाचन प्रणाली र शरीरको प्रकृति मांसाहारका लागि बनेकै छैन । मानिसले मांसाहार गर्नु भनेको पेट्रोलले चल्ने गाडीमा डिजेल हालेर चलाउनुजस्तै हो । एउटा सामानको प्रयोगका लागि बनेको इन्जिनमा अर्को सामान प्रयोग गरिदिँदा मेशिनरी सामान त चल्दैन, बिग्रिन्छ भने मानिसको शरीर र उसको शारीरिक इन्जिनको अवस्था के भएको होला त ? एक अध्ययनअनुसार, इस्लाम धर्मावलम्बी १५ देखि २० प्रतिशत शाकाहारी छन् । हिन्दु धर्मालम्बीमा यो सङ्ख्या ज्यादै न्यून छ ।
विश्वका सन्तपुरुष, महाराजाहरू, वैज्ञानिक, विद्वत व्यक्तिहरूको जीवनी पढ्यौँ भने थाहा पाउँछौँ, धेरैजसोको जीवनशैली शाकाहारी थियो । भावना, विचार, स्वास्थ्य, शरीर सबै सुन्दर राख्ने हो भने मांसाहार त्याग्नुको विकल्प छैन तर रोजाई आफ्नै हातमा छ । भोग गर, मोज गर भन्नेले विचार र स्वास्थ्य सुन्दर राख्नैपर्छ भन्ने जरुरी पनि ठान्दैन । तर धर्मकै लागि साउनको व्रत लिइएको हो भने शरीरको धर्म ख्याल गर्नु र साउन महिनामा मात्र होइन, सधैँ शाकाहारी हुनु जरुरी छ । वर्षा ऋतुमा मासुजन्य पदार्थमा अरू सङ्क्रमण देखिने हुनाले पनि मांसाहार नगर्नु भन्ने वैज्ञानिक तथ्य र सन्देश दिन खोजेको हो । स्वादका लागि होइन, स्वास्थ्यका लागि हो आहार । मौसमअनुसारका तरकारी र फलफूलमा शरीरलाई आवश्यक भिटामिन, प्रोटिन सबै तìव उपलब्ध हुन्छन् । प्रत्येक ऋतुमा, मौसमअनुसारको तरकारी र फलफूल उपलब्ध गराएको छ प्रकृतिले हामीलाई भने हामी किन अप्राकृतिक बनिरहेका छौँ ?
अर्कोतिर, आमा दिदी बहिनीहरूको रङ चिङ्गी पहिरन र शृङ्गारबाट साउन महिना लागेको सङ्केत सजिलै पाइन्छ । विशेष गरी साउनमा रातो, हरियो र पहेलो रङको बढी प्रयोग भएको देखिन्छ । यी सबै रङ मिसिएको झिलिमिली पहिरन, हातभरि हरिया, राता र पहेला चुरा, हत्केलामा रातो मेहन्दी, गलामा हरिया, राता, पहेला पोते अनि सिउँदोमा रातो सिन्दुरमा सजिएका महिलाले आफ्नो सौभाग्यको रूपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ । बिहे गरेका महिलाले शिवजीको आराधना मार्फत आफ्ना श्रीमान्को दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाले सज्जन, सुसंस्कृत श्रीमान् पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलनको किंवदन्ती भए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृति र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ, यो प्रचलनबाट । अर्कोतर्फ रङ हाम्रो शरीरमा तरङ र संवेदना उत्पन्न गर्ने महìवपूर्ण पक्ष हो । हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रङसँग छ, त्यसरी नै महिलाले प्रयोग गर्ने पहिरन र गहनाका रङले उस्तै वैज्ञानिक र आध्यात्मिक महìव राख्छन् । जस्तै रातो रङ प्रेम, शक्ति र साहसको प्रतीक, सेतो रङ पवित्रताको प्रतीक, हरियो रङ प्रकृति र आत्मीयताको प्रतीक, पहेलो रङ बौद्धिकताको प्रतीक, नीलो शान्तिको प्रतीक, सुन्तला रङ रचनात्मक शक्ति, बैजनी रङ होस र ध्यानको प्रतीक आदि अर्थ लगाइन्छ । त्यसैले जीवन, जगत् र पदार्थसँग रङहरूको प्रभाव सँंगसँगै रहन्छ ।
धर्म, पर्व, जीवनशैली र यसको मर्मलाई नजान्दासम्म हाम्रो कमाई र प्रतिष्ठाको अर्थ रहँदैन । हामीले जीवनमा जति भागदौड गरे पनि, जति बुद्धिमत्ता अपनाएर, आफूलाई उच्च कोटीको मनुष्यमा राख्न चाहे पनि हाम्रो खास उद्देश्य यो पाएको अमूल्य मनुष्य जीवन खुशी र आनन्दसाथ जिउनु हो । आफू खुशी र आनन्द रहन चाहने व्यक्तिले अरूका लागि पनि कल्याणकारी सोच राखेर कर्म गर्छ । जब हामीले गरेको कर्म सत्य हुन्छ, कल्याणकारी हुन्छ अनि सुन्दर हुन्छ तबमात्र हाम्रो मूल मन्त्र सत्यम्, शिवम्, सुन्दरम्को भाव सार्थक हुनेछ । साउनको सोमबार मन्दिर जाऊँ साथै घरलाई मन्दिर बनाउने कला पनि जानौँ । शृङ्गार गरौँ, बाहिर देखिने सुन्दरता हृदयभित्र पनि कायम गरौँ । मन, वचन र कर्म नै सुन्दर बनाउन सकेको क्षण जीवन सधैँ नै पर्व र उत्सव बन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना