उत्तरगङ्गाको काम रोकियो


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, साउन १४ गते । उत्तरगङ्गा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनको कार्य अवरुद्ध भएको छ । वर्षाका कारण काम रोकिएको जनाइएको हो ।
नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको यस आयोजनाको प्रारम्भिक अध्ययन अनुसार ८२८ मेगावाटको हुनेछ । यो आयोजना जलाशययुक्त आयोजनाका रूपमा विकास गर्न खोजिएको छ ।
भेरी नदीको सहायक नदी उत्तरगङ्गाको पानी निसी खोलामा खसालेर विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी र सस्तो आयोजनाका रूपमा लिइएको उत्तरगङ्गाको सम्भाव्यता अध्ययनका लागि सरकार आफैँले लगानी गरिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ विभागका प्रमुख राजीव शर्माका अनुसार वर्षात्का कारणले सम्भाव्यता अध्ययनका लागि माटो, चट्टानका अवस्था हेर्न ड्रिलिङ गर्ने कार्य अवरुद्ध भइरहेको छ । उहाँले भन्नुभयो, खोलानालामा पानी बढेका कारणले मेसिन उपकरण ढुवानी गर्न निकै कठिनाइ भइरहेको छ र फिल्डमा उपलब्ध उपकरणले पनि काम गर्न नसकिने अवस्था देखिएको छ । उहाँका अनुसार वर्षाका कारणले अवरुद्ध भएको काम वर्षात् नसकिएसम्म सुचारु गर्न नसकिने स्थिति देखापरेको छ । जसले गर्दा प्राधिकरणले यसअघि निर्धारण गरेको कार्यतालिका अनुसार अध्ययनको काम नसकिने भएको छ । uttarganga
बाग्लुङ, रुकुम जिल्लाको बीच भागमा पर्ने यो आयोजनाको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा बाँध निर्माण गरी एक हजार तीन सय मिटर लामो हेडबाट पानी निसी खोलामा खसालेर बिजुली उत्पादन गरिने भएको छ ।
यति ठूलो हेडबाट जलविद्युत् आयोजना निर्माण भएका संसारमा थोरै आयोजना भएको प्राधिकरणले जनाएको छ । नेपालमा तामाकोसीमा ७५० मिटरको हेडबाट पानी खसाली बिजुली उत्पादन भइरहेको छ । प्राधिकरणले तामाकोसीको सिँचाइलाई यो आयोजनामा पनि अवलम्बन गर्ने उद्देश्यका साथ आयोजनालाई विकास गरिने भएको छ ।
यो आयोजनाको अधिकांश भाग ढोरपाटन शिकार आरक्षको पर्ने भएकाले जलाशयले धेरै मानवबस्तीलाई असर नगर्ने भएकाले मुआब्जा वितरणमा खासै लागत नलाग्ने प्राधिकरणले जनाएको छ । बाँधस्थलमा बस्ती उठान तथा पुनस्र्थापना अन्य सामाजिक तथा वातावरणीय खर्च खासै नलाग्ने भएकाले नेपालका अन्य जलाशययुक्त आयोजनाको तुलनामा यो आयोजना सस्तो हुने प्राधिकरणले जनाएको छ । आयोजनाको प्रारम्भिक लागत अनुमान एक खर्ब ३० अर्ब रुपियाँ गरिएको छ । बूढीगण्डकीलगायतका जलाशययुक्त आयोजनाको लागत अनुमान हेर्दा यो आयोजना निकै सस्तो र वातावरणीय दृष्टिले अति राम्रो भएको मानिएको हो ।
आयोजनामा दुईवटा भूमिगत पावरहाउस निर्माण गरिनेभएका छन् । एउटा युनिटको विद्युत् ४१५ मिटरको हेडमा राखिने र अर्काे युनिट निसी खोलाको किनारमा राखिने गरी संरचनाको डिजाइन गर्ने कार्य भइरहेको बताइएको छ । उत्तरगङ्गाको पानीको शतप्रतिशत पानीको सदुपयोग हुनसक्ने यो जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन आउँदो असारभित्र सम्पन्न गरिसक्ने र आर्थिक स्रोत जुटाई निर्माणका लागि जाने योजना प्राधिकरणले बनाएको छ ।
२०० मिटरको ‘रक फिल ड्याम’ बाँध निर्माण गरी भेरी नदीको शतप्रतिशत पानी सदुपयोग गर्ने मोडलमा डिजाइन गर्न थालिएको यो आयोजनाले मध्यपहाडी लोकमार्गको बाग्लुङ–बुर्तिबाङ सडक खण्डबाट निकै नजिक रहेको आयोजनाको विद्युत्गृह रहनेभएको छ ।
विद्युत् विकास विभागबाट सर्वे अनुमति पाएपछि प्राधिकरणले राम्रो र सम्भाव्य आयोजनाका रूपमा अध्ययन गरिरहेको छ । सुख्खा समयका लागि दैनिक पाँचदेखि १२ घण्टासम्म उत्पादन गर्न सकिने सम्भावना रहेको छ । यहाँ उत्पादित बिजुलीलाई बुटवल वा लमही दाङको सब–स्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।
आयोजना निर्माणका लागि प्राधिकरणअन्तर्गत उत्तरगङ्गा पावर कम्पनी पनि स्थापना भइसकेको छ भने यसको विस्तृत इन्जिनियरिङ डिजाइन र ठेक्का डकुमेन्ट निर्माणका लागि आउँदो वर्षभित्रै परामर्शदाता नियुक्त गरिसक्ने पनि कार्ययोजना प्राधिकरणले बनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना