नेपालमा विपद् व्यवस्थापनको चुनौती

uday ranamagarउदय रानामगर

 

मानवीय वा प्राकृतिक कारणले सिर्जित आकस्मिक वा क्रमिकरूपमा बढ्दै जाने घटना नै विपद् हो । विपद्को अवस्था सबैका लागि खतरा हुन्छ । यो अनपेक्षित र पूर्वानुमान गर्न नसकिने घटनाका रूपमा रहेको हुन्छ । विपद् मूलतः वनजङ्गलको विनाश, वातावरण प्रदूषण, अव्यवस्थित विकास प्रयास, अधिक जनसङ्ख्या वृद्धि, भौगोलिक विकटता, शक्तिको प्रयोगमा हुने होडबाजी, कमजोर सरकारी नीति तथा योजना, उच्च गरिबीजस्ता गतिविधिका कारणबाट सिर्जित हुने गरेको हुन्छ । यसले मानवीय, आर्थिक, पूर्वाधार तथा वातावरणीय क्षति पु¥याउँछ । जुन देशमा गरिबी उच्च र सरकार कमजोर हुन्छ, त्यस्ता देशहरूमा विपद्बाट बढी मानवीय क्षति हुने अध्ययनले देखाएको छ । विगत ३० वर्षको आँकडा हेर्ने हो भने विपद्बाट ज्यान गुमाउनेमध्ये ८५ प्रतिशत कमजोर सरकार र भ्रष्टाचारयुक्त मुलुकमा हुने गरेको पाइएको छ ।
नेपालमा ८० प्रतिशत जनसङ्ख्या विपद्को जोखिममा रहेका छन् । वार्षिक तीन लाख ३५ हजार जनसङ्ख्या प्रभावित हुने र तीमध्ये ५० देखि ६० प्रतिशत बालबालिका हुन्छन् । जलवायु परिवर्तनबाट हिमताल फुट्ने र त्यसबाट आउने बाढीको जोखिम ४० प्रतिशतले बढाउने देखिएको छ । त्यसैगरी हिउँको सञ्चिति २४ देखि २९ प्रतिशत घटेका कारणले गर्दा पानीको उपलब्धतामा प्रभाव परेको छ । नेपाल बहुविपद्को हिसाबले विश्वको २० औँ जोखिम भएको मुलुकमा पर्छ । यहाँ मूलतः भूकम्प, बाढी, पहिरो, आगलागी, जलवायु परिवर्तनका कारण सिर्जित समस्या, चट्याङ, हावाहुरी तथा महामारीजस्ता विपद्का घटना प्रत्येक वर्ष हुने गरेको छ । गृह मन्त्रालयले पाँच जिल्लामा गरेको अध्ययनले सामान्य विपद् परेको वर्षमा कुल गार्हस्थ उत्पादनका शून्य दशमलव ०१ प्रतिशत र ठूलो विपद् भएको वर्ष चार दशमलव पाँच प्रतिशतसम्म क्षति पु¥याएको देखाउँछ । सन् २००१ देखि २०१३ सम्ममा नेपालमा विपद्बाट एक अर्ब २० करोड अमेरिकी डलर बराबरको क्षति भएको, १३ हजारभन्दा बढी मानिसले ज्यान गुमाएको र एक लाख ६० हजार घर क्षति भएको थियो ।
भूकम्पीय जोखिमको हिसाबले नेपाल १९८ मुलुकमध्ये ११ औँ स्थानमा छ । भूकम्पीय जोखिममा काठमाडौँ उपत्यका विश्वका २१ शहरमध्ये उच्च जोखिमका हिसाबले पहिलो स्थानमा छ । वि.सं. २०७२ मा हालसम्मकै ठूलो भूकम्प नेपालमा आयो । यसबाट आठ हजार ९६९ जनाको मृत्यु, २२ हजार ३०२ जना घाइते र ठूलो भौतिक संरचनाको क्षति भएको थियो ।
त्यसैगरी जलवायु परिवर्तन र यसबाट सिर्जित विपद् अर्को चुनौतीको रूपमा छ । जलवायु परिवर्तनको जोखिममा नेपाल चौंथो र पानीजन्य विपद्को जोखिमको हिसाबले ३० औँ स्थानमा छ । अत्यधिक वर्षा भएपछि बाढी आउने हुँदा यसलाई जलउत्पन्न प्रकोप भनिन्छ । नेपालमा सन् १९९३, मा शताब्दीकै ठूलो बाढी कोशीमा आएको र त्यसबाट बाँध विष्फोटन भई ठूलो धनजनको क्षति भएको देखिन्छ । त्यसैगरी सन् २००८ अधिक वर्षाको कारण नेपालगञ्ज पूरै डुबानमा परेको थियो । सन् २००७ मा सुदूरपश्चिममा ठूलो बाढी आएको थियो । त्यसैगरी सन् २००८ र ००९ मा सेती नदीमा र सन् २०१२ मा पश्चिम नेपालमा ठूलो बाढी आएर धनजनको क्षति भएको थियो ।
आगजनीको समस्या नेपालमा प्रायः सबै बस्तीमा हुने गरेको छ । घरेलु प्रयोजनका लागि असावधानीपूर्वक आगोको प्रयोग र त्यसको व्यवस्थापनमा हेलचक्रयाइँले गर्दा ग्रामीण बस्तीमा आगलागीका घटना प्रसस्तै हुने गरेका छन् । विशेष गरी तराईमा गर्मीको मौसममा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्ने भएकाले यहाँको ग्रामीण तथा शहरी बस्तीमा आगलागी ठूलो समस्या छ । यसका अतिरिक्त वनजङ्गलमा लाग्ने गरेको डढेलो पनि समस्याको रूपमा छ ।
हावाहुरीको जोखिमबाट हाम्रो देश पनि मुक्त हुन सकेको छैन । हुरीबतासले स–सानादेखि ठूला वस्तुसम्म उडाएर लैजाने क्षमता राख्छ । हुरीबतासले कारण मानिसको घर तथा गोठको छाना उडाउने, खेतीबाली नष्ट गर्ने तथा रुखबिरुवाका हाँगा, टेलिफोन तथा बिजुलीका पोल भाँच्ने तथा आगलागीसमेत गराउँछ । अन्य समयभन्दा चैत वैशाखमा हावाहुरीको जोखिम बढी हुने गरेको छ । चट्याङबाट पनि नेपालमा बर्सेनि ठूलो क्षति हुने गरेको देखिन्छ ।
महामारी एक क्षेत्रमा देखा परेको रोग छोटो समयमै फैलिएर अनपेक्षित रूपमा धेरै मानिस सङ्क्रमित हुने र मर्ने अवस्थालाई जनाउँछ । महामारीलाई प्रकोप सिर्जित विपद्का रूपमा पनि लिन सकिन्छ । कमजोर आर्थिक अवस्था भएका ग्रामीण समुदाय महामारीको प्रकोपबाट पीडित हुने गरेका छन् । त्यससँगै लापरबाही पोषणयुक्त खाना, शुद्ध खानेपानी र सरसफाइको अभावमा त्यस्ता गरिब समुदायभित्र रोगका जीवाणुका निमित्त अनुकूल वातावरण तयार हुने भएकाले सामान्य रोगले पनि महामारीको रूप धारण गर्ने गर्छ । यो पनि नेपालजस्तो कमजोर व्यवस्थापकीय क्षमता भएको मुलुकका लागि टाउको दुखाइको विषय बन्दै आएको छ ।
सडक दुर्घटना मानवीय कारण सिर्जित विपद् हो । नेपालमा सडक दुर्घटनाको सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । आ.व २०१३–१४ मा आठ हजार ४०६ दुर्घटना भएका थिए भने आ.व २०१७–१८ को पहिलो चौमासिकसम्ममा तीन हजार २९ वटा दुर्घटना भएको देखिन्छ । औसत सबारी दुर्घटना लगभग आठ हजार प्रतिवर्ष रहेको छ । प्रत्येक चार दुर्घटनामा औसत एक जनाकोे मृत्यु हुने गरेको पाइन्छ । सडक दुर्घटनाको कारण कुल गार्हस्थको शून्य दशमलव आठ प्रतिशत आर्थिक क्षति पुगेको अवस्था छ ।
अहिले मुलुकभर मनसुन सक्रिय छ र पछिल्लो तीन महिनामा मात्रै विपद्का घटनाबाट झण्डै तीन सय ५० नागरिकले ज्यान गुमाइसकेका छन् । गृह मन्त्रालयका अनुसार पूर्व मनसुनकै समयमा गत वैशाखदेखि जेठ तेस्रो सातासम्म मुलुकभर एक सय ७५ जनाको मृत्यु भयो । गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा विभिन्न खाले विपद् र प्राकृतिक प्रकोपबाट ४० हजार दुई सय ६४ जनाको ज्यान गएको छ । यस अवधिमा विपद्का २२ हजार तीन सय ७२ घटना भएका छन् । तीन सय १० जना अहिले पनि बेपत्ता छन् । सोही अवधिमा ५९ लाख ३२ हजार १२ घरपरिवार प्रभावित भएका थिए भने ३० हजार दुई सय ४८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । २०६८ सालदेखि २०७४ सम्म विपद्का घटनाबाट १२ हजार २३३ मानिसले ज्यान गुमाएका छन् भने एक हजार जना बेपत्ता भएको छ ।
यी तथ्यलाई आधार मान्ने हो भने नेपालमा विपद् व्यवस्थापन चुनौतीको रूपमा छ । यसको व्यवस्थापनमा तत्काल नै पहलकदमी चालिनुपर्ने देखिन्छ । पूर्वतयारीमा गरिने खर्च रु. एकबाट रु. छ बनाउन सकिने अध्ययनले देखाएको छ । त्यसैले गर्दा विपद् व्यवस्थापनमा पनि पूर्वतयारी तथा सचेतनालाई बढी जोड दिइनुपर्छ । हाम्रो देशमा कमजोर पक्ष भनेको यही नै भएको छ तर खोज तथा उद्धारमा सन्तोेषजनक अवस्था छ । त्यसका लागि विपद् जोखिम न्यूनीकरणका लागि तय गरिएका सबै संरचनाको निरन्तर सक्रियता बढाउने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ प्रावधानबमोजिम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार र पुर्नलाभका लागि सरकारका सबै तहको क्षमता विककास गर्नेतर्फ ध्यान दिइनुपर्छ । विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहलाई सशक्तीकरण गर्ने तथा सङ्घ र प्रदेशमा तथ्याङ्कमा आधारित प्रभावकारी विपद् व्यवस्थापन प्रणाली स्थापना र व्यवस्थापन गर्नुपर्छ । त्यसो गर्न सकिएको खण्डमा विपद्बाट हुने गरेको मानवीय तथा गैरमानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना