बिमस्टेक सम्मेलनको तयारी तीब्र

राधा चालिसे

काठमाडौँ, साउन १३ गते । आगामी भदौ १४ र १५ गते काठमाडाँैमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास ( बिमस्टेक ) को चौथो सम्मेलनको तयारीलाई अगाडि बढाइएको छ ।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार वैठकमा भाग लिनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरूको उपस्थितिको सुनिश्चितता भएको छ । तिथि अनुकूलता पहिले नै लिएकाले हो । अहिलेसम्म सुनिश्चिततामा कुनै परिवर्तन आएको छैन । आसन्न बैठकका लागि संगठनको लोगो परिवर्तन गर्ने निर्णय अनुसार सदस्य राष्ट्रले तीन–तीनवटा लोगोेको डिजाइन तयार गरेर पठाएका छन् । तीमध्ये उत्कृष्ट छनोट हुनेछ ।
आगामी बैठकमा के के विषयमा छलफल केन्द्रित गर्ने भन्ने विषय भने बैठकले औपचारिक रूपमा सुरु हुनुअघि सदस्य राष्ट्रका प्रतिनिधिहरु बसेर नै तय गर्ने छन् । यद्यपि विगतका बैठकको निर्णयहरूको कार्यान्वयको अवस्थामा छलफल हुने छ ।
विमस्टेकले यातायात र सञ्चार, पर्यटन, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध, वातावरण र विपद् ब्यवस्थापन, ऊर्जा, जनस्वास्थ्य, कृषि, व्यापार र लगानी, प्रविधि, मत्स्य विकास, गरिबी निवारण, जनता जनताबीचको सम्बन्ध, जलवायु परिवर्तन र सांस्कृतिक सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ । प्राथमिकतामा परेको सबै विषयमा छलफल हुने प्रवक्ता ढकालको भनाइ रहेको छ । bimstec
बिमस्टेक सम्मेलन र यो अन्तर्राष्ट्रिय संस्थाबाट नेपाल आर्थिक तथा सामाजिक विकासमा लाभ लिन सक्नुपर्ने कतिप विज्ञहरूको सुझाव छ ।
पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई भन्नुहुन्छ,‘विकास र समृद्धि विभिन्न क्षेत्रमा आर्थिक तथा प्रविधिक सहयोग गर्ने बिमस्टेकको मूलभूत उद्देश्य हो र काठमाडौँ सम्मेलनलाई बढी उपयोग बनाउनु जरुरी छ ।’
लामो समयदेखि आन्तरिक समस्यामा नै मुलुक जुझिरहेकाले पनि हामीले विमस्टेक जस्ता क्षेत्रीय संगठनलाई मुलुकको हितमा उपयोग गर्न नसकेको उहाँको अनुभव छ । उहाँ थप्नुहुन्छ,‘तर अबका दिन त्यसो नहोला, स्थिर सरकार बनेको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा दिइरहेको सरकारले त्यो लक्ष्य हासिल गर्नेका लागि बिमस्टेक जस्ता अन्तर्राष्ट्रिय संस्थालाई मुलुकको हितमा लगाउनुपर्छ सम्मेलनलाई सफल बनाउनुपर्छ ।’
अबका दिनमा लगानी भित्र्याउने, निर्यात ब्यापार बढाउने, मुलुकको पर्यटन प्रवद्र्धन गर्ने, यातायात र सञ्चारका सन्जालको विकास र विस्तारमा आगामी बैठकले जोड दिनु उपयुक्त हुने उहँँको भनाइ छ । यसबाट अधिकलाभ लिन सदस्य राष्ट्रहरूमा राजदूतहरूको उपस्थितिलाई पनि उत्तिकै महत्व दिनुपर्ने उहाँका भनाइ छ । बिमस्टेकमा निजी क्षेत्र खासै सक्रिय हुन सकेको छैन । यो संगठनबाट नेपालको निजी क्षेत्र खासै फाइदा लिन नसकेको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको भनाइ छ ।
उहाँका अनुसार सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्दा नेपालको पर्यटनलाई फाइदा पुग्ने छ । आगामी बैठकमा बिमस्टेकका सदस्य राष्ट्रबीचको लगानीको वातवारण कसरी विकास गर्न सकिन्छ , ब्यापार प्रवद्र्धन कसरी गर्न सकिन्छ, त्यसमा देखापरेका जटिलतालाई कसरी न्यूनीकरण गर्ने भन्नेमा नेपालको ध्यान जानुपर्ने उहाँको सुझाव छ ।
सन् २००४मा थाइल्याण्डमा स्थापना भएको बिमस्टेकको सम्मेलन यसअघि सन् २००८ मा भारत र २०१४मा म्यानमारमा भएको थियो । यो चौंथो सम्मेलन हो र नेपालले बिम्मस्टेकको अध्यक्षता गरिरहेको छ ।
बिमस्टेकले पहिचान गरेका विभिन्न १४ क्षेत्रलाई अगाडिबढाउँदा नेपालको सरोकार र चासोका विषयमा लाभ हुन सक्ने परराष्ट्रविद्हरूको भनाइ छ ।सार्क क्षेत्रको वडापत्र तयार गरेजस्तै बिमस्टेकको पनि वडापत्र तयार गर्नुपर्ने आवश्यकता पनि विज्ञहरूले औंल्याएका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन(आसियान) जोड्ने यो सङ्गठनमा नेपालका साथै बंगलादेश, भारत, म्यान्मार, श्रीलङ्का, थाइल्याण्ड र भुटान सदस्य रहेको छन् । म्यान्मार र थाइल्याण्ड आसियान मुलुकका सदस्य हुन् भने अन्य सबै मुुलुक सार्कका सदस्य हुन् ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना