खुला सिमाना, निःशुल्क भिसा

ram p gautamरामप्रसाद गौतम

 

 

 

राष्ट्र, भूगोलको निश्चित सिमानाभित्र प्रतिचित्रित हुन्छ । त्यो भूगोलमा जो–जो बसेका छन्, जसको स्थायी बसोबास त्यो सिमानाभित्र हुन्छ, तिनीहरूकै अपनत्वले एउटा देश समृद्ध र समुन्नत बन्छ । देशहरू विभिन्न तरिकाले बनेको र बनाइएको हुन सक्छ । त्यसको पहिलो आधार सिमानाबद्ध भूगोल नै हो । दोस्रो, त्यो भूगोलभित्र बस्ने जनताले सहज महसुस गरेको भाषा हो । त्यसपछि त्यहाँका जनतालाई नियन्त्रणमा राख्न तयार भएको शासक र उसका सेनाले रक्षा गरेको जमिन हो । यसैगरी एउटा धर्मले पनि देश बनाउन सक्छ तर भूगोलविना देश बन्दै बन्दैन । एउटा भूगोलमा टेकेपछि मात्र शासकले सिमाना बढाउन वा घटाउन पनि सक्छ । राष्ट्र शब्दले सिमानाको खोजी गर्छ भने राष्ट्रियता त्यो सिमानामा जन्मेको वा त्यो भूगोलसँग सम्बन्ध राख्ने जो कोहीले, जहाँबाट पनि देखाउन सक्छ ।
नेपालले आफ्नो देश बचाउनका लागि सिमाना बचाउनलाई पटक–पटक लडाइ लड्नु प¥यो तिब्बत र अङ्ग्रेजसँग । तिब्बतलाई नेपालले पटक–पटक जिते पनि सिमाना थप्न सकेन तर अङ्ग्रेजसँगको लडाइमा एकतिहाई जमिन गुम्यो । अङ्ग्रेज नेपालसँग लड्यो र नेपालको जमिन भारतलाई पेवा अर्थात् दाइजोको रूपमा सुम्पेर छोड्यो । काँगडादेखि तिष्टा नदीसम्म हिजो नेपालको सिमाना तीन लाख ३४ हजार २५० वर्ग किलोमिटर थियो । यो कुनै काल्पनिक कुरा होइन । सम्राट समुन्द्र गुप्तको शिलालेख, सम्राट अशोकको शिलालेख आदि अध्ययन गर्दा भारतभन्दा नेपालको नामकरण पहिला भएको बुझिन्छ तर नेपालीले सिमाना रक्षा गर्न सकेनौँ, आज एक लाख, ४७ हजार, १८१ वर्ग कि.मि. मा आएर समेटिएको छ । विगतमा जे भयो भयो तर अब त सोच्न पर्ने बेला आएन र सीमा सुरक्षको बारेमा ?
वर्तमानमा हामीले सिमानालाई व्यवस्थित गर्न सकेका छैनौँ । यही कारणले यहाँ दिनहुँ तस्करी बढिरहेको छ । नेपालमा जो पनि जहाँबाट पनि प्रवेश गर्न पाउने अवस्था छ । सिमानामा जङ्गबहादुरले अङ्ग्रेजसँग सल्लाह गरेर बनाएका पिलर (खम्बा) हरू छन् । त्यसको मर्मतसम्भार, ऐतिहासिक प्रमाण आदिको बारेमा कुनै पनि सरकारले गम्भीरताका साथ हेरेको, अवलोकन गरेको अवस्था छैन । जहाँबाट जो पनि, जतिबेला पनि आउन पाउने किसिमको पनि सीमा व्यवस्थापन हुन्छ ? के यो नेपालीको लाचार वर्तमान होइन ? विश्वका सबै देश आज सीमा सुरक्षामा सचेत छन् । हामी किन सीमा व्यवस्थापनप्रति उदासिन भइरहेका छौँ, चिन्तनीय विषय हो । उत्तरतर्फ चीनलाई नेपालसँग कुनै सुरक्षा खतरा छैन र पनि उसले सिमाना पूर्ण रूपमा व्यवस्थापन गरेको छ ।
जति आजको नेपाल छ, त्योभित्र विश्वको शिर छ । विश्वका ८० वटा उच्च हिमाल नेपालमा छन् । दुनियाँको कुनै प्रविधिले प्रकृतिको यो अलौगिक दृश्यलाई जित्न सक्दैन र जित्न सक्ने छैन । मानिसले चाहने उचाइ हो, त्यसैले नेपालले पर्यटनको क्षेत्रमा यस्तो अद्भुत प्याकेज बनाउनुपर्छ, जसमा एक दिनमा एक हजारभन्दा बढी पर्यटकले नेपालका ८० वटा हिमालको अवलोकन गर्न सकून् । हजारौँ मानिसले पशुपतिको दर्शन गर्न सकून् र लुम्बिनीमा पुग्न सकून् ।
नेपालमा आउने पर्यटकलाई नेपाल आउँदा भिसाको व्यवस्था गरौँ र देश हेरेर भिसा शुल्क लगाउन शुरुवात गरौँ । चीन र भारतसँग नेपालको व्यापारघाटा अति नै विकराल रूपमा बढिरहेको छ । नेपालले जति राजस्व आर्जन गर्छ, त्यो पूरै रकमले देशको चालुखर्च थेग्न सक्दैन । आउँदो वर्षको आय व्ययको विवरण हेर्दा राजस्व मात्र ७३० अर्ब उठ्ने अनुमान गरिएको छ । जबकि देशको शिरोभार्य खर्च (ओभरहेड) ८६२ अर्ब छ । यसको अर्थ हो, नेपालको राजस्वको एक पैसा पनि विकास तथा पुँजीगत खर्चमा जान पाउँदैन ।
विभिन्न कारणले गर्दा जनताले तिर्ने सम्पूर्ण राजस्व तलब भत्ता र निवत्तिभरणमा खर्च हुन्छ । विकास खर्चका लागि लिइने ऋण पनि पूरै जमिनमा पुग्न पाउँदैन । यो कुरा हालै एक ठेकेदारले को कसलाई कमिसन बुझाउनुपर्छ भनी प्रतिशतसहितको विवरण सार्वजनिक गरेबाट बुझिन्छ । उनलाई गलत बोलेको भनी कारबाही गर्न नसकेपछि मौका पर्दा विकास बजेट पनि अमुक–अमुकहरूले खाने गरेको कुरा लुकेन । यस्तो अवस्थामा अब नेपालको विकास कसरी हुन्छ त ? सहज उत्तर कसैसँग छैन । नेपालमा अख्तियारवालाले यहाँ कमिसन लिने र विदेशमा छोराछोरीलाई पढाउने निहँुमा उतै लुकाउने गरेको कुरा लगभग ध्रुव सत्य हँुदै गएको छ ।
यो देशको विकास नहुनुका कारण केलाउँदा एउटा कारण खुला सिमाना पनि हो । खुला सिमाना हुनुको कारणले जनतामा राष्ट्रियताको भावना जाग्न सकेन । यहाँ जो पनि आउन सक्ने र यहाँबाट जो पनि बाहिर जान सक्ने अवस्था भयो । भारतमा राम्रै नाम कमाएकी स्नातकसम्म पढाई भएकी एउटी नायिका (कलाकार) ले नेपाल त भारतको एउटा प्रान्त ठानेकी थिएँ भनेको तीतो तथ्य हामीमाझ छ । यस्तो हुनुमा उनी कति दोषी थिइन् तर त्योभन्दा बढी दोषी हाम्रो खुला सिमाना हो । यदि भिसा र केही शुल्क तिरेर नेपाल आउने व्यवस्था भएको भए नेपाल एक स्वतन्त्र देश हो भन्ने जानकारी ती नायिकाले पाउने थिइन् ।
उदारवादी भनाउँदाहरूले हजार तर्क गरे पनि यो खुला सिमाना नेपालका लागि घातक हो । यसले अन्ततोगत्वा नेपाललाई घाटा पु¥याउने निश्चित छ । त्यसैले नेपालले आफ्नो सिमाना सुदृढ बनाउनै पर्छ । आज नभए भोलि, भोलि नभए पर्सिसम्म हाम्रो सिमानामा प्रवेश गर्दा प्रत्येकलाई जानकारी होस् कि यो सार्वभौम नेपाल राज्य हो । शुरुमा तारबार लगाउने, पर्खाल लगाउनैपर्छ भन्ने छैन तर स्पष्ट रूपमा भिसा प्रणाली लागू गर्न जरुरी छ । र त्यो भिसा लगाउँदा यात्राको प्रयोजन हेरेर थोरै धेरै भिसा शुल्क पनि लिन जरुरी छ ।
अहिले निःशुल्क गरिएका देशका भिसाबाट उठेको रकमलाई नियमित सञ्चित कोषमा जम्मा नगरेर छुट्टै खातामा जम्मा गरी त्यसबाट नयाँ तरिकाको विकास गर्न शुरु गर्नुपर्छ । अर्थात् भिसा शुल्कबाट उठेको रकम कमसेकम जनताले महसुस गर्ने तरिकाले प्रयोग गर्नुपर्छ । यसले गर्दा एकातर्फ जनतामा राष्ट्रियता जागोस् र अर्कोतर्फ दुनियाँलाई नेपाल विश्वको एक यस्तो देश छ जहाँ पुग्नु हरेक दृष्टिकोणले गौरवको विषय हो भन्ने महसुस होस् ।
नेपाली जनता चाहे जहाँ कहीँ रहून्, तिनको शिर उँचो बनाउनका लागि पनि देशको सिमाना खुला हुन हुँदैन । देशमा रहेका लाखौँ जनताको मनोबल बढाउनका लागि पनि सिमाना व्यवस्थित गर्न जरुरी छ । हाम्रो सिमानाको सुरक्षाकवच कसैप्रति लक्षित नहोस्, कसैलाई दुःख नदेओस् तर देश हाम्रो घर हो, यसको ढोका बलियो बनाउन जरुरी छ र यसमा कोही प्रवेश गर्दै छ भने ऊ किन पस्दै छ र को हो भन्ने जानकारी घरमुलीलाई हुनुपर्छ । नेपाल जस्तो अनुपम देशमा विदेशीलाई मनपरी निःशुल्क आउन दिनु उपयुक्त छैन र हँुदैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना